कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाढीले कृषिमा २ अर्ब ६६ करोडको क्षति

सन्तोष सिंह

धनुषा — असार अन्तिमको बाढी र डुबानले प्रदेश २ का ८ जिल्लाको कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको विवरण सार्वजनिक भएको छ । 
बाढीले बालीनाली र पशुपन्छीतर्फ मात्र प्रदेशमा २ अर्ब ६६ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ ।

बालीनालीतर्फ मात्र १ अर्ब ५५ करोड र पशुपन्छीतर्फ १ अर्ब ११ करोडको क्षति भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत अभिनाश झाले बताए । बालीनालीतर्फ धान, मकै, तरकारी, केरालगायतका बालीमा बढी क्षति भएको छ । पशुपन्छीतर्फ भैंसी, गाई, कुखुरा, बाख्रा, माछालगायतमा क्षति भएको झाले बताए ।


बाढी तथा डुबानका कारण प्रदेश २ का ८ वटै जिल्लामा बालीतर्फ ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयले जनाएको छ । मलखाद्य अभाव र समयमा वर्षा नभएपछि केही क्षेत्रमा आकाशे पानीको भरमा किसानले खेती गरेका थिए । प्रदेशमा वर्षा आउनुपूर्व कुल धान खेतीको करिब एक चौथाई क्षेत्रफल जग्गामा मात्र धान रोपाईं भएको थियो । जसमध्ये ४१ हजार ५ सय ६९ हेक्टर जग्गाको धान खेती नष्ट भएको छ ।


पशुपन्छी तर्फ १ हजार ९ सय ८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको छ । मन्त्रालयका अनुसार पशुपन्छीतर्फ सबैभन्दा बढी सप्तरी र सिरहामा क्षति भएको छ । दुई जिल्लामा मात्र पशुपन्छी र माछामा ९७ करोड ३ लाख बराबरको क्षति भएको छ । पशुपन्छीतर्फ रौतहटमा ५ करोड, बारा र पर्सामा २ करोड ४३ लाख २५ हजार र धनुषामा १ करोड बराबरको क्षति भएको झाले बताए ।


बाढी तथा डुबानबाट सबैभन्दा बढी प्रभावित भएको रौतहटमा बालीनालीतर्फ समेत सबैभन्दा बढी क्षति भएको छ । रौतहटमा १९ हजार ४ सय ६५ क्षेत्रफल जग्गामा ३५ करोड बराबर क्षति भएको छ ।


रौतहटपछि बालीनालीतर्फ सर्लाहीमा क्षति भएको छ । सर्लाहीमा ९ हजार ३ सय ५२ हेक्टर क्षेफलमा रहेको धान ब्याड, वर्षे धान, चैते धान, तरकारीबाली, मकैबाली लगायतका बाली गरी २५ करोड बराबरको क्षति भएको छ ।


पर्सामा २४ करोड ३३ लाख, बारामा १९ करोड ७० लाख, सप्तरीमा १९ करोड २५ लाख, धनुषामा १६ करोड ३५ लाख ५४ हजार, महोत्तरीमा १२ करोड र सिरहामा ३ करोड ८५ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?