कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गाउँका सडक कालोपत्रे

भरत जर्घामगर

सिरहा — अर्नामा गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेसँगै गाउँका सडकमा कालोपत्र थालिएको छ । साबिकका महनौर, ब्रह्मपुरी, अर्नामा, गौरीपुर लक्ष्मीपुर र किसनपुर गाविसलाई गाभेर अर्नामा गाउँपालिका बनेको हो । 

तराई–मधेसको सुगम जिल्ला भए पनि गाउँटोल पुग्न सहज सडक सञ्जालले नजोडिँदा सिरहाको दक्षिणवर्ती अर्नामा गाउँपालिका ‘सुगमको विकट’ मानिन्थ्यो । एक गाउँदेखि अर्को गाउँ पुग्न हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटो छिचोल्नु यहाँका स्थानीयको नियति बनेको थियो ।


गाउँपालिकाले वित्तीय समानीकरण अनुदानबाट ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत वडा ५ स्थित १३ सय मिटर सडक कालोपत्रे गरेको हो । गाउँपालिकाका इन्जिनियर दयाशंकर महतोका अनुसार बंगठिया बजारको रामजानकी चौकदेखि हुलाकी मार्ग जोडिएको सडक ३ सेन्टिमिटर मोटाइको तीन मिटर चौडाइको कालोपत्रे निर्माण गरिएको छ ।


कालोपत्रे सडक निर्माण भएपछि कृष्णपुर पछवारी टोल, रामजानकी चौक, बंगठियाका स्थानीयलाई आवतजावतमा सहज भएको छ । ‘कालोपत्रे नहुँदा वर्षामा सडक हिलाम्मे हुँदा आवतजावतमा बर्सेनि समस्या भोग्नुपर्थ्यो,’ सडक डिलमै घर भएका किसनपुरका ६५ वर्षीय दलित रामकैलाश महराले भने, ‘आँगनमै कालोपत्रे भएको छ, हामीले पक्की सडकमा हिँड्न पायौं ।’


कालोपत्रे सडक डिलको ऐलानी जग्गामा रामकैलाशसहित १६ घर दलित महरा, दुई घर यादव र एक घर बरही समुदायको बसोबास छ । अधिकांश परालले छाएका फुसको घरमा बस्दै आएका उनीहरू सडक पिच भएपछि हर्सित छन् ।


ज्याला मजदुरी गरी गुजारा गर्दै आएका उनीहरूले हिउँदमा सडक धुलोको हैरानीबाट मुक्त भएको सुनाए । ‘घर परालले छाएको फुसको भएर के भयो र, हामीले सडक पिच पाएका छौं,’ ६० वर्षीया कलावती महराले भनिन्, ‘यो वृद्ध उमेरमा पिच सडकमा हिँड्न पाएका छौं ।’ यसअघि उनले कालोपत्रे सडक कहिल्यै नदेखेको सुनाइन् ।


अर्नामा गाउँपालिका हुँदै हुलाकी मार्ग जोड्ने र हुलाकी मार्ग हुँदै सदरमुकाम सिरहा बजार पुग्न यो सडक छोटो दूरीमा पर्छ । सडक निर्माणबाट सदरमुकाम आवतजावत र हुलाकी मार्ग पुग्न सर्वसाधारणलाई सहज भएको वडाध्यक्ष भोला मण्डलले जानकारी दिए ।


बर्सेनि ग्राभेल र माटो भरेर सडक निर्माणमा बजेट फजुलमा खर्च गर्नुभन्दा गाउँपालिकामा स्थायी रूपमा सडक निर्माण गर्न गाउँपालिकाले पहिलो पटक कालोपत्रे सडक निर्माण सुरुवात गरेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए । ‘कालोपत्रे सडकलाई गाउँपालिकाभरि विस्तार गर्छौं, यसका लागि क्रमिक रूपमा गाउँसभाबाट बजेट विनियोजन गरेका छौं,’ उनले भने । कालोपत्रे नगरिने सडकमा समेत आरसीसी ढलान गरेर गाउँपालिकाभरिका सडकलाई स्तरोन्नति गर्ने कार्यको सुरुवात गरिएको उनले जानकारी दिए ।


यसैगरी गाउँपालिकाले वडा ३ बंगठियास्थित रामउदगार महतोको घरदेखि सलहेस मार्गसम्म ५० लाख रुपैयाँ लागतमा आरसीसी ढलान सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?