कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त

पवन यादव

सिमरा — अविरल वर्षासँगै आएको बाढीका कारण प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त भएको छ । पूर्व पश्चिम राजमार्गसँगै प्रदेश २ भरीकै भित्री सडकहरु निर्वाध रुपमा सञ्चालन हुन सकेको छैन । बाढीले केही स्थानको सडक डुबानमा पारेको छ भने राजमार्ग सहित केही स्थानमा पुल बगाएको प्रदेश २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त

पूर्व–पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्ड अर्न्तगत बाराको निजगढ बजार क्षेत्रको लचकामा पानीको बहाव बढेर शुक्रबारदेखि डाइभर्ट गरिएको सवारी साधन पानीको बहाव कम भएसँगै शनिबार बिहानदेखि निर्वाध रुपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।


पानीको बहाव बढेसँगै शुक्रबारदेखि अवरुद्ध चन्द्रनिगाहपुर–बागमती खण्डको लचकमा पनि शनिबार अपरान्हदेखि ठूला सवारी साधन सञ्चालनमा आएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।


बर्दिवासस्थित भप्सी पुललाई बाढीले बगाउँदा शुक्रबार रातिदेखि अवरुद्ध भएपछि पूर्वतर्फ जाने ठुला सवारी साधनहरुलाई पथलैयामै व्यवस्थापन गर्न थालिएको प्रदेश २का प्रदेश ट्राफिक प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए ।


‘अवरुद्ध राजमार्गलाई सुचारु गराउन प्रयास भईरहेको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गरिएको ।’ राजमार्गमा गुडेका सवारी साधनलाई गन्तव्यमा पुग्न आवागमन सहज बनाउन अन्य निकायसँग समन्वय गरी वैकल्पिक व्यवस्था मिलाउन ट्राफिक प्रहरी क्रियाशिल रहेको उनले जानकारी दिए ।


सडक सञ्जाल बिग्रेको कारण बीच बाटोमा पुगेर सवारी चालक, यात्रीले दुःख नपाउन भन्ने उद्देश्यले चालकलाई समयमै पथलैयामै सचेत गराउन थालिएको उनले जानकारी दिए ।


बारा सदरमुकाम कलैया लगायत जिल्लाको ग्रामिण भेगको बाटो हिलामय भएको र सवारी साधन हिलोमा फस्ने र चिप्लेर दुर्घटनामा पर्ने सम्भावना बढेकोले ट्राफिक प्रहरीसंग समन्वय गरी मात्र अगाडीको यात्रा तय गर्न चालक तथा यात्रीलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।


प्रदेश २ को रौतहट, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाको ग्रामिण सडक अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले जनाएको छ । पथलैयामा मात्रै पूर्वतर्फ जाने ५ सय भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरि राखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले शनिबार सार्वजनिक सूचना जारी गरी सडकमा जथाभावी सवारी पार्किङ नगर्न, ओभरटेक नगरी सवारी चलाउन, यात्रा पूर्व नजिकको ट्राफिक प्रहरी कार्यालय वा यस कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बारे जानकारी लिएर मात्र अगाडी बढ्न अनुरोध गरेको छ ।


पूर्व पश्चिम राजमार्गमा दैनिक साना ठूला गरी ५ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?