कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गण्डकमा पानी आउन डेढसाता लाग्ने

शंकर आचार्य

पर्सा — ओरिया खोलाको भेल पसेर क्षति पुगेको गण्डक नहरमा पानी आउन एकदेखि डेढसाता लाग्ने भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले मर्मतमा कम्तीमा एक साता लाग्ने र त्यसपछि भारतले पानी छोडेपछि नेपाल आइपुग्न कम्तीमा पनि ३ दिन लाग्ने बताए ।

भारतीय पक्षले नहरमा नेपालतर्फ आउने पानीको रेगुलेटरको ढोका बन्द गरेपछि गण्डक नहरमा क्षति भएको हो । पर्सा र बारा जिल्लामा गरी ४ स्थानमा नहरको किनार फुटेर क्षति भएको छ । नहरको उत्तरी किनारमा क्षति भएकाले मर्मत गर्न अप्ठेरो नहुने साह बताउँछन् । तत्कालै नहरमा पानी प्रवाह गर्न नहरको किनारमा आली बनाएर पनि काम चलाउन सकिने उनले बताए । पछि बजेट प्राप्त भएपछि दीर्घकालीन मर्मत गर्न सकिने उनले बताए ।


हाल नहरको कमाण्ड क्षेत्रमध्ये पर्सामा ६० र बारामा करिब ५० प्रतिशत क्षेत्रमा रोपाइ हुन सकेको उनले बताए । हाल परेको पानीबाटै रोपाइ सम्भव भए पनि त्यसपछि धान बालीलाई सिंचित गर्न गर्न नहरमा पानी आवश्यक पर्छ ।


शुक्रबार दिउँसो करिब १ बजे भारतीय दोन कनाल कार्यालय प्रमुख शैलेन्द्रप्रसाद आफैं आई नेपाल तर्फको नहरको ढोका बन्द गरे लगत्तै त्यहाँस्थित ओरिया खोलाको पानी ओवरफ्लो भई गण्डक नहरमा प्रवेश गरेको थियो । अत्यधिक पानी प्रवाह भएर नहरमा बगेपछि त्यसले ४ ठाउँमा नहरमा क्षति गरेको छ ।


पर्साको मसिहानीमा २५ मिटर, डकैला बहुअरीमा १० मिटर, बाराको त्रिवेणीमा १५ मिटर र नकटुवामा करिब मिटर १५ नहरको किनार बग्नुका साथै नहरको सर्भिस रोडसमेत बगेको छ । भारतीय पक्षले आफ्नो भूभागमा नहरको संरचना जोगाउन नेपाल तर्फको नहरको ढोका बन्द गरेको थियो ।


ओरिया खोला नहरमा पसेपछि १ हजार १ सय देखि १ हजार २ सय क्युसेक पानी प्रवाह भएको उनले बताए । जुन नहरको क्षमताभन्दा करिब डेढ गुना बढी हो । नहरको क्षमता ८ सय ५० क्युसेक हो ।

प्रकाशित : असार ३१, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?