कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विद्युत् कटौतीले हैरान

ओमप्रकाश ठाकुर

सर्लाही — कविलासी नगरपालिका ७ को युनिभर्सल एकेडमीमा कक्षा ३ मा अध्यनरत प्रियाकुमारीले बिहान कक्षाको तयारी गर्दै गर्दा टाउको दुख्यो भनेर अभिभावकलाई हैरान पारिन् । प्रिया कक्षामा निदाएको गुनासो शिक्षकले अभिभावकसँग गरेका थिए ।

बालिकालाई निद्रा नपरेर टाउको दुःखेको थियो । यसको मुख्य कारण अनियमित विद्युत् कटौती हो ।

चर्को गर्मीमा विद्युत् कटौतीले बालबालिका रातभरि निदाउन पाएका छैनन् । राति दर्जनौं पटक विद्युत् आउने जाने भइरहन्छ । मुस्किलले ५ मिनेट मात्र रहने विद्युत् कटेको घन्टौंपछि आउने गरेको छ ।


अनावश्यक विद्युत् कटौतीले रातभरि हैरान पारेको बालिकाकी हजुरआमा बैदेही देवीले बताइन् । ‘सबभन्दा बढी गर्मी भएकै दिन विद्युत अनियमित हुन्छ, दिउँसो त छिनछिनमा विद्युत् त जान्छ नै राति सुतेका बेला पनि विद्युत कटौती हुँदा निदाउनै मुस्किल पर्छ,’ उनले भनिन्, ‘निद्रा नपुगेकै कारण नातिनीको टाउको दुख्यो र शिक्षकले पनि गुनासो गर्नुभयो ।’ उनले अनियमित विद्युत कटौतीले रातभरि निदाउन कठिन परेको गुनासो गरिन् ।


सर्लाही जिल्लाभरि सर्वसाधारणले विद्युत् कटौतीको सास्ती ब्यहोरिरहेका छन् । ‘कुन बेला विद्युत कटौती हुन्छ थाहा हुँदैन, मुलुक लोडसेडिङ मुक्त भएर अन्य मुलुकमा विद्युत् बिक्रीको योजना बनाइरहेको छ, तर यहीँ घण्टौंसम्म विद्युत अवरुद्ध हुने गरेको छ,’ रेडियो एकताका स्टेसन म्यानेजर प्रकाश मैनालीले भने, ‘घण्टौंसम्म विद्युत अवरुद्ध हुँदा रेडियो नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ नेपाल विद्युत प्राधिकरणले राति राति घण्टौंसम्म विद्युत कटौती गर्दा निदाउन पनि समस्या परिरहेको उनको भनाइ छ ।


गर्मी मौषममा राति हुने विद्युत् कटौतीले सर्पदंशको सम्भावना पनि उच्च रहेको स्थानीय राजनारायण साहले बताए । उनले राति विद्युत अवरुद्ध हुँदा छत माथि खुला आकाश मुनि सुत्नुपरेको गुनासो गरे । विद्युत नभएर खुला आकाश मुनि सुत्दा आफू बिरामी परेको उनको भनाइ छ ।


विद्युत कटौतीले यस क्षेत्रका सर्वसाधारण मात्र होइन, व्यापारी, होटल व्यवसायी सबै समस्यामा परेका छन् । उनीहरूले सरकारले नाम मात्रको लोडसेडिङ मुक्त घोषणा गरेको गुनासो गर्दै आएका छन् । चर्को गर्मीमा घण्टौं हुने विद्युत् कटौतीको तत्काल समाधान गर्न स्थानीयले आग्रह गरेका छन् ।


यता, नेपाल विद्युत् प्राधिकरणले भने आपत्कालीन समस्यामा मात्र विद्युत् कटौती गर्नुपरेको जनाएको छ । ‘हामीसँग विद्युत् कटौतीको तालिका छैन, केही समस्या आए मात्र हामीले विद्युत्कटौती गर्ने हो,’ नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख विजय महतोले भने, ‘यसलाई लोडसेडिङ भन्न मिल्दैन ।’


गर्मीमा विद्युत् लोड बढी हुने भएकाले फ्युज जाने, ट्रान्सफर्मर र तारमा समस्या आउने गरेको उनले बताए । वितरण केन्द्र प्रमुख महतोले अगामी आर्थिक वर्षदेखि नवलपुर सवस्टेसन सञ्चालनमा आएसँगै कुनै पनि समस्या नआउने जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?