कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देउवा सिरहाका बाढी र डुबान पीडित क्षेत्रमा

भरत जर्घामगर

(सिरहा) — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिरहाका बाढी र डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । पूर्वप्रधानमन्त्री देउवा, सिरहाका पार्टी सभापति रामचन्द्र यादव, सांसद चित्रलेखा यादवसहितको टोलीले जिल्लाको बन्दीपुर, कमलाको बाढीले बढी डुबान गरेको सिरहा नगरपालिका ६ स्थित बसबिट्टा, माडर र औरही गाउँपालिका २ तुल्सीपुर क्षेत्रको अवलोकन गरेको थियो ।

देउवा सिरहाका बाढी र डुबान पीडित क्षेत्रमा

बसबिट्टास्थित बाँध भत्काएर कमला खोलाको बाढी पसेको स्थान र कमला खोलामैं पुगेर कमला नदीको उनले अवलोकन गरे । सिँचाइँका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढीपीडित छन् ।


जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ५ हजार २० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा सिरहामा ५ जनाको मृत्यु भएको थियो । सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर आकाशबाटै अवलोकन गरेर फर्किएपछि गुनासो बढिरहेका बेला प्रदेश २ का बाढीपीडित जिल्लाका गाउँ गाउँमा पुगेका कांग्रेस सभापति देउवाले बाढीपीडित परिवारलाई यहाँका जनताका दुःख दर्द समेटेर संसद्‌मा सरकारसँग कडा माग राख्ने आश्वासन दिए ।


‘बाँध कटान र डुबानबाट धैरै नै क्षति, नोक्सान पुर्‍याएको छ’ अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री देउवाले भने ‘यहाँका जनताका दुःख दर्द समेटेर घर नहुनेलाई घर, बास नहुनेलाई बासको व्यवस्थाका लागि सरकारसँग माग राख्छौं ।’


प्रदेश २ का दाजुभाइहरुले पनि यस्तो झरी पानी कहिल्यैं नदेखेको आफूलाई सुनाएको बताउँदै उनले सरकारका मन्त्रीहरुले भनेजस्तो यो मानव निर्मित गल्ती नभई बाढी पहिरो प्राकृतिक प्रकोप भएको बताए । ‘डुबान हुनुमा भारततर्फ ठाउँ ठाउँमा बाँध निर्माणले नोक्सान भएको सुनिन्छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ‘बाँधका बारेमा भारतसँग कूटनीतिक वार्ता, सल्लाह गरेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित : श्रावण ३, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?