३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपभोक्ता समितिमा पार्टी कार्यकर्ता हावी

वीरगन्ज — पर्सागढी नगरपालिकाको जसौलीदेखि हरपुरसम्मको साढे ५ किलोमिटर सडक कालोपत्रेका लागि प्रदेश २ सरकारले आव ०७५/७६ मा १ करोड २२ लाख रुपैयाँ पठाएको थियो । 

एक करोड रुपैयाँभन्दा माथिका योजना उपभोक्ता समितिमार्फत गराउन नमिल्ने प्रावधान भएकाले केही रकम डीपीआरमा खर्च गरी करिब ९९ लाख रुपैयाँको बजेट उपभोक्ता समितिलाई दिइयो ।


प्रदेश सरकारको सशर्त अनुदान शीर्षकको उक्त बजेट सिधै नगरपालिका कार्यालयमा आएको थियो । उपभोक्ता समितिलाई दिन योजना इस्टिमेट एक करोड भन्दा मुनि मात्र ल्याइएन कालोपत्रे गर्ने योजनालाई परिवर्तन गरी ग्राभेल हाल्ने बनाइयो । उपभोक्ताले कालोपत्रे गर्ने प्रावधान छैन् । उक्त सडक खण्ड यसअघि नै ग्राभेल भइसकेको थियो ।


कालोपत्रे गर्न आएको योजना परिवर्तन गरी फेरि ग्राभेल गर्न थालिएको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । समाजवादी पार्टीको अधिवेशन प्रतिनिधि अशोक यादव उपभोक्ता समितिका अध्यक्ष हुन् । मेयर लोकनारायण यादवका अनुसार प्रदेश सरकारबाट बजेट ढिला आएकाले टेन्डरमार्फत काम गराउने अवस्था थिएन ।


गत आवमा प्रदेश सरकारले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा दलित छात्रावास निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा उपभोक्ता समितिको लागत सहभागिता ९ लाख रुपैयाँ छ । छात्रावास निर्माणका लागि राजेश साहको अध्यक्षतामा उपभोक्ता समिति बनेको छ । साह राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का जिल्ला सचिव हुन् ।


गत आर्थिक वर्षमा छात्रावासको छतसम्म निर्माण योजना भए पनि भवनको जगमा नै सुधारको आवश्यकता देखिएपछि पूर्वाधार विकास कार्यालयका प्राविधिकले निर्माणमा रोक लगाएका थिए । पूर्वाधार विकास कार्यालयका प्रवक्ता दीपक मिश्रले बिम टेडो भएको पाइएपछि थप निर्माणमा रोक लगाइएको जनाए ।


प्रदेश सरकारले नै वीरगन्ज महानगरपालिका– ११ स्थित नेपाल राष्ट्रिय मावि परिसरमा प्रादेसिक पुस्तकालय भवन निर्माणका लागि गत वर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । पछिल्लो स्थानीय तहको निर्वाचनमा राजपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका विनोद महतो प्रादेसिक पुस्तकालय भवन उपभोक्ता समितिका अध्यक्ष बनेका छन् ।


वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले विद्यालय परिसरमा निर्माण भइरहेको प्रादेशिक पुस्तकालय महानगरपालिका कार्यालयसँगको समन्वयमा निर्माण नभएकोमा गत असार पहिलो साता असन्तुष्टि जनाएका थिए । एक कार्यक्रमका क्रममा विद्यालयमा आएका बेला मेयर सरावगीले उपभोक्ता समितिको निर्माण कार्यबारे आपत्ति जनाएपछि महतो निकटकाले मेयर माथि दुर्व्यवहार गरेका थिए ।


दुर्व्यवहार गर्ने अजय चौरसियालाई प्रहरीले ७ घन्टा नियन्त्रणमा राखेको थियो । पर्सागढी नगरपालिका– १ मनवामा ३० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको ढलानको उपभोक्ता समिति अध्यक्षमा कार्यपालिका सदस्यकै श्रीमान रहेको स्थानीयले बताएका छन् ।


उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि ०७५ मा उपभोक्ता समितिका सदस्यको योग्यतामा कुनै राजनीतिक दलको सक्रिय सदस्य नरहेको हुनुपर्ने उल्लेख छ । माथि उल्लेखित उपभोक्ता समिति प्रतिनिधिमुलक मात्र हुन् । अधिकांश उपभोक्ता समितिमा पार्टी कार्यकर्ताको हालीमुहाली छ ।


सामाजिक परिचालक धर्मेन्द्र चौरसियाले आफ्नो खास व्यक्ति/नातेदारको नाम उपभोक्तामा राखेर वडा अध्यक्ष आफैंले काम गर्ने प्रवृत्ति समेत मौलाएको जनाए । ‘पार्टीका कार्यकर्ताको हालीमुहाली छँदै छ,’ चौरसियाले भने, ‘उपभोक्ता समितिको अध्यक्ष र कोषाध्यक्ष आफ्नो मान्छे राखेर काम गराउने प्रवृत्ति समेत बढेको छ ।’ प्रदेश सरकार मातहात रहेको सहरी विकास कार्यालयमा गत वर्ष आएका ८२ योजनामध्ये ६२ योजना सम्झौता भए ।


सम्मूर्ण योजना उपभोक्ता समितिमार्फत गर्ने सम्झौता भएको कार्यालय प्रमुख सरोजकुमार गोइतले जनाए । स्रोतका अनुसार अधिकांश समितिमा पार्टी कार्यकर्ता छन् । ‘को मान्छे कुन पार्टीको को हो हामी चिन्दैनौँ,’ प्रमुख यादवले भने, ‘समिति गठनका लागि सम्बन्धित पालिकामा पठाउँछौं, उसैको सिफारिसमा सम्झौता गर्छौं ।’

प्रकाशित : श्रावण ७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?