२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुरक्षा दिने नै असुरक्षित

ओमप्रकाश ठाकुर

सर्लाही — हावाहुरी चल्दा र पानी परिरहेका बेला सर्वसाधारण घरको छानामा ओत लाग्छन्  । धनकौलस्थित हरकठवा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई भने यस्तो अवस्थामा घर बाहिर निस्कनुपर्ने बाध्यता छ  ।

पुरानो प्रहरी भवन ढल्ने डरले भाग्नुपर्ने स्थिति भएको हो ।

धनकौल–३ हरकठवामा रहेको इलाका प्रहरी कार्यालयको एकतले भवन ०४६ सालमा स्थानीयको सहयोगमा बनेको हो । माओवादी द्वन्द्वकालमा तत्कालिन माओवादीले बम विस्फोट गराएपछि भवन जीर्ण बनेको थियो । पिल्लरसमेत नरहेको जीर्ण भवनलाई नै मर्मत गरेर ०६५ सालमा स्थानीयको सहयोगमा पुनः एक तला थपिएको थियो । तर तला थप्दा भवन कमजोर रहेको भन्दै छतको ढलानको मोटाइ आधाभन्दा पनि कम गरिएको थियो । अढाईतले रहेको भवनमा सातवटा कोठा छन् । तर वर्षाको बेला माथिल्लो तल्लामा पानी चुहिएर कोठामा बस्न सकिंदैन । हावाहुरी चल्दा भवन नै हल्लिने गरेको छ ।

हावाहुरी चल्दा अथवा पानी पर्दा भवनमा बस्न त्रास हुने इलाका प्रहरी कार्यालयले जनाएको छ । हावा चल्दा भवन हल्लिँदा डर लाग्ने प्रहरी नायव निरीक्षक मोहन कटुवालले बताए । ‘हावाहुरी र वर्षाका बेला भवनभित्र बस्न सक्ने अवस्था हुँदैन, प्रतिक्षालय अथवा नजिकको मठमा बस्छौं,’ उनले भने ।

सधैं भवनले थिच्ला भन्ने डरमा रहनुपर्ने भएको उनले सुनाए । धनकौल गाउँपालिका– १ देखि ५ वडासम्म, गोडैता नगरपालिकाको वडा–५ रामवन र बसबरिया गाउँपालिकाको वडा–३ सम्म यस इलाकाको कार्यक्षेत्र रहेको छ । जिल्लामा ख वर्गको सबभन्दा ठूलो क्षेत्रफल र चुनौती भएको इलाका पनि यही नै हो । तर यहाँ कार्यरत प्रहरीको भवनका कारण राती चयनले सुत्न नपाउने गरेको गुनासो छ ।

अरूको आपद् विपद्मा सहयोग गर्नुपर्ने प्रहरी आफैं समस्यामा परिरहेका हुन्छन् । जसका कारण इलाकामा कार्यरत प्रहरी मानसिक रूपमा कमजोर हुने गरेको प्रहरी नायब निरीक्षक कटुवालको भनाई छ । उनले विपद्का बेला इलाकामा के भयो भन्ने बुझ्ने बेलामा हाम्रै अवस्था खराब बन्ने गरेको दुःखेसो पोखे । कटुवालले राती हावाहुरी आए भागेर ज्यान जोगाउने गरेको सुनाए । ‘आपद् विपद्का बेला अरूलाई सहयोग गर्नुपर्नेमा हामी नै निद्रामै भाग्नुपर्छ ।’

झन्डै ३० वर्षअगाडि बनेको भवन प्रहरी बस्नलायकको छैन । भवनका कोठा नमिलेको जस्तो देखिन्छ । सबभन्दा माथिल्लो तल्लामा उक्लिन टाउको जोगाएर जानु परिरहेको छ ।

यसै भवनबाट केही वर्षअघि छतबाट खसेर एक प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो । बमले भवन जिर्ण बनेपछि इलाका प्रहरी कार्यालय अन्त सार्ने डरले स्थानीयले चन्दा संकलन गरी रातारात दोस्रो तल्ला थपेका थिए । इलाका प्रहरी कार्यालय हरकठवाको भवनको अवस्था निकै नै दयनिय रहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । उनले नयाँ भवनको लागि आफूले आवश्यक पहल गरिरहेको सुनाए ।

प्रकाशित : श्रावण २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?