परीक्षार्थी ओसार्दै एम्बुलेन्स

अवधेशकुमार झा

राजविराज — विरामीलाई अस्पताल पुर्‍याउने राजस्व छुटमा ल्याइएका एम्बुलेन्सको सप्तरीमा दुरुपयोग भएको छ । विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुर्‍याउन एम्बुलेन्स प्रयोग भइरहेको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको परीक्षामा परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुर्‍याउनका लागि एम्बुलेन्सको प्रयोग भएको हो । सीटीईभीटीअन्तर्गत बिहीबारदेखि हेल्थ असिस्टेन्ट, नर्सिङ, ओभरसियरलगायत संकायमा अन्तिम परीक्षा सुरु भएको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय र ठाकोदेवी जोगेन्द्र भगत राजदेवी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा उदयपुर र सिरहाबाट सहभागी हुन आएका विद्यार्थीलाई ओसार्न एम्बुलेन्स प्रयोग भएको हो । कटारी मोडेल हेल्थ केयर कटारी ३ उदयपुर तथा कमलामाई मेडिकल तथा पोलिक्लिनिकको स१च १४०१ नम्बरको एम्बुलेन्सले बिहीबार परीक्षार्थी ओसारेको थियो ।

उदयपुरको कटारीबाट बिहानै विद्यार्थीलाई लिएर परीक्षा दिलाउनका लागि कटारी मोडेल हेल्थ केयर कटारी ३ उदयपुरको एम्बुलेन्स राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको परीक्षा केन्द्र पुगेको थियो । विद्यार्थीपरीक्षा दिइरहँदा परीक्षा केन्द्र परिसरअगाडि उक्त एम्बुलेन्समा चालक गोपाल बयलकोटी आराम गरिरहेका भेटिए ।

कटारी मोडेल हेल्थ केयरका सञ्चालक डा. गणेशलाल दासको आदेशमा उनकै परिवारका विद्यार्थीलाई लिएर आएको चालक बयलकोटीले बताए । ‘मलाई त डाक्टरसाबले विद्यार्थी राजविराज पुर्‍याउन र ल्याउन आदेश दिनुभयो, मैले त्यही गरेँ,’ चालक बयलकोटीले भने, ‘एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउनका लागि नै हो तर म त चालक हुँ, जुन संस्थाको एम्बुलेन्स हो, त्यसका सञ्चालकको आदेश मान्नु पनि मेरो धर्म हो ।’

डा. दासले भने बिरामी विद्यार्थीलाईपरीक्षा केन्द्रसम्म पुर्‍याउन एम्बुलेन्स गएको दाबी गरे । राजविराजकै अर्को परीक्षा केन्द्र ठाकोदेवी जोगेन्द्र भगत राजदेवी माध्यमिक विद्यालय केन्द्रबाहिर अर्को एम्बुलेन्समा चालक सन्तोष साह मस्त निद्रामा भेटिए । उनी पनि नर्सिङको परीक्षामा सहभागी हुन आएका विद्यार्थी बोकेर आएका थिए ।

स१च ७४३ नम्बरको कमलामाई मेडिकल तथा पोलिक्लिनिक बन्दीपुर सिरहाको एम्बुलेन्समा परीक्षामा सहभागी हुने विद्यार्थी लिएर चालक साह राजविराजको राजदेवी परीक्षा केन्द्र आएका थिए ।

विद्यार्थी परीक्षा दिन गएपछिपरीक्षा केन्द्रबाहिरको खेलमैदानमा एम्बुलेन्स पार्किङ गरी चालक साह एम्बुलेन्सभित्रै मस्त निद्रामा सुतेका हुन् । सञ्चारकर्मीले एम्बुलेन्सको फोटो खिच्न थालेपछि मात्र चालक साह ब्युँझिएका थिए । उनले गल्ती भएको भन्दैगाडी परीक्षा केन्द्र नजिकबाट अन्यत्र लगेका थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एम्बुलेन्स परीक्षा केन्द्रमा गएकै बखत थाहा पाएको भए नियन्त्रणमा लिन सक्ने बताउँदै विद्यार्थी लिएर गइसकेकाले उदयपुर र सिरहा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी बिरामी बोक्ने एम्बुलेन्सले विद्यार्थी ओसारेका विषयमा जानकारी गराई आवश्यक कारबाहीका लागि आग्रह गरेको बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विपत व्यवस्थापनमा स्थानीयसँग समन्वय भएन

कान्तिपुर संवाददाता

ओखलढुंगा — विपतको समयमा स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिबीच समन्वय अभाव देखिएको छ । सूचना आदानप्रदान तथ्यपरक हुन नसक्दा समन्वय खड्किएको हो ।

दुई साताअघि अविरल वर्षाले जिल्लामा ५ जनाको ज्यान गएको थियो तर स्थानीय तहले एकजनाको सूचना ढिलो दिँदा प्रदेश सरकारलाई तथ्यांक टिपाउन ढिलाभएको विपत व्यवस्थापन समितिकाअध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

‘समन्वय खड्किएको अवश्य हो । सूचना सही समयमा तथ्यपरक रूपले पाउन नसक्दा विपत व्यवस्थापनमा समस्या भोग्नुपरेको छ ।’ प्रजिअ आचार्यले भने, ‘हामीले अनुरोध गरिरहेका छौँ, कम्तीमा नजिकैको प्रहरीलाई आवश्यक जानकारी मात्र गराउनुभए सहज हुने थियो भनेर तर अझै समन्वयमा समस्या छ ।’ सोमबार जिल्ला प्रशासनमा बसेको समितिको बैठकमा स्थानीय तहको तर्फबाट सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ मात्र उपस्थित थिए ।

अन्य गाउँपालिकाको प्रतिनिधिका रूपमा वडा अध्यक्षहरूको उपस्थिति थियो । उनीहरूले केही विपतमा परेका पीडितलाई जानी नजानी सिफारिस दिएर जिल्ला पठाउने गरेको स्वीकार गरे । कतिपय सूचना वास्तविकताभन्दा बढाइचढाइ गरेर उजुरीका रूपमा प्रशासनमा आउने गरेको बताए ।

वर्षाको कारण करिब तीन साता बित्न लाग्दा समेत ग्रामीण सडक खुल्न सकेका छैनन् । अधिकांश पहिरो सडकका कारण गएका छन् । पहिरोको समस्या जानाजान निम्त्याइएको विपतका रूपमा रहेको बैठकमा उपस्थित सहभागीले बताए । आगामी दिनमा प्राविधिक मापदण्ड एकरूप बनाएर सडक निर्माण गरिनुपर्ने सुझाव सरोकारवालाले दिए ।

हाल सुनकोसी गाउँपालिका ७ मा १० घर पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सडक खनिएकै कारण जोखिममा रहेका थुप्रै घरधुरीले प्रशासनमा उजुरी दिएको उनले बताए । ‘अब केही समयका लागि नयाँ ट्र्याक खोल्ने कामलाई बन्द गर्नुपर्ने अवस्था छ ।’ उनले भने, ‘बरु पुरानो सडकलाई स्तरोन्नति गर्दा हुन्छ तर नयाँ ट्र्याक चैं एउटा मापदण्ड बनाएर बन्द नगरे पहिरोले पहाडी भूगोलका गाउँघर सबै बग्नेछन् ।’

समितिले सम्भावित पहिरो र बाढीले सडक अवरुद्ध भएमा आवश्यक खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ मौज्दात राख्नका लागि व्यापारीलाई अनुरोध गरेको छ । हाल सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी कटारी सडकखण्ड पहिरोका कारण बन्द भएपछि उपभोग्य सामग्री बर्दिबास खुर्कोटबाट ढुवानी भइरहेको छ ।

यसले हुन सक्ने मूल्यवृद्धिमा सबै व्यापारीले सकेसम्म धेरै महँगो नबनाई थोरै मात्र मुनाफा राखी व्यापार गरिदिनका लागि समेत समितिले अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT