१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाढीले क्षतिग्रस्त बाँध टालटुल

स्थानीय तह र जल उत्पन्न प्रकोप कार्यालयले तटबन्ध मर्मत भन्दै बोरामा बालुवा भरेर बजेट सिध्याउँदै छ
कान्तिपुर संवाददाता

जनकपुर — असार अन्तिमको बाढीले प्रदेश २ का रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सर्लाहीका ठूला नदीको बाँध र तटबन्ध भत्काउँदै पानी बस्तीमा पस्यो । बागमती, बकैंया, रातु र कमला नदीका तटबन्ध ठाउँ–ठाउँमा भत्कियो । बस्तीमा पसेको भेलले धेरैलाई घरबारविहीन बनायो ।

बाढीले क्षतिग्रस्त बाँध टालटुल

खोलामा जलस्तर घटेपछि स्थानीय तह र जल उत्पन्न प्रकोप कार्यालयले मर्मत भन्दै टालटुले काममै बजेट खर्च गर्न थालेका छन् । बोरामा बालुवा भरेर तटबन्ध मर्मत भइरहेको छ । सरकारी प्राविधिकले नै यसलाई तत्कालको भरथेग मात्र हुने बताउँछन् । खोलाका तटबन्धहरू ४० वर्ष पुराना हुन् । जीर्ण र कमसल बनेका तटबन्धलाई ठीक ढंगले मर्मत गर्नुपर्ने तटिय क्षेत्रका बासिन्दाको माग छ । सरकारी निकायहरू भने पर्याप्त बजेट नभएको भन्दै टालटुले काममै लागेका छन् ।

बाग्मती नदीले बरहथवा नगरपालिका–१ को खर्साल घाटमा गरिरहेको कटान रोक्न बजेट न्यून छ । बजेट अभावकै कारण स्थानीय तहले उक्त क्षेत्रमा बोरामा बालुवा हालेर टालटुल गरेको छ । सर्लाही र रौतहटको सीमामा बग्ने बाग्मतीले धार परिवर्तन गरी बरहथवा–१, हजरियास्थित खर्सालघाटमा खेतीयोग्य जमिन कटान गरिरहेको छ । केही दिनअघि आएको बाढीले धार परिवर्तन गरी बस्तीनजिक पूर्वतर्फ सोझिएको थियो । बस्तीनजिक नदीले जमिन कटान तीव्र पारेपछि स्थानीय तहको पहलमा डिभिजन सिंचाई कार्यालय र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट बोरा ल्याएर टालटुल गरे ।

नदीको बहाव बस्तीनजिक आएपछि स्थानीय झन् आतिए । धान, उखु, बेसार र केरालगायत रोपेको खेत नदिले कटान गरेपछि किसान बिचल्लीमै परे । तटबन्ध मर्मतका नाममा बर्सेनी ठूलो रकम खर्चे हुने गरेपनि गुणस्तरहीन काम भइरहेको भन्दै हजरियावासीले असन्तुष्टि जनाए । तटबन्ध बलियो निर्माण हुनुपर्ने दवाव दिएपनि सम्बन्धित निकायले बजेट अभाव भन्दै असमर्थता जनायो ।

जल उत्पन्न प्रकोप र जनताको तटबन्ध कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि कटान रोकथामका लागि कुनै सहयोग नपाएको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको गुनासो छ । तटबन्धका लागि कतैबाट सहयोग नपाएपछि बरहथवा नगरपालिकाले गत आर्थिक वर्षमा ३०–३० लाखको बजेटमा दुईवटा ब्रेकर मात्र हालेको थियो ।

तर दुइवटा ब्रेकरले मात्र बाढीको वेगलाई धान्न नसकेपछि कटान तिव्र छ । ‘नदी नियन्त्रणका लागि कतैबाट पहल नभएपछि हामीले ६० लाखमा दुईवटा ब्रेकर बनायौं । तर त्यसले मात्र नदीको कटान रोकिएन, नगरपालिकाको बजेटले नदी नियन्त्रण गर्नै सकिँदैन,’ महतोले भने, ‘जलस्रोत मन्त्रीलाई भेटा पनि समस्या समाधान भएन ।’

दक्षिणी क्षेत्रमा पानी नपरेपनि उत्तरी चुरेक्षेत्रमा परेको पानीले आएको बाढीले वाग्मती नदीले खरसाल घाटमा दिनदिनै कटान गरिरहेको छ । बर्षेनी धार परिवर्तन गर्दै पुर्व तर्फ मोडिएको नदीले कटान गर्दै खर्सालघाटबाट बाढी पसेमा बरहथवा नगरपालिकाको वडा नम्वर १, ३, १४ र १५ सहित बसबरिया र रामनगर गाउँपालिकाको दर्जनौं बस्ती डुबानमा पर्ने खतरा रहेको वडाध्यक्ष रत्नबहादुर गिरीले बताए ।

‘नदीले सयौं विगहा खेतीयोग्य जग्गामा लगाएको बालीसहित कटान गरिसक्यो,’ उनले भने, ‘खेतीयोग्य जग्गा दिनहुँ कटान गर्दै जाने र यसको भरपर्दो रोकथाम नहुने हो भने बरहथवा नगरपालिकाको ४ वडासहित रामनगर र बसबरिया गाउँपालिकाको दर्जनौं बस्ती डुबानमा पर्छ ।’

कतैबाट सहयोग नपाएपछि नगरपालिकाले विपद् ब्यवस्थापन समितिलाई गुहारेको थियो । त्यसलगतै विपद् ब्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुर बाराका प्रमुख राजकुमार श्रीवास्तवसहितको टोलीले निरीक्षण गरेको थियो ।

नदीले धार परिवर्तन गरि बस्तीनजिक आएपछि तत्काल थप रोकथाम र दिर्घकालिन उपायको बारेमा सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई स्थलगत निरिक्षण गराइएको नगर प्रमुख महतोको भनाई छ । निरिक्षणपछि बाग्मतीको धार पुरानै ठाउँमा फर्काउनका लागि जल उत्पन्न प्रकोपको एक प्राविधिक टोलीलाई बोलाएर थप कटान हुन नदिन अध्यन गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका थिए । तर त्यसपछि जल उत्पन्न प्रकोपका प्रमुख सम्पर्कविहिन बनेको मेयर महतोले बताए ।

‘बागमती नदीको निरिक्षणकै क्रममा जल उत्पन्न प्रकोपका प्रविधिक टोली बोलाउन प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, तर त्यसको भोली पल्टदेखि नै उनी सम्पर्कविहीन भए,’ उनले भने । सम्बन्धित निकायले नदी नियन्त्रण र तटबन्धको काम नगरेकाले बर्षेनी टालटुल गर्नुपरेको महतोको भनाई छ ।

‘दीर्घकालीन तटबन्धका लागि ठुलो रकम चाहिन्छ, त्यो हाम्रो क्षमताभन्दा बाहिरको कुरो हो । त्यसको लागि पनि पहल भइरहेको छ,’ सर्लाहीका सिडियो जिसीले भने, ‘तटबन्धका लागि केही समय लाग्ने भएपनि तत्कालिन रोकथामको काम चलिरहेको छ ।’ प्रजिअ जिसीले बस्ती र खेतीयोग्य जग्गा जोगाउनका लागि ठुलो प्रोजेक्ट चहिएकोले सबै पक्षको सहयोगमा मात्र तटबन्ध निर्माण हुने बताए ।

बालुवा–बाँसले भरथेग
बाढीबाट क्षतिग्रस्त धनुषाका नदी, सडक र पुल–कुलोको मर्मतसम्भार थालिएको छ । क्षतिग्रस्त संरचनालाई वालुवा र बाँसबाट टालिँदै छ । यातायात संचालन गर्न र पानीको बहाव छेक्न बालुवाले भरथेगको प्रयास गरिएको छ । बाढीपछि हरेक वर्ष क्षतिलाई यसरी नै टालटुल गरिन्छ । कमला नदीमा प्रत्येक वर्ष बाढी आउँछ । पूर्वी धनुषाका इनर्वा, मल्हनिया, सोनापाडालगायतका दर्जन गाउँ जलमग्न हुन्छन् । रातु नदीमा बाढी आउँदा जनकपुर–भिठामोर सडक खण्डको पिपरा र खैरा चोक भन्दा दक्षिण सडक भत्किन्छ र यातायात अवरुद्ध हुन्छ । जलाद नदीको बाढीले मध्य धनुषाको कटरैत, पौडेश्वरलगायतका आधा दर्जन गाउँ जलमग्न हुन्छ । तर यी स्थायी समस्याको स्थायी समाधान हुदैन । जहिल्यै टालटुले समाधान मात्र गरिन्छ ।

जनकपुर अञ्चल बस व्यावसायी संघका अध्यक्ष मनोजकुमार चौधरीका अनुसार प्रत्येक वर्ष बाढी आउँछ । यातायात अवरुद्ध हुन्छ । हजारौं यातायात मजदुर बेरोजगार बन्छन् । तर सरकार स्थायी समस्याको स्थायी समाधान खोज्दैन ।

पूर्व–पश्चिम राजमार्गस्थित बर्दीवासभन्दा पश्चिमको भब्सी खोलाको पूल तीन वर्षअघि पनि क्षतिग्रस्त भयो । पूल मर्मत गरियो । तर यसवर्ष फेरि बाढीले चुँडाइदियो । हुलाकी सडक, जनकपुर–यदुकुहा (सहिद पथ), जनकपुर–धनुषाधामलगायतका सडकहरूमा प्रायः एउटै स्थानमा वर्षेनी क्षति पुर्‍याउछ । बाढीको उच्च जोखिममा रहेका स्थानहरूमा स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्ने कमला नदी पीडित सरोकार समिति धनुषाका अध्यक्ष विशेश्वर यादवको छ ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भगवान झा स्थायी समस्याको स्थायी समाधान हुन नसकेको स्वीकार्छन । समस्याको स्थायी समाधानको लागी दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाई छ । ‘प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयमा कमला, जमुनी, जलाद, रातु लगायतका नदीमा आउने बाढी नियन्त्रणका लागि दीर्घकालीन योजनामाथि छलफल थालिएको छ,’ झाले भने । यस वर्षको बाढीबाट धनुषाको मुगलहिया बाध सिँचाइ आयोजना, अमारी सिँचाइ आयोजना, वलुवाहा सिँचाइ आयोजना लगायतमा क्षति पुगेको प्रमुख झाले जानकारी दिए । क्षतिग्रस्त संरचनाहरूलाई जियो ब्यागमा बालुवा हालेर मर्मत गरिएको उनले बताए ।

थामथुम आपतकालीन मात्रै
लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी सिरहाको सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरयिा, बेल्हा लगायत तटीय क्षेत्रमा पसेपछि त्यसलाई तत्काल रोक्न कमला नदी नियन्त्रण आयोजनाले खोलामा उपलब्ध बालुवालाई बोरामा भरेर बाँध निर्माण सुरु गरेको छ । बोराको बाँधसँगै आयोजनाले स्थानीय स्तरमा उपलब्ध हुने बाासलाई गाडेर ‘ब्याम्बो पर्कुपाइन’ प्रविधिबाट खोलाको बहावलाई नियन्त्रण गरिएको छ । गत असार २६ गतेदेखि सुरु भएको लगातारको वर्षाबाट सिँचाइका लागि कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषाले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोडा कमला खोलाको बाढी गाउँमा पसेको थियो ।

लगातारको बर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडाका स्थानीय बढी पीडित भएका थिए । कमला नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहर कुमार साहका अनुसार वर्षा अझै सवा महिना बाँकी रहेकाले बाढीले क्षति पुर्‍याएको सिरहातर्फको पटेर्वा, मल्हनीया, खरसोल्वा, बसबिट, सारस्वर, बेल्हा, मरेवामा आपतकालीन नदी नियन्त्रणका लागि बालुवा भरिएको बोराको बाँध निर्माण गरिएको छ ।

‘बोरालाई बालुवा भरेर नाइलन डोरीले बाँधि तत्काल रोकथामका लागि बाँध निर्माण गरेका छौं’ उनले भने ‘ठाउँ ठाउँमा स्थानीयस्तरम उपलब्ध हुने बाासलाई गाडेर ‘ब्याम्बो पर्कुपाइन’ प्रविधिबाट खोलाको बहावलाई नियन्त्रण गरिएको छ ।’

एक–एक मिटरमा तीन चार लाईन बाास गाडी ती बासलाई एकले अर्कासाग जोडेर दुम्सी काँडाजस्तो गरी तटबन्धआकारमा ढालिने विधीलाई ‘ब्याम्बो पर्कुपाइन’ प्रविधि भनिन्छ । यसप्रविधिबाट तत्काल बाढी नियन्त्रण र कटान रोक्न मद्दत पुग्ने उनले जानकारी दिए ।र् ‘ब्याम्बो पर्कुपाइन’ प्रविधिबाट खोला नियन्त्रण गरिएको र त्यससागै बालुवा पुरेर अस्थायी तटबन्ध निर्माण सुरु गरिए पनि यो दीर्घकालीन योजना नभएको उनले जानकारी दिए ।

तत्काल आपतकालीन नदी नियन्त्रणको काम सुरु गरिएपनि यो बाँधले गत असारको जस्तो वर्षा भए थेग्न नसक्ने बताउँदै उनले वर्षापछि पुनर्निर्माणको काम सुरु गर्ने बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कमला नदी नियन्त्रण आयोजनाले तत्काल नदी नियन्त्रणका लागि अस्थायी बाँध निर्माण गरेको र पुन ः निर्माणका लागि पहल गरिने जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ४ हजार ५ घर पूर्ण प्रभावित भएका छन् । त्यसैगरी ७ हजार ७ सय ७१ परिवार आंशिक प्रभावित भएका छन् । बाढीमा परी सिरहामा ५ जनाको मृत्यु भएको थियो ।


श्यामसुन्दर शशि (जनकपुर), भरत जर्घामगर (सिरहा) र ओमप्रकाश ठाकुर (सर्लाही)

प्रकाशित : श्रावण २९, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?