कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

घण्टाघरको खाडल पुरियो

शिव पुरी

रौतहट — सडक डिभिजनको अनुमतिबिना गरुडा नगरपालिकाको मुख्य राजमार्गमा घण्टाघर बनाउन भन्दै नियमविपरीत बनाइएको खाडल पुरिएको छ । सडकको बीचमा खाडल बनाइएपछि चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित निकायको अनुमितबिना व्यस्त सडकमा खाडल पारेर प्रदेशसभा सांसदले शिल्यान्याससमेत गरिसकेका थिए । अहिले सडक आफैंले जेसीबी लगाएर खाडल पुरेको छ । त्यस ठाउँमा घण्टाघर बनाउन सडकले अनुमति दिएन । गरुडा नगरपालिका ४ स्थित गौर–चन्द्रनिगाहपुर खण्डको मुख्य सडकमा झण्डै १० फिट गहिरो खाडल बनाइएको थियो ।


घण्टाघर निर्माण गर्न भनिए पनि सडक डिभिजन चन्द्रनिगाहपुरले यसको अनुमति दिएन । प्रदेश सरकारको २५ लाख सशर्त बजेटबाट घण्टाघर बनाउन लागिएको थियो । सडकको अनुमति नपाएपछि नगरपालिकाले कार्यादेश र सम्झौता गरेन । यही कारण बजेट फ्रिज भएको छ । नियमविपरीत उपभोक्ता समितिले प्रदेशसभा सांसद अबुलकलाम आजादलाई शिल्यान्यास गर्न लगाएको थियो । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ पन्थीले सडक डिभिजनले खाडल पुरेको बताए ।


‘अनुमति नै नपाएपछि हामीले चासो देखाएनौं,’ उनले भने, ‘अहिले सडक आफैंले खाडल पुरेको छ ।’ शुक्रबारदेखि लगातारको वर्षाले डुबानमा पर्न थालेपछि सडकले खाडल पुरेको हो । यसमा सबारी दुर्घटना हुने सम्भावना धेरै थियो ।


कालोपत्रे सडकको बीच भागमा ठूलो खाडल बनाएपछि झन्डै तीन साता अघि प्रदेशसभा सांसद आजादले शिल्यान्यास गरेका थिए । सडकको अनुमति नपाएपछि नगरपालिकाले समेत असहमति जनाउँदै आएको थियो । अनुमति लिएर मात्र खाडल बनाउन नगरपालिकाले अनुरोध गरेको थियो ।


उपभोक्ता समिति गठन गरी जबरजस्ती सडकमै खाडल बनाइएको हो । समितिले धमाधम बीच सडकमा खाडल पारेर घण्टाघर बनाउने तयारी गरेको थियो । त्यस पछि नगरपालिकाले कार्यादेश र सम्झौता गर्न नमानेपछि समिति अलमल्लमा परेको थियो । वर्षाका बेला खाडलमा पानी जमेर ठूलै दुर्घटना हुने स्थानीयको भनाई थियो ।


विभागबाट स्विकृत लिएर मात्र काम गर्न सडकले भन्दै आएको थियो । सांसद आजाद र उनका आसेपासेले उपभोक्ता समिति नै गठन गरी काम थालेका हुन् । सडक डिभिजन प्रमुख दरोगा प्रसादले बीच सडक खनेर कुनै पनि संरचना बनाउन नपाईने बताए । ‘हामीले माथिल्लो निकायबाट स्विकृत लिनुस भनेका हौ,’ उनले भने, ‘अनुमति लिने कामसमेत सरोकारवालाले गरेनन् ।

प्रकाशित : श्रावण ४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?