प्रदेश २ मा ३२ को मुत्यु

रासस

काठमाडौँ — केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।  

बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् । यसैगरी तीन हजार ५७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १०४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएको सो कार्यालयले जनाएको छ ।

सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ ।

वर्षा रोकिएपछि हाल स्थिति सामान्य हुँदै गएको छ । बाढी तथा डुबानमा परेका पीडितको पुनःस्थापना तथा राहत वितरणको काम भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जनजातीको बन्द स्थगित, जनप्रदर्शन जारी राखिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले पूर्वघोषित नेपाल बन्दको कार्यक्रम स्थगित गरेको छ । उसले लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध चरणबद्ध ‘आरक्षण बचाऔं आन्दोलन’ का क्रममा साउन २ र १० गते बन्द घोषणा गरेको थियो । 


देशैभरि भएको भीषण वर्षाले बाढीपहिरो, डुबानजस्ता विपत्ति आएकाले आन्दोलनको स्वरूप परिवर्तन गरी जनप्रदर्शन, धर्ना, विरोध जारी राख्ने महासंघले जनाएको छ।

विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रका व्यक्तिहरू विभिन्न संघ/संगठनमार्फत साझा ब्यानरमा आन्दोलनरत छन्।

महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगको केन्द्रीय तथा आयोग मातहतका कार्यालय र जिल्ला तथा प्रदेशका प्रशासन कार्यालयहरू, स्थानीय तहका कार्यालयमा घेराउ र धर्ना दिने भनेका छन्।

देशैभरि विरोध जुलुस प्रदर्शन, जनप्रदर्शन र विरोधसभा गर्नुका साथै आयोगको परीक्षा बिथोल्ने पनि महासंघले भनेको छ।

प्रकाशित : श्रावण १, २०७६ १९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT