कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विशाखापट्टनमबाट आयात वृद्धि

शंकर आचार्य

पर्सा — ३ महिनायता नेपाली आयातकर्ताले कोलकाता भन्दा विशाखापट्टनम बन्दरगाहबाट समानको आयात बढाएको छ । सिर्सिया सुक्खा बन्दरगाहको तथ्यांकले पनि यस्तै देखाउँछ । 

वैशाख महिनायता यो बन्दरगाहमा कोलकाताभन्दा विशाखापट्टनम बन्दरगाहबाट आएका रेल्वे र्‍याकको संख्या दोब्बर हुनुले पनि लामो समयदेखि कोलकाता बन्दरगाहबाट समस्या झेल्दै आएका नेपाली आयातकर्ता विशाखापट्टनम तर्फ आकर्षित भएको पुष्टि गर्छ ।


सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांक अनुसार अंग्रेजी महिनाको अप्रिलमा कोलकाताबाट १९ र विशाखापट्टनमबाट २० कन्टेनर रेल्वे र्‍याक आएका थिए । मे महिनामा कोलकाताबाट १५ र विशाखापट्टनमबाट २५, जुनमा कोलकाताबाट १५ र विशाखापट्टनमबाट ३२ र्‍याक आएका छन् । अप्रिल अघिका महिनामा विशाखापट्टनमभन्दा झन्डै दोब्बर र्‍याक कोलकाताबाट आउने गरेका थिए ।


नेपाली आयातकर्तालाई लक्षित गरी विशाखापट्टनम बन्दरगाहले सिर्सिया सुक्खा बन्दरगाह वीरगन्जका लागि २०१७ जुनबाट सेवा दिन सुरु गरेको थियो । यसले कोलकाता बन्दरगाहको नेपालमा रहेको एकलौटी व्यापारको अन्त्य गरेर उसलाई कडा चुनौती समेत दिएको छ ।


नेपाली आयातकर्ताले लामो समयदेखि सबैभन्दा नजिकको भारतीय बन्दरगाह कोलकाता बन्दरगाहमा झेल्दै आएको समस्याको कारण यस्तो परिणाम देखिएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया बताउँछन् । ‘ढिलो चाडो यसो हुनु नै थियो, २ वर्षमा हुन गयो,’ उनले भने, ‘कोलकाता जत्तिक्कै लागत पर्ने र कोलकाता जस्तो कुनै पनि झन्झट विशाखापट्टनममा नहुने भएपछि आयातकर्ता विशाखापट्टनम जानु स्वाभाविक नै हो, भारतका अन्य बन्दरगाह पनि नेपालका लागि खुला गर्न सक्नुपर्छ ।’ विशाखापटनमा मर्क्स लाइन शिपिङ कम्पनीको मात्र एकाधिकार रहेकाले उसले बेलाबेलामा बढाउने करले समस्या पार्ने गरेको उनले बताए ।


कोलकाता बन्दरगाहको ढिलासुस्ती, कष्टम हाउस एजेन्टको मनोमानी, शिपिङ लाइन कम्पनीको चर्को शुल्क र अव्यवस्थाले आफूहरू पीडित रहेको गुनासो नेपाली आयातकर्ताले लामो समयदेखि गर्दै आएका थिए । तर विशाखापट्टनममा नेपाली महावाणिज्य दूतावास नहुनु तथा अन्य शिपिङ लाइन कम्पनी नहुनु त्यहाँका समस्या हुन् ।


हिमालयन टर्मिनल्सका सिइओ विष्णुकान्त चौधरी विशाखापट्टनममा मर्क्स कम्पनीको पकड रहेको र उसमा व्यासयिकता समेत रहेकाले नेपाली आयातकर्ता त्यता आकर्षित भएको हुन सक्ने बताउँछन् । ‘अहिले विशाखापट्टनम र कोलकाता बन्दरगाहबीच ७० र ३० को अवस्था छ, बिगतमा स्थिति ठीक विपरीत थियो,’ उनले भने, ‘६ महिनादेखि बिस्तारै परिवर्तनका संकेत देखिन थालेका थिए, अब नेपालका लागि अन्य बन्दरगाह पनि खुलाउन सक्नु पर्छ ।’


तुलनात्मक रूपमा अन्तर्राष्ट्रिय बन्दरगाह पनि कोलकाताभन्दा विशाखापट्टनमबाट नजिक रहेको छ । यसले नेपाली आयातकर्ताले सिपिङ कम्पनीलाई दिने जहाज ढुवानी भाडा कम पर्न जान्छ । विशाखापट्टनमबाट सिंगापुर बन्दरगाह १ हजार ५ सय ७३ नटिकल माइल टाढा छ भने मलेसियाको केलङ बन्दरगाह १ हजार ३ सय ८५ नटिकल माइल टाढा छ ।


चेन्नइ बन्दरगाहबाट सिंगापुर बन्दरगाहको दुरी १ हजार ५ सय ८६ नटिकल माइल र केलङ बन्दरगाहको दूरी १ हजार ३ सय ९२ नटिकल माइल छ । कोलकाता बन्दरगाहबाट सिंगापुर बन्दरगाहको दुरी १ हजार ६ सय ५० नटिकल माइल र कोलकाताबाट केलङ बन्दरगाहको दूरी १ हजार ६ सय ५० नटिकल माइल छ । त्यसैगरी, मुम्बई बन्दरगाहबाट सिंगापुर बन्दरगाहको दुरी २ हजार ४ सय ३५ नटिकल माइल र केलङ बन्दरगाहको दुरी २ हजार २ सय ४६ नटिकल माइल छ ।


नेपाली आयातकर्ताले विशाखापट्टनम बन्दरगाह मार्फत मालवस्तु आयात गर्दा प्रतिकन्टेनर भारु १ लाख रुपैयाँ खर्च आउने र समुद्री मार्गको भाडा २ सयदेखि २ सय ५० अमेरिकी डलरसम्म बचत हुन जाने दाबी विशाखापट्टनम बन्दरगाह प्रशासनले गर्दै आएको छ । यसरी ढुवानीमा हुने समयको बचतबाट पनि नेपाली आयातकर्ताले लाभ लिन सक्ने दाबी उक्त बन्दरगाह प्रशासनको रहँदै आएको छ ।

समुद्रसँग जोडिएर २ लाख वर्गमिटरको क्षेत्रफल ओगटेको विशाखापट्टनम बन्दरगाहमा जुनसुकै मुलुकबाट आएका मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन् । १६ दशमलव ५ मिटर तटिय जल गहिराई रहेको यो बन्दरगाहमा १० देखि १२ हजार कन्टेनर बोकेका ठूला पानी जहाज (मदर भेसल्स) आउन सक्छन् ।


पानीको गहिराईकै कारण यो बन्दरगाहमा चीन र दक्षिण कोरियाबाट अत्यन्त ठूला पानी जहाज सोझै बन्दरगाह तट सम्म आउने गरेका छन् । जसले गर्दा कन्टेनरलाई सोझै जहाजबाट झिकेर यार्डमा भण्डारण गर्न सकिन्छ ।


कोलकाता बन्दरगाह खोलामा निर्मित बन्दरगाह भएकाले त्यहा तटिय पानीको गहिराई केवल साढे ६ मिटर हाराहारी मात्र छ । यसले गर्दा त्यहा ठूला पानी जहाज ल्याउन सकिँदैन । ठूलाबाट साना पानी जहाजबाट कन्टेनर सारेर ल्याइन्छ । कोलकाता बन्दरगाहको जटिल भौगोलिक संरचनाको कारण हाल त्यहा श्रीलंका र सिंगापुरबाट मात्र जहाज आउन सक्छन् भने यहा सबै अर्न्तराष्ट्रिय बन्दरगाहबाट जहाज आउँछन् ।


सन् २००३ मा सेवा सुरु गर्दा बार्षिक ३ लाख कन्टेनर ह्यान्डलिङ गरेको विशाखापट्टनम बन्दरगाह टर्मिनलले हाल वार्षिक ७ लाख कन्टेनर ह्यान्डलिङ गरी रहेको छ ।

प्रकाशित : श्रावण ६, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?