हराएको ६ वर्षपछि घर

कान्तिपुर संवाददाता

पर्सा — भारत बिहारको बेतियास्थित बाल कल्याण गृहमा आश्रित पर्सा ठोरीका १८ वर्षीय किशोर प्रेम परियार ६ वर्षपछि स्वदेश फर्केका छन् । वीरगन्जका सामाजिक अभियन्ता प्रकाश थारू र प्रेमकी आमा विष्णुमाया बेतिया पुगेर प्रेमलाई फर्काई ल्याएका हुन् । 

थारू तथा जनकपुरका सामाजिक अभियन्ता सरोज राय समेतको झन्डै ६ महिनादेखिको प्रयासपछि प्रेमको स्वदेश फिर्ती तथा आमासँग भेट सम्भव भएको हो । ५ महिना अघि थारू र राय बेतिया पुगेर विष्णुमायालाई छोरा प्रेमसँग भेटाएका थिए । त्यति बेला उनीहरूबीच ५ वर्षपछि भेट भएको थियो । त्यति बेला भारतको बिहार सरकारको समाज कल्याण विभागबाट प्रेमलाई फिर्ता पठाउने स्विकृति अनिवार्य भएकाले उक्त स्विकृतिको कागजी प्रकृया मिलाउन ५ महिना समय लागेको अभियन्ता थारूले बताए ।

आमासहित स्वदेश फर्केका प्रेमले अब गाउँमै बसेर रोजगारी गर्ने र कहिल्यै बरालिएर नहिँड्ने बताए । ४ कक्षासम्म मात्र पढेका उनले त्यति बेला आफू पारिवारिक किचलोका कारण दिक्क लागेर भागेको बताए । ५ वर्षअघि घरबाट निस्किएपछि उनले भारतको हरियाणामा इँटाभठ्ठामा मजदुरी गरेको बताए । त्यहाँबाट मुम्बई आए लगत्तै प्रहरीले उनलाई स्थानीय एक उद्योगमा मजदुरी गरिरहेको अवस्थामा फेला पारेर स्थानीय बाल कल्याण गृहको जिम्मा लगाएको थियो ।

गृहमा प्रेमलाई भेटेका भारत सिक्किमका सामाजिक अभियन्ता राजु नेपालीले उनको बारेको सूचना आफ्नो सामाजिक सन्जालमा पोष्ट गरेका थिए । राजुका सामाजिक सन्जाल साथी जनकपुरका सरोज रायले उक्त सूचना देखेपछि पर्साका अभियन्ता प्रकाश थारूलाई खबर गरे । थारूले प्रेमको घर, ठेगाना तथा अभिभावक समेत पत्ता लगाई प्रेमलाई फर्काउन आवश्यक पहल गरे ।

मुम्बई प्रहरीले प्रेमलाई उनको नेपालको घरको नजिकको पायक पर्ने भन्दै बिहारकै सितामढी बाल कल्याण गृहको जिम्मा लगाएको थियो । तर उक्त गृहभन्दा बेतियाको गृह झन पायक पर्ने भएपछि उनलाई बिहार प्रहरीले ७ महिना अघि बेतिया बाल कल्याण गृहको जिम्मा लगाएको थियो ।

प्रेमकी आमा विष्णुमायाले करिब ६ वर्षअघि पति सुशिन्द्र अर्की पत्नी ल्याएर रोजगारीका लागि भारत छिरेपछि पतिसँगको आफूहरूको सम्पर्क टुटेको बताइन् ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाइपलाइनका लागि काटिएका रूख पुनर्निर्माणमा

कान्तिपुर संवाददाता

पर्सा — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि काटिएका पर्सा राष्ट्रिय निकुञ्जका रूख पुनर्निर्माणमा प्रयोग गरिएका छन् । काष्ठमण्डप पुनर्निर्माण, भूकम्प प्रभावितको घर पुनर्निर्माणमा ती काठ प्रयोग भइरहेका छन् । 

टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले उक्त काठको व्यवस्थापन गरिरहेको छ । शाखा प्रमुख सुमन सिंहका अनुसार भूकम्पले क्षतिग्रस्त राजधानीस्थित काष्ठमण्डप मन्दिर, भूकम्प प्रभावितका घर पुनर्निर्माणमा प्रयोग भइरहेको छ ।

यसबाहेक स्थानीय मध्यवर्ती सामुदायिक वनलाई पनि ती काठ भागबण्डा गरिएको छ । परियोजनाका लागि कुल ६ हजार ५ सय ६३ रूख र त्यस अतिरिक्त पातला रूख (पोल) काटिएका थिए । १० इन्च डायमिटरभन्दा पातला रूखलाई पोल भनिन्छ । यो सामान्यतया झ्यालढोका तथा फर्निचर निर्माणमा उपयोगी हुँदैन ।

६ हजार ५ सय ६३ रूखबाट ३४ हजार क्युफिट काठ र २ सय ६२ चट्टा काठ निस्किएको सिंहले बताए । काठमध्ये करिब १७ हजार क्युफिट काठ राधाकृष्ण र भीमेश्वर सामुदायिक वनलाई दिइएको छ । यसबाहेक २ हजार ३ सय क्युफिट काठ काष्ठमण्डप पुनर्निर्माणका लागि उपलब्ध गराइएको छ । टिसिएनको हेटौंडास्थित चिरानमा काठ चिरेर काष्ठमण्डपलाई काठ उपलब्ध गराइएको सिंहले बताए । बाँकी काठ भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा प्रयोग भइरहेको छ ।

काठ बाहेकका दाउरा पनि सामुदायिक वन उपभोक्ता समितिलाई वितरण गरिएको छ । ४५ चट्टा दाउरा पर्सा, २० चट्टा बाराका उपभोक्तालाई बितरण गरिँदैछ । ३५ चट्टा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ । एक सय चट्टा पशुपति आर्यघाटमा दाह संस्कार प्रयोजनका लागि उपलब्ध गराइँदैछ ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT