२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घाटा छल्न अपहरणको नाटक

शिव पुरी

रौतहट — अपहरणमा परेको प्रचार गरेर भारतमा लुकेका एक व्यापारीलाई प्रहरीले नेपाल फर्किने क्रममा पक्राउ गरेको छ । उनी बेपत्ता भएको अढाई महिनापछि प्रहरीले पक्राउ गरेको हो । व्यापारमा मन्दी भएपछि उनी अपहरणको नाटक गरेको खुलेको छ ।

कटहरिया नगरपालिका ७ बगहीका व्यापारी श्रीभगवान साहलाई रुपन्देही जिल्लाको नेपाल–भारत सिमास्थित भैरहवानजिक लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बुधबार जानकारी दिएको छ । आर्थिक कारोबार थेग्न नसकेर उनी फरार भएको प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘व्यापारी साह आफैं भागे अनि परिवारका सदस्यले अपहरण भयो भनेर मुद्दा समेत दर्ता गराए,’ उनले भने, ‘नेपालबाट भागेर भारतका विभिन्न सहरमा बसेका थिए । प्रहरीले खोजतलास गरेपछि उनी नेपाल छिरेका हुन् । त्यही बेला पक्राउ परे ।’


गत वैसाख १७ गते बिहान घरबाट खाना खाई गरुडा बजारमा हिसाब गरेर काठमाडौं जान्छु भनि लु४१प ५७४९ नम्बरको मोटरसाइकलमा चढी साह गरुडा आएका थिए । त्यहाँ उनले लक्ष्मण कोल्ड स्टोरको गोदाममा मोटरसाइकल राखी एकाएक सम्पर्कविहीन भएका थिए । कोल्डस्टोरका सञ्चालक उनका चिनजानका हुन् ।


राति अबेरसम्म घर नआएपछि उनका बुवा बुबाजियालाल साहले तत्काल इलाका प्रहरी गरुडालाई जानकारी गराए । प्रहरीले खोजतलास गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा नाईलनको झोला भित्र लाभा स्मार्ट कम्पनीको साधारण मोबाइल फोन, पोष्ट एटिएम मेसिन, नगरिकता र केहीसिम फेला परेको थियो ।


बेपत्ता भएको २ दिनसम्म सम्पर्क विहीन भएको भन्दै परिवारका सदस्यले अपहरण गरी हत्या गरेको हुनसक्ने आशंकामा कोल्ड स्टोरका सञ्चालक रामकुमार चौधरीविरुद्ध इलाका प्रहरी गरुडामा अपहरण र कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिए । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । त्यसपछि कटहरिया र गरुडाका व्यापारीले प्रहरीको विरोधमा गौर, गरुडा र कटहरियामा दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरूले केही बेर चक्काजाम समेत गरे ।


घटनापछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्रहरी नायव उपरीक्षक र प्रदेश २ प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको टोली, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीले अनुसन्धानमा थालेको थियो । अनुसन्धानका क्रममा करिब ३ दर्जन मानिससँग घटनाका बारेमा सोधपुछ लगायत कागज गरेको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए ।


‘अनुसन्धानमा प्रहरीले ठूलो मात्रा स्रोत साधन परिचालन गर्नु परेको थियो,’ उनले भने, ‘आफैं भागेर अपहरणको नाटक गरी सबैलाई दुःख दिने काम गर्‍यो ।’ अनुसन्धानका क्रममा साहलाई कसैले अपहरण नगरेको र आफैं बेपत्ता भएको प्रमाण फेला पारेपछि हिराशतमा रहेका चौधरीलाई संलग्नता नदेखिएको भनी छाडेको थियो ।


घरबाट भागेर भारतको मुम्बई, हरिद्वार लगायत विभिन्न स्थानमा लुकिछिपी बसेको साहले प्रहरी समक्ष बताएका छन् । प्रहरीले भारतिय सुरक्षा अधिकारीसित सहकार्य गरे पछि रौतहटबाट गएको सुरक्षाकर्मी खोजतलासका क्रममा झन्डै १ महिना मुम्बईमा बसेको थियो ।


यसको सुइँको पाएपछि साह त्यहाँबाट भागेर हरिद्वार पुगेका थिए । त्यहाँ उनी जोगीको भेशमा बसे । त्यहाँ प्रहरी पुगेको थाहा पाएर उनी नेपाल आएका हुन् । प्रहरीले मोबाइल, भारतीय भोडाफोन सिम, ५ हजार भारतीय रुपैयाँ सहित साहलाई नियन्त्रणमा लिएको जनायो । उनलाई सार्वजनिक अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरीले जनायो ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?