२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निर्माणाधीन सडकमा यात्रुलाई सकस

पानीपर्दा हिलो र सुक्खा हुँदा धुलोले सडक वरपरका बस्ती पीडित
ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्गदेखि सदरमुकाम मलंगवा जोड्ने मुख्य सडक कालोपत्रे गर्न पटक–पटक म्याद थपिए पनि कालोपत्रेको काम भने सकिएको छैन । 

निर्माणाधीन सडकमा यात्रुलाई सकस

सडक कालोपत्रे नहुँदा स्थानीयले हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् । ठेकेदारले कल्भर्टका लागि खनेको सडकमा सामान्य पानी पर्दा यातायातका साधन फस्ने गरेको छ । यातायातका साधन फस्दा यात्रुलाई सकस हुने गरेको छ ।

पहिलो चरणमा ठेक्का लागेको सडकमा कामै नगरी भारतीय ठेकेदार फरार बनेपछि २०७३ सालमा नेपाल सरकारले पुनः सडक कालोपत्रे गर्न दुई चरणमा ठेक्का लगायो ।


नवलपुरदेखि गैरसम्म र गैरदेखि मलंगवासम्म दुई खण्डमा छुट्टाछुट्टै कम्पनीले निर्माणको जिम्मा लिएका छन् । कालोपत्रेसहित सडक निर्माण सक्ने सम्झौता गत भदौ मसान्तमै सकिसकेको छ । समयमा काम हुन नसकेपछि सम्बद्ध कार्यालयले पुनः मंसिर १५ गतेसम्म म्याद थपेको थियो । दोस्रोपटक थपिएको म्यादमा पनि सडक कालोपत्रे भएन । त्यसयता ठेकेदारले सडकको म्याद थप्दै कछुवा गतिमा काम गर्दै आइरहेको छ ।


ठेकेदारले मंसिरमै तापक्रम नपुगेर छोडेको झण्डै ६ किलोमिटरको कालोपत्रेको काम असार बित्दा समेत पूरा गर्न सकेको छैन । यो समयमा करिब ३ किलोमिटर मात्र एक चरणको कालोपत्रेको काम सकेको छ । बाँकी सडकमा बेस बनाउने समेत काम गर्न सकेको छैन ।


अति व्यस्त सडकमा वर्षाको बेला कल्भर्ट खनेर त्यतिकै छाडेका कारण यातायातका साधन फस्ने गरेका छन् । यातायातका साधन फस्दा यात्रु तथा यातायातका साधनलाई सकस हुने गरेको छ । मलंगवा–नवलपुर सडकमा शनिबार सामान्य पानी पर्दा बाटो नै अवरुद्ध बनेको थियो । सडकमा कल्भर्टका लागि खनिएको खाल्टोमा गाडी फसेका कारण अतिव्यस्त सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडकलाई स्थानीय सशस्त्र प्रहरीको सहयोगमा आइतबार बिहान मात्र सडक सञ्चालनमा आएको थियो ।


२०७३ सालमा दुईचरणमा ठेक्का लागेको नवलपुर–मलंगवा २६ किमि सडक अन्तर्गत पहिलो चरणको ठेक्का हिम्दुंङ एन्ड थोकर/हिरा एन्ड नमिता जेभी काठमाडौंले लिएको छ । भण्डै ३ किमि सडकमा ठेकेदारले कामै नगर्दा हिउँदमा सडक छेउछाउका बस्ती नै ढाक्ने गरी धुलो उड्ने गरेको छ भने वर्षाको बेला यात्रु तथा यातायतका साधनले सास्ती खेप्न बाध्य छन् ।


सडकमा काम गर्ने ठेकेदारको लापारबाहीका कारण दैनिक यातायातका साधन फस्ने र आफूहरूले सास्ती खेप्न बाध्य भएको चालकहरूले बताएका छन् । ‘ठेकेदारले ठेक्का कबोल गर्ने तर काम नगर्दा समस्या बल्झिएको छ, ठेकेदारको लापारबाहीका कारण सडक कालोपत्रे हुन सकेको छैन,’ नवलपुर–मलंगवा सडकमा यातायातका साधन चलाउँदै आएका चालक रामबाबु यादवले भने, ‘सडक चाँडो बनाउन दबाब दिन सम्बन्धित निकाय पनि मौन देखिएको छ ।’


यस्तै उक्त सडकको दोस्रो चरणको ठेक्काको पनि पूर्ण रूपमा कालोपत्रेको काम सम्पन्न हुन सकेको छैन । उसले अन्तिम चरणको कालोपत्रेको काम गर्न बाँकी छ । दोस्रो चरणको यो सडक रमण/आश्रय जेभी काठमाडौंले ठेक्का लिएको छ । वर्षाका बेला सडक निर्माणको काम रोक्न भनिए पनि ठेकेदारले कल्भर्टका लागि सडक खनेको जानकारी आएपछि पुर्न लगाएको हुलाकी सडक आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दासले बताए । उनले वर्षा सक्ने बित्तिकै काम सुरु हुने जानकारी दिए ।

प्रकाशित : श्रावण ६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?