ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

रासस

सर्लाही — जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो । 

पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मध्यराति नेपालगञ्जमा आगलागी, दर्जन पसल जले

रासस

बाँके — नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो ।

प्रतिकात्मक तस्बिर

प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । 'फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो”, प्रत्यक्षदर्शी चन्दले भने। चार दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट करिब सातदेखि १० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तर क्षतिको एकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । 'दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौँ,' प्रहरी उपरीक्षक वलीले भने ।
फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । 'पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो,' प्रहरी उपरीक्षक वलीले भने, 'पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौँ ।'
यसअघि मंगलबार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका दुई कपडा पसलमा आगजनी हुँदा करिब दुई करोड बढीको क्षति भएको छ । आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् । बडिमालिकाबाट सुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT