१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

६ सय १ किशोरी विद्यालय भर्ना

पर्सा — विभिन्न कारणले विद्यालयको पहुँच बाहिर रहेका ६ सय १ किशोरीलाई यस वर्ष विद्यलाय भर्ना गरिएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले वीरगन्ज महानगरपालिका वडा नं २९, ३० र ३१ का विद्यालय जान छोडेका, कमजोर आर्थिक अवस्थाका तथा अन्य कारणले विद्यालयको पहुँच बाहिर रहेका किशोरीहरूलाई विद्यालयसँग जोडेको हो । 

ती वडामा सञ्चालित किशोरी संवाद कार्यक्रम मार्फत यस्तो सफलता हासिल भएको संस्थाका संवाद अधिकृत प्रकाश पाण्डेले बताए । ‘ती वडामा सञ्चालित किशोरी संवाद कार्यक्रममा किशोरीहरू आपसमा छलफल गर्ने र आफ्ना तथा छरछिमेकका किशोरीहरूले भोगी रहेको समस्याहरूको निकासको बाटो खोज्ने प्रयास गर्छन्,’ उनले भने, ‘उनीहरू भेला भएर संवाद कार्यक्रममा आआफ्ना अनुभव, भोगाई, समस्या आदि बारे छलफल मात्र गर्दैनन्, आपसमा छलफल गरी एक अर्काको समस्या र गुनासाहरू समाधानको सुझाव दिने र त्यसका लागि सामूहिक प्रयास पनि गर्छन्, यति धेरै संख्यामा एक साथ किशोरीहरू विद्यालयसँग जोडिनु पनि संवादकै उपलब्धि हो ।’


शारदा माबि भेडियाही, नेरा आधारभूत मावि रतनपुर, नेरा आधारभूत मावि मुसैली, नेरा आधारभुत माबि बसडिल्वा, नेरा आधारभूत मावि बेल्वाप्रसौनी, रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर, लक्ष्मी देवी बाबुलाल हंसबाहिनी आधारभूत विद्यालय कोनिया, नेरा आधारभूत विद्यालय लालपर्सा र नेरामावि सोलखपुरमा भर्ना गरिएको हो ।


भर्ना गरिएका छात्राहरूमा दलित, जनजाति, मुस्लिम, पिछडावर्गका बढी छन् । गत वर्ष पनि यसरी नै १ सय ३८ छात्रालाई विद्यालय भर्ना गरिएको थियो । भर्ना अभियान सफल बनाउन संस्थाले सडक नाटक, घरदैलो अभियान तथा विद्यालयहरूसँग सहकार्य समेत गरेको थियो । विद्यालय भर्ना भएका सबै छात्राहरूलाई व्याग, कपि, पेन, पेन्सिल आदि संस्थालने निःशुल्क उपलब्ध गराएको पाण्डेले बताए ।


आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार भएका तथा बिगतमा खुलेर बोल्न नसक्ने, संकोच मान्ने र आआफ्ना पीडाहरू गुम्साएर राख्ने किशोरीहरू संवाद कार्यक्रममा सहभागी हुन थालेपछि निर्धक्कका साथ आआफ्नो समस्या राख्न सक्ने भएका छन् । उनीहरूको नेपाली भाषामा पनि राम्रो दख्खल हुँदै गएको छ ।


बाल तथा किशोरी अधिकारका कुराहरू बारे उनीहरू जानकार हुँदै गएका छन् । युरोपियन युनियनको सहयोग, चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा सन् २०१८ देखि वीरगन्ज महानगरका वडा नं २९, ३० र ३१ मा संस्थाले किशोरी संवाद कार्यक्रम सन्चालन गरी रहेको छ । ३ वडामा गरी विभिन्न किशोरी संवाद समूहमा ४ सय किशोरी आबद्ध छन् ।

प्रकाशित : श्रावण ९, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?