२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जबरजस्ती कर असुली

ओमप्रकाश ठाकुर

(सर्लाही) — जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित गोरु बजार ठेक्काको सम्झौता नै नगरी एक ठेकेदार कम्पनीले गैरकानुनीरूपमा कर उठाउन थालेको छ । ठेकेदार कम्पनीले नगरपालिकाको छापको समेत दुरुपयोग गर्दै गोरु ओसारपसार गर्ने व्यवसायीसँग जबरजस्ती कर संकलन थालेको हो ।


लालबन्दी नगरपालिका कार्यालयले ठेक्काका लागि प्रकाशित सूचना अनुसार परेका चारवटा टेन्डर गत असार २६ गते खोलिएको थियो । नवलपुर गोरु बजारमा आर्थिक वर्ष ०७६/७७ मा कर संकलनका लागि परेका गोप्य सिलबन्दी टेन्डरमध्ये बाबा सहलेस निर्माण सेवाले सबैभन्दा बढी १ करोड ३ लाख, मैत्रीय कन्ट्रक्सन लालबन्दीले ८४ लाख, पासवान कन्ट्रक्सन लालबन्दीले ६९ लाख र किरण निर्माण सेवा लालबन्दीले ५६ लाख भरेको थियो । नगरपालिका कार्यालयले सबैभन्दा बढी बोलकबोल गर्ने ठेकेदार कम्पनीलाई सात दिनभित्र सम्झौता गरेर पट्टा लिन आउनु भन्दै असार ३१ गते आशय सूचना प्रकाशित गरेको थियो । तर, सूचना प्रकाशित भएको २० दिन बितिसक्दा समेत उक्त ठेक्कामा सम्झौता नै भएको छैन ।


सबैभन्दा बढी बोलकबोल गर्ने ठेकेदार सात दिनभित्र सम्झौता गर्न नआए स्वत: दोस्रो ठेकेदारलाई बोलाउनु पर्ने प्रवधान रहे पनि नगरपालिका कार्यालयले उदासिनता देखाएको उक्त ठेक्कामा दोस्रो बोलकबोल गर्ने मैत्रीय कन्ट्रक्सन लालबन्दीका सञ्चालक राजु योञ्जनले गुनासो गरे । ‘नगरपालिकाले ठेक्का सम्झौता गर्न सबैभन्दा बढी बोलकबोल गर्ने कम्पनीलाई सात दिनभित्र बोलाए पनि २० दिनसम्म सम्झौता नै गरिएको छैन’, योञ्जनले भने, ‘पहिलो ठेकेदार तोकिएको मितिभित्र नआए स्वत: दोस्रो सकार गर्ने कम्पनीलाई बोलाउनु पर्नेमा कार्यालय मौन छ ।’ योञ्जनले नगरपालिका कार्यालय नेतृत्वको मिलेमतोमा सम्झौता नै नगरी नगरपालिकाको छाप समेत दुरुपयोग गर्दै जबर्जस्ती गोरु बजारमा कर संकलन गरिरहेको आरोप लगाए ।


नवलपुर बजारको मात्र ठेक्का भएकाले त्यहाँ किनबेच भएका गोरुमा मात्र कर लिन पाउने भए पनि ठेकेदार कम्पनीले गोरु लोड गरेर पश्चिमबाट पूर्व हिँडेका सबै ट्रकलाई नियन्त्रणमा लिई दादागिरी शैलीमा गैरकानुनी ढंगले कर असुल्न थालेको व्यापारीहरूले गुनासो गरेका छन् । नगरपालिका कार्यालय, स्थानीय प्रहरी प्रशासनलाई अवैध कर असुलीबारे जानकारी गराइए पनि कुनै सुनवाई नभएको योञ्जनको गुनासो छ । ‘दादागिरी शैलीमा अवैध कर असुली भइरहेको भनेर नगरपालिका कार्यालय र प्रहरी प्रशासनमा जानकारी गरायौं तर सुनवाई भएन, सबैको सेटिङमा अवैध कर असुली भइरहेको बुझेको छु,’ उनले भने, ‘कार्यालयको छाप दुरुपयोग गरी कर असुली हुँदा समेत नगरपालिका मौन बसेको छ ।’ अवैधरूपमा संकलन गरिएको करमा बरहथवाका एक गोरु तस्कर पनि संलग्न रहेको व्यापारीहरूको भनाई छ ।


नवलपुरस्थित गोरु बजारमा कर असुलीका लागि ठेक्का सम्झौता नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए । नगरपालिकाको छाप दुरुपयोग गरेर कर असुली गरेको फेला परे कानुनी कारबाही गरिने न्यौपानेको भनाइ छ । ‘गोरु बजारको ठेक्का सम्झौता भएको छैन, सम्झौता नै नभएको ठेक्कामा कर उठाउन पाउँदैन,’ उनले भने, ‘नगरपालिकाको छाप दुरुपयोग गरेर कर असुली गरेको फेला परे कानुनी कारबाही गर्छौं ।’ उनले अवैधरूपमा कर उठाएको बारेमा आफूलाई जानकारी नआएको बताए ।


सबैभन्दा बढी बोलकबोल गर्ने ठेकेदार कम्पनीले नगरपालिका कार्यालयको खातामा कबोल सबै रकम जम्मा गरेपछि मात्र सम्झौता गर्नेगरी प्रकृया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । दोस्रो कबोल गर्ने ठेकेदारलाई ठेक्का दिँदा नगरपालिकालाई झन्डै २० लाख कम आम्दानी हुने भएको र पहिलो ठेकेदारले आधाभन्दा बढी रकम खातामा जम्मा गरिसकेकाले केहीदिन भित्रै सम्झौता हुने न्यौपानेले जानकारी दिए ।


यता बाबा सहलेस निर्माण सेवाका सञ्चालक सुरेन्द्र पासवानले अवैध कर असुली नगरिएको दाबी गरे । पासवानले नगरपालिकाले नै अमानतमा कर संकलन गरिरहेको जानकारी गराए । ‘सम्झौता नभएकाले हामीले कर संकलन गरेका छैनौं, नगरपालिकाले अमानतमा उठाएको सुनेको छु,’ उनले भने, ‘ठेक्काको सम्झौता प्रकृयामा हामी छौं, सम्झौता भएपछि मात्र हामीले कर संकलन गर्छौं ।’ ठेकेदारले आफूले कर संकलन नगरेको दाबी गरिरहँदा कर संकलन रसिदमा भने ठेकेदार कम्पनीको नाम उल्लेख छ ।


प्रकाशित : श्रावण १९, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?