कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

४२ हजारलाई रोजगारी

कान्तिपुर संवाददाता

जनकपुर — तीन वर्षमा ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चितता गर्दै प्रदेश २ सरकारसँग ६ वटा रोजगारदाताले सम्झौता गरेका छन् । प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले शुक्रबार जनकपुरमा रोजगारीका लागि सम्झौता गरेका हुन् ।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्न प्रदेश सरकारको योजनाअनुरूप पहिलोचरणमा विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरूलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एककदम अगाडि बढेको बताए ।


सम्झौताअनुसार प्रभु बैंकले अगामी तीन वर्षभित्र वैदेशिक रोजगारमा जाने ७ हजार ५ सय युवालाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये ४ हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।


त्यसैगरी नेपाल एसबीआई बैंकले अगामी तीन वर्षभित्र वैदेशिक रोजगारमा जाने ७ हजार ७ सय ५० युवालाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिनाधितो सहुलियत ऋण उपलब्ध गराउनेछ । वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवालाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइनेछ ।


यता, मेरो जब्सले रोजगारी कार्यक्रमअन्तर्गत रोजगार पसलमार्फत अगामी तीन वर्षमा ७ हजार युवालाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ । त्यसैगरी एमाजोनको सहकार्यमा जेनिसले ४ हजार युवालाई सिपसहित रोजगारी दिने तथा युज मेसिनले आईसीटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता गरेका हुन् ।

यता, मोरङ अटो वर्क्स प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा हेभी गाडीको ड्राइभिङ तथा मेकानिकल ट्रेनिङ सेन्टरको स्थापना गरी तीन वर्षभित्र ४ हजार युवालाई रोजगारी दिने सम्झौता गरेका छन् ।


रोजगारदाता संस्थालाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदातालाई आवश्यक ऐन कानुन लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?