१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाराका विभिन्न स्थान डुबानमा

पवन यादव

सिमरा(बारा) — विगत ५ दिनदेखिको निरन्तर झरी र मुसलधारे वर्षाका कारण बारा जिल्लाको विभिन्न स्थानमा घर र सडक डुबानमा परेका छन् ।बर्षाको पानीले जितपुर सिमरा उपमहानगरपालिका १८ बडहरवामा आधा दर्जन बढी घरहरू डुबानमा परेका छन् । 

बाराका विभिन्न स्थान डुबानमा

पानीको बहाव क्रमिक रूपमा बढ्दै गएको कारण थप घरहरू डुबानमा पर्ने सम्भावना समेत बढेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँ नजिकै रहेको बंगरी र दुधौरा नदीमा पनि पानीको बहाव बढ्दै गएको र नदीको पानी सतहभन्दा माथि उक्लेर खेतहरु जलमग्न भएका छन् ।


बाराको लालबकैया, बंगरी, दुधौरा, पसाहा नदीमा बिहानदेखि नै ठुलो बाढी आएको छ । ती सबै नदीमा अहिले तीव्र गतिमा पानीको बहाव बढ्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । लालबकैया नदीमा बिहानको तुलनामा पानीको बहाव धेरै बढेको निजगढकी धनमाया लामाले जानकारी दिइन । ‘बिहान पानी कम थियो,’ उनले भनिन, ‘११ बजे सम्म पानीको सतह धेरै माथि उक्लेको र पानीको वेग पनि धेरै बढेको छ ।’


वर्षाको पानीले जिल्ला सदरमुकाम कलैयाका सडक तथा खुल्ला स्थानहरु पुरै जलमग्न भएका छन् । कलैया लगायत आसपासका गाउँहरुमा रहेका होचा घरहरुमा समेत अहिले पानी पस्न थालेको छ ।


जिल्लाको ठुला तथा साना नदीहरुमा पानीको बहाव बढेपनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रंजितसिंह राठौरले जानकारी दिए ।


जितपुर सिमरा २४ हरपुरमा दुधौरा नदीको बाढी पस्ने सम्भावना बढेकोले स्थानीय बासिन्दालाई स्थानीय मस्जिदमा सारिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।‘बाढीले प्रभाव पार्ने सम्भावित क्षेत्रको पहिचान भइसकेकोले त्यस क्षेत्रका स्थानीय तहलाई सजग गराएका छौँ,’ उनले भने, ‘२ दिनको बर्खाले खासै ठुलो असर नपर्ला ।’ तै पनि स्थानीय प्रशासन, स्थानीय तह सजग रहेको उनले दाबी गरे ।


बाढी बस्ती पस्ने सम्भावित स्थानका स्थानीय तहलाई समयमै सचेत रहन र पानीको मुहान थुनिएको क्षेत्रलाई सफा गर्न सजग गराइएको उनले जानकारी दिए । स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय गराइएको र अहिलेसम्म बाढीले क्षति नपुर्‍याएको उनले दाबी गरे ।


यस्तै भारी वर्षाका कारण निजगढ नगरपालिकाको विभिन्न क्षेत्रपनि डुबानमा परेका छन् । वर्षाको पानीले निजगढ बजार क्षेत्रका अधिकांश सडक जलमग्न हुँदा यात्रु र सर्वसाधारण समस्यामा परेका छन् ।

प्रकाशित : असार २७, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?