१ खर्ब ८० अर्ब राजस्व संकलन

पर्सा — मुलुकको आर्थिक राजधानी वीरगन्जका २ भन्सारले गत आर्थिक वर्षमा करिब १ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज/आईसीपी र सिर्सिया सुक्खा बन्दरगाहले गरी उक्त राजस्व संकलन गरेका हुन् । 

यो मुलुकका सम्पूर्ण भन्सारले संकलन गर्ने राजश्वको झन्डै आधा हिस्सा हो । वीरगन्ज भन्सार कार्यालय एक्लैले १ खर्ब ४७ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सारले ३२ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनका दृष्टिले वीरगन्ज भन्सार मुलुककै प्रमुख भन्सार हो ।


सुक्खा बन्दरगाह भन्सार पनि उत्कृष्ट ५ भित्रै पर्छ । दुवै भन्सारले धेरै राजस्व संकलन गरे पनि वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउन भने दुवै असफल भएका छन् । वीरगन्ज भन्सार कार्यालयले गत आवका लागि १ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व असुली लक्ष्य पाएको थियो । बन्दरगाह भन्सारले ३६ अर्ब ९ करोड रुपैयाँ असूली गर्नु पर्थ्यो । वीरगन्ज भन्सारले लक्ष्यको ८५ दशमलव ५७ प्रतिशत र बन्दरगाह भन्सारले ८९ दशमलव ३६ प्रतिशत राजस्व असुली गरेको छ ।


समग्रमा आयात घटेको तथा राजस्वमा योगदान गर्ने केही वस्तुको आयात घटेकाले लक्ष्य अनुरूपको राजस्व असुली हुन नसकेको भन्सार अधिकारीहरू बताउँछन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा लक्ष्य नै बढी रहेकाले लक्ष्य भेट्टाउन हम्मेहम्मे भएको बताए ।


‘अघिल्लो आवभन्दा गत आवमा लक्ष्य नै करिब ३२ प्रतिशत बढी थियो,’ उनले भने, ‘तैपनि अघिल्लो आवभन्दा गत आवमा बढी नै राजस्व संकलन भएको छ ।’ समग्रमै व्यापार घटेको तथा चिनी र केही व्यापारिक वस्तुको आयात घट्नु तथा इसीटीएस प्रणाली लागू भएपछि कोलकाता भन्सारका कस्टम हाउस एजेन्टको हडतालले पनि राजस्व असुली प्रभावित भएको हो ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो पनि समग्र आयात घटेकाले त्यसको असर राजस्व असूलीमा परेको बताउँछन् । ‘राजस्वमा योगदान गर्ने मुख्य वस्तु मोटरसाइकल र जिप, कार, भ्यानको आयात वैशाखदेखि नै घटेको हो,’ उनले भने, ‘यसबाहेक केही औद्योगिक कच्चा पदार्थको आयात पनि घट्न गएकाले त्यसको नकारात्मक असर राजस्व असुलीमा परेको हो ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?