१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कमलाको बाढीमा फसेकाको उद्धार प्रयास जारी

सन्तोष सिंह

धनुषा — कमला नदीको बाढीमा फसेका दुई परिवारका ६ जनाको उद्धार प्रयास जारी छ । धनुषा शहिदनगर–२ कमलपुर बतराहिका ६ जना कमलाको बाढीमा शुक्रबार दिउँसोदेखि फसेका छन् ।

फसेकामध्ये ५ जना महिला र १ जना पुरुष रहेका छन् । नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पटक पटक उद्धारको प्रयास गरेपनि पानीको बहाव बढेका कारण सफल हुन नसकेको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले बताए ।


'उद्धारको प्रयास अझै जारी छ', उद्धारस्थलमा रहेका मेयर बररियाले भने,‘रात पर्दै गएपछि समस्या भएको छ । तर, उद्धारका लागि प्रदेश प्रहरीसँग समन्वय गरिएको छ । बाढीमा फसेकालाई उद्धार गर्न मोटर ल्याइदै छ ।'


यता धनुषा–सिरहा सिमाना कमला नदीको बाढीमा शुक्रबार बिहानैदेखि फसेका बेदरु मुखियालाई नेपाली सेनाले उद्धार गरेको छ । पानीको बहाव बढेपछि रुखमा ३ घण्टासम्म बसेका मुखियाको नेपाली सेनाले उद्धार गरेको हो ।


पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा कमला नदीकोबीचमा बस्दै आएका ४५ वर्षीय पुजारी मुखिया बाढीमा घेरिएपछि बिहानैदेखि रुखमा बसेको जानकारी पाएपछि साँझ ५ बजे स्थानीय माझीको सहयोगमा नेपाली सेनाले उद्धार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेलले बताए ।


कमलामा रहेको टापु जस्तो स्थानको मन्दिरमा चारैतर्फबाट पानी प्रवेश गरेपछि मुखिया रुखमा चढेका थिए । लगातारको वर्षाले कमला नदीमा पानीको बहाव बढेको छ । नदी आसपासका वस्तीमा सतर्कता अपनाइएको छ ।

प्रकाशित : असार २७, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?