महिला हत्या आरोपमा दुई पक्राउ

रासस

महोत्तरी — महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउगरेकाे हो।

आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले साेमबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो। हत्याको घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले पत्रकारलाई बताए।

प्रहरी निरीक्षक आचार्यका अनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाएकाले अनुसन्धानबाट थप सत्यतथ्य बाहिर आउने जनाए।

गौशाला बजारमा सञ्चालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई मध्यराति निजकै घरमा चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

प्रकाशित : श्रावण २७, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अभिलेखालय र सर्वोच्च अदालत

कान्तिपुर संवाददाता

१. काठमाडौंको राम शाह पथमा रहेको पुरातत्त्व विभागमा लाखौं पुराना दस्तावेज छन्, जुन हातले छुँदासमेत धुलो हुन्छन्  ।

पुराना कागजपत्र छानबिन गर्दा मलाई जैसीकोठाको १८ महिनाको अनुभव छ । राष्ट्रिय अभिलेखालय नेपालको एउटा धर्म, संस्कार, संस्कृतिको अभिलेख रहेको स्थान हो । यो भवन र अभिलेखहरू अहिलेकै ठाउँमा रहनुपर्छ । यिनमाथि अतिक्रमण हुनु भनेको राष्ट्रको इतिहास, धर्म, संस्कृति माथिको हमला हो ।

२. खिलराज रेग्मीले प्रधान न्यायाधीश र सरकार प्रमुख भएका बेला पुरातत्त्व विभागलाई सर्वोच्च अदालतको मोटर ग्यारेज बनाउन सर्वोच्चबाट प्रस्ताव अघि बढाउनुभयो र मन्त्रिपरिषदबाट सुटुक्क निर्णय गराउनु भयो । सोबारे पुरातत्त्व विभागलाई एक वचन सोध्न आवश्यक ठानिएन । किन ? इमान–जमान हराएकाहरूका कारण अहिले पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालयलाई सर्वोच्च अदालतले दैनिक ‘टर्चर’ दिएर उठिबास लगाउन आँटेको छ । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भनेझैं खिलराज रेग्मी ‘डबल पावर सेन्टर’ रहेका बेला किन ‘अन्यायमूर्ति’ बन्नुभयो । हामीलाई सर्वोच्च अदालत थानकोट लगे पनि केही फरक पर्दैन, तर पुरातत्त्व विभागलाई छुन पाइँदैन । अध्ययन, अध्यापन र शोध गर्नेहरूका लागि पायक पर्ने ठाउँ हो त्यो ।
३. सरकारले उक्त निर्णय उल्ट्याउन नसक्नुको कारण के हो ? सर्वोच्च अदालतले यस्तो अन्याय गर्न मिल्छ ? किन सार्ने नारायणहिटीमा पुरातत्त्व विभाग ? सरकारले रेग्मीका पालामा भएको निर्णय तुरुन्त खारेज गरोस् । अन्यथा संस्कार, इतिहास, धर्म र संस्कृतिप्रेमीहरूले माइतीघर मण्डलामा धर्ना बस्नुपर्ने हुनसक्छ । यस बारेमा उपत्यकाका नेवार समुदायको पनि
ध्यान पुगोस् ।
– डा. प्रेम सिंह बस्न्यात, अध्यक्ष, नेपाल म्युजियम एसोसिएसन

प्रकाशित : श्रावण २७, २०७६ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT