कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धनुषामा रोकिएन तस्करी

श्यामसुन्दर शशि

जनकपुर — सीमा नाकामा सशस्त्र र जनपथ प्रहरीको दर्बिलो उपस्थिति रहेपनि धनुषामा भने अवैध मालसामान आयात/निर्यात रोकिएको छैन । तस्करहरुले आफ्नो सुविधा अनुसार रुट परिवर्तन गर्दै तस्करीलाई निरन्तरता दिँदै आएका छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले दक्षिण सीमामा अवस्थित मुखियापटी मुसरनिया गाउँपालिका ५ जमुनिघाटस्थित सुरेश यादवको घरबाट भन्सार छली ल्याएका ५४० थान आईटेल कम्पनीका मोबाइल बरामद गरेपछि अवैध मालसामान आयात भइरहेको पाइएको हो ।


प्रहरीको सोही टोलीले मुखियापट्टी मुसहरनियाा गाउँपालिका-५ जमुनिघाटबाटै भारततर्फ निकासी गर्दै गरेको १२ कार्टुन सोफी तथा अन्य ब्राण्डका गरी २९ कार्टुन रक्सी समेत बरामद गरेको छ । नेपालमा उत्पादन भएको उक्त मदिरा भारततर्फ लग्दै गरेको अवस्थामा भारतको मधुबनी फुलहरवेला पर्सा बस्ने १७ वर्षीय राज किशोर मुखिया र सोही गाउँ बस्ने १६ वर्षीय जयराम मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष टोली, इलाका प्रहरी कार्यालय फुलगामा, सीमा प्रहरी चौकी लगमाजटही र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त टोलीले अवैध रक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । बरामद गरिएका मोबाइल तथा रक्सी भन्सार कार्यालय बुझाउने प्रक्रिया सुरु गरिएको प्रनाउ कार्कीले जानकारी दिए ।


रक्सी र मरीच जस्ता सामानहरू भारततर्फ तथा लत्ताकपडा, इलेक्ट्रिक सामान, प्रतिबन्धित औषधी, खाद्यान्न, मेसिनका पार्ट पुर्जा लगायतका सामान भारतबाट नेपालतर्फ चोरी पैठारी गर्ने ठुलै समूह यहाँ सक्रिय छन् । स्थानीय, सशस्त्र र जनपथ प्रहरीसँगको मिलेमतोमा सञ्चालित यो अवैध धन्दा बाढीको बेला रोकिएपनि सडक खुल्ला भएसँगै पुनः सञ्चालनमा आएको छ ।


पछिल्लो समय मुखियापटी मुसरनिया नाका तस्करहरुका लागि सजिलो गन्तव्य बनेको छ । तीन महिनाअघि यही नाकामा मदिरा निकासी गर्दै गरेका तस्कर र प्रहरीबीच भिडन्त नै भएको थियो । त्यसबेला तस्करहरुले प्रहरीको हतियार खोसेका थिए । हतियार पछि भेटिएको थियो ।

प्रकाशित : श्रावण १३, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?