२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पतिको कुटपिटबाट सुत्केरी सिकिस्त

सुनिता बराल

महोत्तरी — चटपटाउन नसक्ने गरी अस्पतालको बेडमा ढलेकी मन्दिरा खडकाको आँखाबाट आँशु बग्न रोकिएको छैन । जीवन सुन्दर बनाउने सपना साँचेर ०७४ फागुन ११ मा जीवन साथी रोजेकै व्यक्तिबाट मरणान्त हुने गरी कुटाई खाँदा उनको मन छिया छिया भएको छ ।

पतिको कुटपिटबाट सुत्केरी सिकिस्त

श्रीमान् सुमन खडकाको कुटाइपछि ५ महिनाको सुत्केरी ज्यान र काखकी छोरी लिएर मन्दिरा बर्दिवासको जनसेवा अस्पतालमा भर्ना भएकी छन् । ‘अब बाँच्ने आस मर्‍यो । जिउ थिल्थिलो भएको छ,’ भक्कानिँदै मन्दिराले भनिन्, ‘घोप्टो पारेर हम्बर, चिर्पट, भाटा र लातीले मकै बारीमा लगेर कुट्यो । मरी भनेर छोडेको थियो । माइतीले अस्पतालसम्म ल्याएर बचाए ।’ अढाई वर्षदेखि श्रीमानको पिटाइ सहँदै आएकी मन्दिराले न्यायका लागि अदालत जाने बताइन् ।


सुमनसित विवाह गरेको एकसातापछि नै दिनहुँ कुटपिट र यातना दिएको उनले बताइन् । ‘विवाह गरेदेखि नै मेरो विवाह अन्तै भैसकेको छ, मेरो ४ वर्षको छोरी पनि छ, तँलाई मार्छु भन्दै प्रत्येक दिन नशामा लरबरिँदै घर आएर शारीरिक र मानसिक यातना दिन्थ्यो,’ उनले भनिन ।


जेठी छोरीको रहरको विवाह भएकाले मन्दिराको ४ लाख खर्च गरेर विवाह गरेको र विवाह गरेर दिएको एक–दुई महिनादेखि नै छोरी कयौँ पटक घाइते अवस्थामा रुँदै माइत आउने गरेकी मन्दिराकी आमा गोमा पोखरेलले बताइन् । पछिल्लोपटक मंगलबार ज्वाइ सुमनको कुटाइले मरणासन्न भएकी छोरीले फोन गरेपछि आफैंले अस्पताल भर्ना गराएको पोखरेलले बताइन् ।


‘उनको शरीरमा चोटपटक भएकाले हामीले नै अस्पताल जान सुझाव दिएका हौं,’ इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक निशान थापाले भने, ‘घटनाको दोषी खोजिरहेका छौं । घटनाबारे सबै कुरा अनुसन्धानपछि आवश्यक कारबाही गरिनेछ ।’ सर्लाहीकी मन्दिरा र आमा–बुवा प्रहरीमा पुगेपछि बर्दिवास–३ भब्सी रातमाटाका सुमन र उनको परिवारका अन्य सदस्य घर छोडेर भागेको प्रहरीले जनाएको छ ।


बर्दिवास जनसेवा अस्पतालका प्रमुख डाक्टर गणेश श्रेष्ठले मन्दिराको आँखा, कान र शरीरमा धेरै चोट लागेको बताए । दुखाई कम गर्ने औषधि चलाइरहेको र एक्सरे, भिडियो एक्सरे र पिसाब जाँचको रिपोर्टपछि भित्री चोटका बारे थाह हुने श्रेष्ठले बताए ।


बर्दिवासका विभिन्न सामाजिक संघ–संस्था र महिला संगठनले घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । अन्तरपार्टी महिला सञ्जाल नगर कमिटी बर्दिवासकी अध्यक्ष खिनमाया पराजुलीले मन्दिरामाथि भएको अन्याय र अत्याचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिन् ।

प्रकाशित : श्रावण २४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?