कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रोकिएन भारतीय अन्डाको तस्करी

रवीन्द्र उप्रेती

महोत्तरी — सरकारले भारतीय अन्डा र कुखुरालगायत पंक्षीजन्य वस्तुको आयातमा रोक लगाए पनि दक्षिणी सीमासँग जोडिएको महोत्तरीका विभिन्न नाकाबाट मुख्यतः सेतो अन्डा भित्रिने क्रम रोकिएको छैन । भारतीय कुखुरा र चल्लाको तस्करीले पनि बेलाबेला चर्चा पाउने गरेको छ ।

रोकिएन भारतीय अन्डाको तस्करी

नेपाली सीमासँग जुटेको उत्तरी विहार वर्ड फ्लुको उच्च जोखिममा रहेकाले सरकारले त्यहाँबाट पंक्षिजन्य वस्तुको आयातमा रोक लगाएको हो । यसलाई कार्यान्वयन गर्न नाकामा कडाई गरेको सुरक्षा निकायको दाबी छ ।


तर सीमावर्ति बजारबाट सेतो अण्डाको तस्करी नरोकिएको स्थानीय कुखुरा पालक किसानले जिकिर गर्दै आएका छन् । जिल्ला सदरमुकाम जलेश्वर, मटिहानी, समसी, गौशालालगायत हाट बजार भारतीय अण्डाले भरिएका छन् । भारतीय अण्डाले प्रदेश २ को राजधानी जनकपुरका बजारमासमेत कब्जा जमाएको छ । यसले नेपाली अन्डाको मूल्य र माग घटाउँदै लगेको कुखुरा व्यवसायीको गुनासो छ ।


‘भारतीय अन्डाको हस्तक्षेपले नेपाली आन्डा उत्पादन घाटाको खेती भएको छ,’ बर्दिवास ५ स्थित चेरुका कुखुरा व्यवसायी अर्जुन गोलेले बताए । ‘अहिलेको भाउमा लागत पनि उपर हुँदैन, प्रति गोटा एकदेखि डेढ रुपैयाँसम्म घाटा छ ।’


गोलेको सातधारा पोल्ट्री फर्ममा दैनिक २ हजार ५ सय अण्डा उत्पादन हुन्छ । फाइदा भएको भए पोल्ट्री विस्तार गर्दै लैजाने उनको सोच थियो । घाटा लाग्न थालेपछि व्यवसायबाट निराश देखिन्छन् । उनले कुखुरा पालनको विकल्प खोज्न थालेको बताए । थोक व्यापारीले नेपाली अण्डाको प्रति गोटा मूल्य साढे ८ रुपैयाँ मात्र तोकेकाले लागत पनि उपर हुन छाडेको दुखेसो गरे ।


नेपाली र भारती आन्डाबीचको मूल्य अन्तरले तस्करी बढाएको व्यापारीले बताए । फरक मूल्यकै कारण नेपालीभन्दा भारतीय अन्डा उपभोक्ताको रोजाईमा पर्ने गरेको उनीहरूको भनाई छ । अहिले जलेश्वर पारिको भिट्ठामोड बजारमा सेतो अन्डाको मूल्य प्रतिगोटा ८ (भारु ५ रुपैयाँ) मात्र पर्छ । नेपाली अन्डाको मूल्य प्रति गोटा १५ रुपैयाँ छ ।


‘दर्जनमै पनि नेपाली अन्डाको १ सय ६० रुपैयाँ पर्छ भने ३ किमि पारिका बजारमा सेतो अन्डा नेपाली सय रुपैयाँ (भारु ६०) पनि पर्दैन,’ जलेश्वरका अन्डा व्यापारी रियाज अन्सारीले बताए । ‘दर्जनमा ५०/६० रुपैयाँको फरक परेपछि नेपालीको तुलनामा भारतीय अन्डाको माग र खपत बढने नै भयो ।’


सीमा नाकामा कडाई गरेको प्रहरीको दाबी छ । उनीहरूले विभिन्न नाकाबाट सेतो अण्डालगाएत पंक्षिजन्य वस्तु पक्राउ गरेको लामो फेहरिस्त पनि देखाउने गरेका छन् । एक दिनअगि मात्र मटिहानीबाट तस्करी भई आउँदै गरेको २४ केरेट (७ सय २० गोटा) सेतो अन्डा नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।


केही दिनअगि सशस्त्र प्रहरीको समसी, मटिहानी र जलेश्वरलगायतका बोर्डर आउट पोस्टले भारतबाट तस्करी भइआएका ३ हजार ६ सय सेतो अन्डा, ११ कार्टुन सोतो अन्डा र २७ थान हुर्केका कुखारा नियन्त्रण लिएको थियो । तर पनि नेपाली बजारमा भारतीय अन्डा छ्यापछ्याप्ति पाइनुले ‘सीमा नाकाको कडाई’ प्रति विविध प्रश्न खडा गरेको स्थानीयको भनाई छ ।

प्रकाशित : श्रावण १२, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?