कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मदिरा विक्रीमा महिला

कान्तिपुर संवाददाता

रौतहट — एक साताअघि इलाका प्रहरी डुमरियाले चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको टेम्पु रोकेर जाँच गर्‍यो । टेम्पुमा दुई महिला चढेका थिए । उनीहरू बसेको सिटमुनि दुईवटा जर्किन भेटियो ।

चन्द्रपुर ४ घर भएका महिलालाई प्रहरीले केरकार गरेपछि उनीहरू मदिरा बजार पुर्‍याउन लगेको स्वीकार गरे । गरुडा, शिवनगर, बिर्ता, धमौरालगायतका बजारमा चन्द्रनिगाहपुरबाट घरेलु मदिराको बिक्री वितरण हुन थालेपछि प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बस, ट्रक, साना सवारीको जाँचमा कडाई गरिएको बताए ।


घरेलु मदिरा ओसारपोसारमा रौतहटमा अहिले महिला सक्रिय देखिएको छ । मदिरा ओसारपोसारमा महिलाको संलग्नता बढेपछि प्रहरीले साना तथा ठूला सवारीमा निगरानी बढाएको छ । बाध्यताले मदिरा बिक्री गरेको महिला स्विकाछन् । पक्राउ परेका महिलाको साथबाट बरामद गरिएको मदिरा प्रहरीले नष्ट गरेको थियो । पछिल्लो समय घरेलु मदिराको ओसारपसारमा महिलाको संलग्नता बढेको एसपी खत्रीले बताए । ‘मदिरारहित जिल्ला बनाउन अभियान थालेका हौं,’ उनले भने, ‘मानिसमा चेतनाको कमीले अवैध मदिरा उत्पादन गर्न छाडेका छैनन् ।’ शान्ति सुरक्षामा प्रभाव पारेको भन्दै प्रहरीले जिल्लाभरि अवैध घरेलु मदिरा उत्पादन र बिक्रीमा कडाइ गरिएको छ ।


जिल्ला प्रहरीबाट खटिएको टोलीले बिहीबार राति गौर नगरपालिका ६ सवगडा र राजदेवी नगरपालिका ८ स्थित लक्ष्मीपुरमा अवैधरूपमा सञ्चालन गरेको २ वटा घरेलु मदिरा भट्टी र मदिरा बनाउन तयार गरी राखिएको कच्चा पदार्थ २ हजार २ सय लिटर, तयारी मदिरा ५ सय लिटर नष्ट गरेको थियो । मदिरा बनाउने मेसिन थान १, कच्चा पदार्थ राख्ने खाली ड्रम थान ६ बरामद गरिएको प्रहरीले जनायो ।


अघिल्लो महिनामा इलाका प्रहरी चन्द्रनिगाहपुरले झन्डै २ हजार लिटर मदिरा बरामद गरेर नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार आर्थिक वर्षको अन्त्यमा जिल्लाका विभिन्न स्थानहरूमा ५४ वटा अवैध भट्टी नष्ट गरिएको छ । झन्डै १० हजार लिटर तयारी मदिरा बरामद गरी नष्ट गरेको जनायो । ११ हजार ७ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको एसपी खत्रीले बताए । मदिरा बनाउने विभिन्न खाले १ सय ३२ वटा भाडा बरामद गरेको थियो ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?