१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बल्झिँदै आपराधिक घटना

अवधेशकुमार झा

राजविराज — एक वृद्ध दम्पतीलाई हत्या गरी घरमै जलाएको ५ महिना बित्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, सिआईबी, प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरीको ब्युरो कार्यालय लगायतका स्थानबाट छुटाछुटै अनुसन्धान टोली खटिए पनि सप्तरीको खडग नगरपालिका ५ का ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीय बेचनीदेवी साहको हत्यामा संलग्नको पहिचान अझै भएन ।

साह दम्पतीको गत फागुन १४ गते राति हत्या भएको थियो । घटनापछि प्रहरीले तालिम प्राप्त कुकुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक टोली समेत बोलाएर छानबिन सुरु गरेको थियो । वृद्ध दम्पतीको हत्या गरिएको घरभित्र र बाहिर धेरै स्थानमा रगतका छिटाहरू देखिएकाले दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाइएको हुनसक्ने अनुमान गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भावेश रिमालले अझै सम्म पनि अनुसन्धान पुरा नभएको स्विकारे । ‘घटना कसरी वा के कारणले भएको हो ठयाक्कै भन्न सकिने अवस्था छैन,’ डिएसपी रिमालले भने, ‘अझै हामी अनुसन्धानमै छौं ।’ उता जेठको पहिलो हप्तादेखि अपहरणमा परेका राजविराज बोरियाका तुलसी दासको अझै पतो छैन । चिनेजानेका व्यक्तिले बोलाएर गएका उनी फर्किएर आएका छैनन् । बोलाउने व्यक्तिले नै अपहरण गरेको दासको परिवारको आरोप छ । तर, बोलाउने व्यक्ति समेत फेला नपरेको प्रहरीको भनाइ छ ।


साउनको दोस्रो साता डाकनेश्वरी नगरपालिका १ की कंचनकुमारी यादवको शव झुण्डिएको अवस्थामा फेला पर्‍यो । माइती पक्षले कर्तव्य गरी पति र सासू–ससुराले मारेको आरोप लगाइरहँदा प्रहरीले भने उनको हत्या वा आत्महत्या हो भन्ने ठम्याउन सकेको छैन । कंचनका पति अरबिन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । ‘पोष्टमार्टम रिर्पोट आइसकेको छैन, आएपछि थप कुरा खुल्छ,’ डिएसपी रिमालले बताए ।


साउन ५ गते नै अग्नीसाइर कृष्णासवरण गाउँपालिका ३ की रन्जु यादवको पनि शंकास्पद मृत्यु भयो । माइती पक्षले सासु ससुराले कर्तव्य गरी मारेको जाहेरीका आधारमा प्रहरीले ससुरा महेन्द्र यादव र सासु लीलादेवी यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


खरचुहियाका साह दम्पतीको हत्या, तुलसी दासको अपहरण तथा दुई महिलाको शंकास्पद मृत्यु सम्बन्धी घटना उदाहरण मात्र हुन् । जिल्लामा अपराधका अन्य कयौं घटना भएको लामो समय बितिसक्दा पनि प्रहरीले अझै पनि अनुसन्धान पूरा गरी कारण ठम्याउन सकेको छैन । अपराधका घटनाका विषयमा प्रहरी अनुसन्धान नजिक पुग्न नसक्दा एकातिर प्रहरीको अपराध अनुसन्धानमाथि नै प्रश्न चिह्न खडा भएको छ भने अर्को तर्फ समाजमा त्रासको स्थिति सृजना हुने गरेको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?