१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्ज नाकाबाट व्यापार घाटा कम

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकाबाट व्यापार घाटा कम भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात बढेकाले व्यापार घाटा केही कम भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

वीरगन्ज नाकाबाट व्यापार घाटा कम

गत आवमा यो नाका हुँदै ५ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १२ दशमलव ९६ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा ५ खर्ब १६ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।


यो नाका हुँदै सर्वाधिक आयात हुने वस्तुमा नयाँ सवारी साधन, इन्धन, कोइला, एमएस बिलेट, एचआरसिट, भटमासको कच्चा तेल, औषधि, पाम कच्चा तेल, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, विद्युतीय उपकरण आदि आयात हुन्छन् । बढी आयात भारतबाटै हुने गर्छ । गत आवमा सवारी साधनको आयात घटेकाले समग्र आयात घटेको हो ।


भन्सार कार्यालयले गत आवको सवारी साधन आयातको तथ्यांक तयार पारी नसके पनि वैशाखदेखि यसको आयात घटेको कार्यालयका सूचना अधिकृत मनीष महतो बताउँछन् । राजस्वमा सर्वाधिक योगदान दिने वस्तुकै आयात घटेपछि त्यसले समग्र आयात घट्न जान्छ । सवारी साधनको आयात घटदा राजस्व असूली समेत प्रभावित हुन जान्छ ।


सामान्यतया यो नाकाबाट जिप, कार, भ्यान र मोटरसाइकल जस्ता सवारी साधनको आयात घटेको हो । जिप, कार, भ्यानमा औसत मूल्यको २ सय ५० प्रतिशतसम्म भन्सार शुल्क लाग्छ । मोटरसाइकलमा १ सय ५० प्रतिशतसम्म भन्सार शुल्क लाग्छ ।


निर्यात तर्फको तथ्यांक हेर्दा गत आवमा यो नाका हुँदै २५ अर्ब १८ करोड रुपैयाँ बराबरको निकासी भएको छ । अघिल्लो आवमा १४ अर्ब ५९ करोड रुपैयाँ बराबरको निकासी भएको थियो । तुलनात्मक रुपमा गत आवमा अघिल्लो आवको भन्दा निकासीको फरक प्रतिशत ७२ दशमलव ५८ प्रतिशत रहेको छ ।


वीरगन्ज नाकाबाट निकासी हुने प्रमुख वस्तुमा जुस, जाम, च्यवनप्रास, पाइप, पाम आयल, गलैंचा आदि छन् । गत आवमा भारततर्फ पाम आयल र भटमासको तेलको निकासी हुन थालेपछि समग्रमै निकासी बढेको महतोले जानकारी दिए । भारतले आयात रोकेकाले अघिल्ला वर्षहरूमा नेपालबाट भारत तर्फ यी तेलको निकासी रोकिएको थियो ।


गत आवमा भारतले पाम आयलको आयातमा लगाएको रोक फुकुवा गरेकाले नेपालबाट भारत तर्फ यो तेलको निकासी सुरु भएको हो । ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डानेसिया लगायतका मुलुकबाट पामको क्रुड आयल (कच्चा तेल) आयात गरेर त्यसलाई प्रशोधन गरी नेपालमा खाद्यान्न तेल उत्पादन गरिन्छ ।


उद्योगी हरि गौतम कुनै पनि वस्तुको निकासीले व्यापार घाटा कम हुनु सकारात्मक भए पनि भारतले पुनः आफ्नो मुलुकमा त्यस्ता वस्तुको आयातमा रोक लगाए लगत्तै व्यापार घाटा पुरानै स्थितिमा आउने सम्भावना सधै रहने बताउँछन् । ‘यो स्थितिको अन्त्य हुनुपर्छ, तेस्रो मुलुकबाट आयातित वस्तुलाई प्रशोधन गरी निकासी गर्दा निकासी बढेको खुसी मान्नु साटो स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरेर त्यसको निकासीलाई प्रोत्साहित गर्नु आवश्यक छ,’ उनले भने ।

प्रकाशित : श्रावण १०, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?