१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय भान्सामा नेपाली तरकारी

नेपालमा उत्पादित रसिलो, स्वादिलो तरकारी निर्यात, भारतीय विषादीयुक्त आयात
रवीन्द्र उप्रेती

महोत्तरी — विषादीयुक्त भारतीय तरकारीले नेपाली बजार कब्जा गरेका बेला नेपालमा उत्पादित तरकारी पनि निर्यात हुन थालेको छ । महोत्तरीको व्यापारिक केन्द्र गौशाला बजारबाट अहिले दैनिक डेढ सयदेखि २ सय क्विन्टल तरकारी भारत निर्यात भइरहेको छ । 

भारतीय भान्सामा नेपाली तरकारी

नेपालमा उत्पादित तरकारी रसिलो, स्वादिलो र विषादीरहित भएकाले सीमापारिका बजारमा उच्च माग रहेको भारतीय व्यापारीको भनाइ छ । गौशाला बजारबाट परवल, बोडी, काउली, बन्दा कोभी, गोलभेंडा, धनियाको पात, मुला, हरियो खोर्सानीलगायतका तरकारी भारतीय बजार निर्यात हुन्छ । यहाँबाट निर्यात हुनेमध्ये परवल र बोडी मात्र महोत्तरीका उत्पादन हुन् ।


बाँकी सबै धनकुटाको हिले र मकवानपुरको हेटौंडा, टिस्टुङ पालुङलगायतका स्थानबाट आउने गरेको स्थानीय व्यापारीले बताए । ‘अहिले हिले र मकवानपुरबाट दैनिक ६ देखि ७ पिकअप (२ सयदेखि २ सय ५० क्विन्टल) तरकारी गौशाला बजार आउने गरेको छ,’ तरकारी व्यापारी रामपुकार साहले भने, ‘यसमध्ये बढीमा १० प्रतिशत मात्र यहाँ खपत हुन्छ । बाँकी सबै भारतीय बजार पुग्ने गरेको छ ।’


यहाँका तरकारी बेच्न भारतीय बजार पुग्नु नपर्ने भएकाले पनि नेपाली किसान र व्यापारीलाई सजिलो छ । ‘हामी पहाडी जिल्ला प्गुेर तरकारी संकलन गरेर ल्याउँछौं,’ गौशालाका तरकारी व्यापारी प्रमोद साहले भने, ‘उताका व्यापारी आफैं गौशाला आउँछन् । नगद तिर्छन् र बोरामा भरेर लान्छन् । हामीलाई भारत पुग्नुपर्ने झन्झट छैन ।’


विहारको सीतामढी जिल्लाका कनहमा, सुरसन्डलगायत सीतामढीसम्मबाटै दैनिक दर्जनभन्दा बढी भारतीय व्यापारी तरकारी खरिदका लागि गौशाला बजार आउने गरेको उनले बताए । बिहानै गौशालाको गुदरी बजार पुग्ने उनीहरूले मोटरसाइकलबाटै ५ क्विन्टलसम्म तरकारी ओर्साछन् । कसैले दिनको दुई तीन पटकसम्म ओसार्ने गर्छन् ।


सिमसिम पानी परिरहेकै बेला तीन जनासाथ मंगलबार बिहान गौशाल बजार पुगेका भारत सुरसन्डका तरकारी व्यापारी सोनुका अनुसार भारतीय भान्सामा पहिलेदेखि नै नेपाली तरकारी पुग्दै आएको थियो । गत सातादेखि उत्तरी विहार वर्षा, बाढी र डुबानको चपेटामा परेदेखि नेपाली तरकारीको खपत झन् बढेको उनले बताए । ‘यताका तरकारी स्वादिलो, रसिलो त छँदैछ । कीटनाशक पनि नभएकाले नेपाली तरकारी भारतीय ग्राहकको रोजाइमा परेको हो,’ सोनुले भने, ‘बाढी र डुबानका कारण यताको तरकारी नगए निस्तो खाना खानुपर्ने हुँदा अहिले झन् माग बढेको हो ।’


पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमा जोडने माइस्थान–गौशाला–समसी सडका यसै वर्ष कालोपत्रे भएकाले पनि व्यापारीलाई नेपाली उत्पादन भारतीय बजार पुर्‍याउन सहज भएको छ । सडक कालोपत्रे भएदेखि कतिपय भारतीय व्यापारी किसानको खेतमै पुगेर तरकारी किन्ने गरेका छन् ।


भारत खपत बढ्न थालेपछि यहाँ थप रोजगारी सिर्जना हुनुका साथै व्यापार प्रवर्द्धनमा योगदान पुगेको व्यापारीको भनाइ छ । भारतमा नेपाली तरकारीको माग बढदै गएपछि स्थानीय ६/७ जना व्यापारीले हिले र मकवानपुरसम्म व्यापार विस्तार गर्ने अवसर पाएका छन् । तरकारीको कारोबार बढ्न थालेपछि हाट नलाग्ने दिन पनि गौशाला गुदरी बजारमा कारोबार बढेको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?