३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्मचारी हाजिर हुन मेयरले रोके

सन्तोष सिंह

धनुषा — समान्य प्रशासन मन्त्रालयले अनुदान रोक्ने चेतावनी दिए पनि स्थानीय तहले समायोजनमा खटिएका कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हाजिरी गराउन मानिरहेको छैन ।

जनकपुरधाम उप–महानगरपालिका मेयर लालकिशोर साहले शिक्षा शाखामा समायोजन भएर खटिएका शाखा अधिकृत धीरेन्द्रलाल कर्णलाई आइतबारदेखि हाजिरी हुनबाट रोकेको छ । प्रमुख प्रशासकीय अधिकृत सीता परियारले कर्णलाई हाजिरी गराउन तोक लगाए पनि मेयर साहको निर्देशनमा समायोजन पत्र कार्यालयमा दर्ता गर्न रोकेपछि शाखा अधिकृत कर्ण अन्योलमा छन् ।


अधिकृत कर्ण ललितपुरको गोदावरी नगरपालिकाबाट जनकपुरधाम उप महानगरपालिकामा समायोजन भएका हुन् । ‘प्रशासकीय प्रमुखले तोक लगाएको पत्र लिएर दर्ता फाँटमा पुग्दा मेयरको आदेश भन्दै दर्ता गर्न मानेन्न,’ अधिकृत कर्णले भने, ‘मेयर साहले कार्यालयमा कर्मचारी आवश्यक नरहेको भन्दै फिर्ता जान भने । फिर्ताका लागि पत्र दिए पनि मेयरले त्यसमा हस्ताक्षर गर्न

मानेका छैनन् ।’


उपमहानगरको शिक्षा शाखामा उप–सचिवको नेतृत्वमा तीनजना अधिकृतसहित ७ कर्मचारीको दरबन्दी छ । तर अहिले त्यहाँ २ जना कर्मचारी मात्र कार्यरत छन् ।


जनकपुर उप–महानगरपलिकाको कार्यालयमा अधिकृत कर्णजस्तै समायोजन भएर आएका कार्यालय सहयोगी रामसकल साहलाई पनि हाजिरी गर्नबाट रोकिएको छ । कार्यालय सहयोगी पदमा समायोजन भएर जनकपुर उपमहानगरमा सरुवा भएका साह हाजिरी गराउन २० दिनदेखि धाउँदै छन । मेयर साहको आदेशमा समायोजन भएर आएका कर्मचारीको पत्र दर्ता गर्न रोकिएको दर्ता फाँटका नायव सुब्बा बद्रिनाथ बगालले बताए ।


कार्यालयलाई आवश्यक कर्मचारीलाई हाजिरी गराएको र राजनीति दलको दबाब र प्रभावमा आएका कर्मचारीलाई हाजिरी गर्न रोकेको मेयर साहले स्विकारे । ‘अवकाश हुने बेलामा राजनीति स्वार्थ पूरा गर्न समायोजनमा आएका कर्मचारी हाजिरी गरेर बेपत्ता हुन्छन्,’ मेयर साहले भने, ‘कर्मचारीको हाजिरी मात्रै गराएर के गर्ने । बसेर काम गर्ने ठाउँ पनि छैन ।’ यस अघि पनि जनकपुरधाम उपमहानगरको शिक्षा शाखा प्रमुखमा सरुवा भएर आएका उपसचिव उमेशलाल कर्णलाई हाजिरी हुनबाट मेयर साहले रोकेका थिए । मेयरले हाजरी हुन नदिएपछि प्रदेशको सामाजिक विकास मन्त्रालय गएका कर्ण अहिले क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत छन् ।


कर्ण कांग्रेससँग निकट रहेको भन्दै मेयर साहले हाजिरी हुन रोकेका हुन् । आफनै पार्टी निकट भए काम गर्न सजिलो हुने भन्दै कर्मचारीलाई हाजिरी हुनबाट मेयरले रोकेको पीडित कर्मचारीको आरोप छ । पत्र लिएर हाजिरी हुन आएका कर्मचारीलाई मेयरले महिना दिनसम्म उपमहानगरमा धाउन लगाएर फर्काउने गरेका छन् ।


समायोजनमा परेका कर्मचारी हाजिरी नहुँदा स्थानीय तहमा काम गर्न समस्या भएको आरोप लागिरहँदा जनकपुरधाम उपमहानगरले कर्मचारीलाई हाजिरी हुनबाट रोक्न थालेका छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?