डुबान पीडितको थपिँदै पीडा

धनुषा — जनकपुर उपमहानगरपालिका १ की गंग्रेसीदेवी सदाको घर जलाद नदीको बाढीले डुब्दा दाल, चामल, नुन लगायतका सबै लत्ताकपडा र खाद्यान्न नष्ट भयो । चारजना बच्चासहित उनी दुई दिनसम्म भोकै बसिन् । घरमा पानी पसेपछि दैनिक छाक टार्न समेत गाह्रो भएको छ ।

स्थानीय शिवसती सदाको पीडा गंग्रेसीको जस्तै छ । अविरल वर्षाले घरमा पानी पस्दा घरको भित्तो भत्किएर घरभरि हिलो छ । सामान पानीमा बगेपछि छिमेकीको घरको छतमा त्रिपालको टहरामा दुई रात बिताइन् ।


उनले काम नपाएकाले घरमा खानेकुरा ल्याउन सकेकी छैनन् । ‘बच्चाहरू भोकले छट्पटाउँदै निदाउँछन्,’ उनले भनिन् । जनकपुरधाम उप महानगरपालिका १ की मुनीदेवी सदा घरमा आउने नेतालाई झाडुले स्वागत गर्ने तयारीमा छन् । बाढी, डुबानले घरमा खान, बस्न समस्या हुँदा भोट मागे जस्तै नेताहरू घरघरमा खाली हात आएर नमस्कार गर्दै आश्वासन मात्र बाँडेपछि सतिया आक्रोषित छिन् ।


नेताहरू चुनावका बेला भोट माग्न चुलो नजिक आएर बस्थे, दिनमा दुइचोटी नमस्कार गर्थे तर अहिले घरमा पानी पस्दा कोही नआएको जनकपुरधाम धर्मवानटोल मुसहर बस्तीकी देवसुन्दर सदाले बताइन् । ‘हामी भोकै बसेका छौं । तर, हामीमाथि कसैको नजर परेको छैन, देवसुन्दर सादले भनिन, ‘भोटका बेला मात्र घरमा आउने नेताहरू अब घरमा आए भने झाडु लिएर लखेट्छौं ।’


अविरल वर्षापछि डुबानमा परेको जनकपुरधाम उपमहानगरपालिका १ धर्मवान टोलको मुसहर बस्तीका स्थानीय १ सातापछि पनि राहत सामग्री नपाउँदा आक्रोसित छन् । दैनिक ज्यालादारीले साँझ–बिहान घर–परिवार चलाउने मुसहर समुदाय वर्षापछि काम पनि नपाउँदा समस्यामा परेका छन् ।


अनुगमनमा पुगेका प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले शनिबार १५ जनालाई राहत बााड्न लाग्दा स्थानीय आक्रोसित भएका थिए । राहत वितरण गर्न पुगेका समितिका सदस्यलाई उनीहरूले गालीगलौज समेत गरे ।


बाढीले धर्मवान टोलमा करिब ६० घरपरिवार विस्थापित भएका छन् । न कसैको घर बस्न लायक छ न खानेकुरा नै छ । बच्चाहरू बिस्कुट चाउचाउ खाएर दिन काटछन् । राहतका नाममा करिब १५ घर परिवारले मात्र केही खाद्यान्न पाएका छन् । ‘हामी कस्तो अवस्थामा छौं । मर्‍यौं कि बाँच्यौं वडाध्यक्ष, मेयरले हेर्न समेत आएका छैनन्,’ सविता सदाले भनिन्, ‘५ वटा घरको भोटले मात्र वडाध्यक्ष र मेयर बनेका हुन् ? भोट खसाल्ने बेला मात्र हाम्रो याद आउँछ ?’


जिल्ला विपद व्यवस्थापन समिति धनुषाका अनुसार जिल्लामा बाढी तथा डुबानबाट ११ हजार घर विस्थापित भएका छन् । तर, अहिलेसम्म मात्र करिब ३ हजार पीडित व्यक्तिसम्म राहत पुग्न सकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।


लगातारको वर्षातका कारण जनकपुर उपमहानगरपालिका–२४ स्थित बसहियाका ८० घरमा रहेका मुसहर समस्यामा परेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले मुसहर समुदायका घर निर्माण गर्ने भनी उनीहरूको घर भत्काउन लगाइएको थियो ।


‘फुसको घर भत्कायौं । नयाँ निर्माण रोकियो । त्रिपाल र टहरामा रात बिताउन बाध्य छौं,’ स्थानीय पशुपति सदाले भनिन्, ‘कुन सड्को बाढीले बगाउने हो ? त्रासै त्रासमा बस्नु परेको छ ।’

प्रकाशित : श्रावण ६, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?