रौतहट — असार अन्तिमको बाढीले खोलाको डिलैमा रहेको झुपडी डुबानमा पर्यो । ६२ वर्षीय इनरदेव राम गाउँबाट निकालामा परेपछि त्यही झुपडीमा आश्रय लिइरहेका छन् ।
बाढीको बेला मानिसको कोकोहोला सुनेर उनी झुपडीबाहिर निस्कँदा चारैतिर जलमग्न देखे । झुपडीबाट पानीको भेल बग्न थाल्यो । खोलाको तटबन्धमा झरीमा रुझ्दै रामले त्यति बेला ज्यान जोगाए ।
रौतहटको परोहा नगरपालिका ५ नमनगरा टोलका रामलाई कुष्ठरोगी लागेपछि गाउँ निकाला गरिएको छ । ‘रातिको समय कता जानु । जताततै पानी नै पानी थियो,’ उनले भने, ‘बाँचिन्छजस्तो लागेको थिएन । नहरको डिल भएर धन्न जोगिएँ ।’ चैत–वैशाखमा आएको हावाहुरी, असिना पानीको पीडाबाट उम्केका राम डुबानले झनै त्रासमा परेको सुनाउँछन् ।
शरीरमा लागेको कुष्ठरोग निको भए पनि लामो समयको नहरको उनको बास टुंगिएको छैन । कृष्ठरोगी भएकै कारण उनी गाउँबाट दुई पटक निकालामा परे । रोग निको भए पनि गाउँलेहरू उनलाई स्विकार्न सकेको छैन । त्यसैले उनको बसाइ कष्टकर बनेको छ । रामलाई समाजमै बस्न मन छ । तर, गाउँलेहरू निर्दयी हुँदा मागेरै गुजारा चलाउन उनी विवश छन् ।
‘आफ्नै घर–परिवारका सदस्यबाट अवरोध भएपछि गाउँ फर्कने इच्छा अधुरै छ,’ उनले भने, ‘अहिले स्वस्थ्य छु । झुपडीको बासले स्वास्थ्य झन् खराब होला ।’ दाताले सहयोग गरेको रकमले उनी खाद्यान्न किन्छन् ।
७ वर्षअघि उनको शरीरका केही भागमा फोका देखियो । लगत्तै उपचारका लागि उनी भारतको पटना गए । त्यहाँ केही समय औषधि सेवनपछि उनको रोग निको भयो । घर आएर केही समयपछि कमाउन पन्जाब गए । त्यहाँ धान काट्ने काम गरे । बाँया औंलामा फेरि सानो फोको आउन थाल्यो । त्यही औषधि गरे ।
औषधिको असरले रोग झनै बल्झियो । त्यहाँ कुष्ठरोग लागेको प्रमाणित भयो । उनको बायाँ हातको एउटा औंला झर्यो । बायाँ खुट्टामा एउटा पनि औंला छैन । दायाँको २ वटा झरेको थियो । रोगले अपांग बनाएपछि उनी पीडामा परे । त्यसैबेला श्रीमती सुनीता देवीको मृत्यु भयो । त्यसको ठीक एक वर्षपछि ९ वर्षकी छोरीको मृत्यु भयो । ६ वर्षभित्र उनको ४ छोरा र एक छोरीको मृत्यु भयो । परिवारका सबै सदस्यको मृत्युपछि थप पीडामा परे ।
प्रकाशित : श्रावण २२, २०७६ १०:०७