२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भन्सार असुली घट्यो

महोत्तरी — जलेश्वर भन्सार कार्यालयले आव ०७५/७६ मा लक्ष्यबमोजिम राजस्व संकलन गर्न सकेन । यस अवधिको लक्ष्य २ अर्ब ६८ करोड ९१ लाख तोकिएको थियो । असुली भने २ अर्ब ४२ करोड २२ लाख मात्र हुन सक्यो । यो असुली लक्ष्यको ९० प्रतिशत हो । 

भन्सार असुली घट्यो

जलेश्वर भन्सारमा विगत ५ वर्षदेखि लक्ष्यको दोब्बर संकलन गर्दै आएको थियो । भन्सार छलेका सामान पक्राउ गर्ने र सीमा तस्करीबारे व्यापारीलाई सर्तक गराउँदै आएकाले राजस्व असुलीमा वृद्धि हुने भन्सारकर्मीले जनाउँदै आएका थिए । यही सक्रियताका कारण आव ०७४/७५ को यसै अवधिमा लक्ष्यको १ सय २२ प्रतिशत बढी अर्थात २ अर्ब ५९ करोड राजस्व असुली भएको उनीहरूको भनाइ छ ।


आव ०७५/७६ मा घटेको असुलीलाई भन्सारकर्मीले अस्वाभाविक मानेका छैनन् । यो अवधीमा असुली घटेको नभई लक्ष्य नै बढी भएको उनीहरूको जिकिर छ । प्रमुख भन्सार अधिकृत केशव भण्डारीले लक्ष्य घटनुको पछाडि आयात व्यापारमा ह्रास, वर्षा बाढी र डुवान, जर्जर सडक, विषादी परीक्षणजस्ता विविध कारण रहेको बताए ।


उनकाअनुसार जलेश्वर भन्सारले इन्धन आयातबाट सबैभन्दा बढी राजस्व असुल्दै आएको थियो । भारतको बरौनीबाट आयात हुने पेट्रोलियमबाट जलेश्वर भन्सारले ७० प्रतिशत राजस्व असुल्दै आएको थियो । गएको वर्ष रकसौलमा उत्पन्न ट्राफिक समस्याका कारण वीरगन्ज नाकामा जाने पेट्रालियम पनि केही समय जलेश्वर भन्सारबाटै पास भएका थिए । त्यो कारण यहाँको असुलीमा अप्रत्यासित वृद्धि देखियो । आव ०७५/७६ सम्म आइपुग्दा त्यताको ट्राफिक समस्या समाधान भयो र यताबाट पेट्रोलियमको आयात पनि घट्यो ।


असुली बढनुको वस्तुगत विश्लेषण नगरी वृद्धि भएको अंकका आधारमा आव ०७५/७६ को लक्ष्य तोकिनाले असुली चुनौतीपूर्ण बनेको उनको जिकिर छ । अर्कोतर्फ जलेश्वर भन्सार रुटमा पर्ने नेपाली तथा भारतीय क्षेत्रमा जर्जर सडक, कमजोर पुल र साँगुरो डाइभर्सनका कारण २२ चक्के २८ चक्के ठूला मालवाहक आाउन छाडेका छन् ।


‘आव ०७५/७६ को लक्ष्य भेटन बाधा पुर्‍यो,’ भण्डारीले भने, ‘त्यसपछि असार अन्तिम साताको बाढीले र डुवानले असुलीलाई शून्यमा झारेपछि अशुली ९० प्रतिशतमा सीमित हुन गएको हो ।’ भन्सार कार्यालयकाअनुसार पेट्रोलियमपछि खाधान्न, निर्माण सामग्री र औधोगिक कच्चा पदार्थबाट करिब ३० प्रतिशत असुली भएको छ ।


महोत्तरीबाट हुने निर्यात ब्यापार भने विगत ३ वर्षले शून्यमा झरेको छ । यसअगि यहाबाट सुठो, पिना, पाते चिराइतो, सुनाखरी, अमरिसो, वावियो, रुद्राक्ष, हरियो तरकारी, खाधान्न, प्लाष्टिक पाइप लागायतका नेपाली सामान निकासी हुने गरेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?