२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

समातियो खसीबाख्रा खाने गोही

अवधेशकुमार झा

राजविराज — एक सातादेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियामा आतंक मच्चाउने गोहीलाई नियन्त्रणमा लिएको छ । 
गोही पाँचफिटको रहेको सप्तरीका एसपी मनोज यादवले बताए । 

योगिनियाको वैष्णेदेवी मन्दिर र कोसीको पूर्वी तटबन्धभन्दा पूर्व रहेको पोखरीमा कोसीको बाढीसँगै आएको दुईवटा गोहीमध्ये एउटालाई मात्र नियन्त्रणमा लिन सकिएको हो । अर्को गोही भने सोही पोखरीमै रहेको छ ।


एकसातादेखि योगिनिया क्षेत्रका स्थानीयहरू खसीबाख्रा लिएर कोसीको पलार तर्फ जाँदा दुवै गोहीले ती खसीबाख्रा निल्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । सातदिनमा एक दर्जनभन्दा बढी बाख्रा ती गोहीले खाएको उनले बताए ।


बस्ती नजिकै पोखरी रहेकाले स्थानीय बासिन्दाहरूलाई गोहीका कारण हिँडडुलमा समेत समस्या भएपछि योगिनिया क्षेत्रमा आतंक नै फैलिएको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाले आइतबार बिहानै ठूलो जाल ल्याएर स्थानीय तथा प्रहरीको सहयोगमा पोखरीबाट दुवै गोही नियन्त्रणमा लिन प्रयास गरे पनि आइतबार दिउँसोसम्म सम्भव हुन सकेको थिएन । गोही नियन्त्रणमा लिनका लागि बिहानैदेखि नगरप्रमुख शैलेशकुमार साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक मनोज यादव सहितको टोली उक्त स्थानमा रहेका थिए ।


दिउँसो कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले पोखरीबाट केही पानी बाहिर निकाली एउटालाई साझ नियन्त्रणमा लिन सफल भएको हो ।


साँझ परिसकेकाले अर्को गोही खोज्ने कार्य गर्न नसकिएको तथा पोखरीभित्रै रहेको अर्को गोहीलाई नियन्त्रणमा लिने प्रयास गरिने एसपी यादवले बताए । नियन्त्रणमा लिईएको गोहीलाई कोसी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको छ । उक्त गोही आरक्षकै संरक्षित क्षेत्रमा छोडिने एसपी यादवले बताए । अर्को गोही पोखरीमै रहेका कारण स्थानीयवबासी त्रसित छन् ।


नगरपालिकालाई सावालाख घाटा

गोही पोखरीमा पसेका कारण हनुमाननगर कंकालिनी नगरपालिकालाई १ लाख २५ हजार रुपैयाँ घाटा भएको छ ।


नेयर शैलेशकुमार साहका अनुसार गोहीले स्थानीयका बाख्राबाख्री मात्रै खाएनन् नगरपालिकाको स्वामित्वको उक्त पोखरीभित्र रहेका माछा समेत खाएको तथा नियन्त्रणमा लिने क्रममा पोखरीको पानी बगाउनुपरेकाले पोखरीका ठेकेदारलाई एक वर्ष १ लाख २५ हजार रुपैयाँ छुट दिनुपरेको छ । उनले गोही नियन्त्रणका लागि वन कार्यालय र आरक्षले समयमै जिम्मेवार नहुँदा नगरपालिकालाई

ठूलो घाटा बेर्होनुपरेको बताए ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?