कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्लाहीमा फेरि हात्ती आतंक

सर्लाही — भन्डै दुई महिनापछि जंगली हात्तीले पुनः बस्तीमा पसेर आतंक मचाउन थालेको छ । गत मंसिरको पहिलो साता जिल्लाको उत्तरी क्षेत्रबाट आतंक मचाउन सुरु गरेको जंगली हात्ती झन्डै छ महिनासम्म आतंक मचाएको थियो ।

त्यसक्रममा जंगली हात्तीले सयौं घर भत्काएको थियो । पछिल्लो दुई महिनायता हात्ती फाटफुट मात्र देखिएपनि दुई दिन देखि निरन्तर रूपमा बस्ती पसेर आतंक मचाउन थालेका छन् ।


सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको विभिन्न बस्तीमा आतंक मचाइरहेको जंगली हात्ती हरिवन नगरपालिकातर्फ आइपुगेको छ । दुईवटा जंगली हात्तीले शुक्रबार मध्यरातमा हरिवन नगरपालिका–४ गणेश चोकमा चारवटा घरमा क्षती पुर्‍याएको छ । हात्तीले स्थानीय गोपी पण्डित, मुस्तखिम लहेरी, फिरोज मिकरानी र खुर्सेद अंसारीको घरको बेरा घेरा भत्काएर घर भित्र राखिएको अन्न खाएर नष्ट गरेको हो ।


जंगली हात्तीले शुक्रबार बिहान पनि लालबन्दीमा एउटा घर भत्काएको थियो । दुईवटाको समुहमा आएको जंगली हात्तीले लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर मन्दिर नजिक स्थानीय रामचन्द्र महतोको घरको बेरा घेरा भत्काएर घर भित्र राखिएको धान, गहुँ लगायतका अन्न खाएर नष्ट पारेको थियो । घरका मानिसले भने हात्तीले घरको बेरा घेरा भत्काउन थालेपछि भागेर ज्यान

जोगाएका थिए ।


गाउँको नजिकको जंगलमा आएको जंगली हात्ती आतंकले त्यस क्षेत्रका स्थानीय त्रासमा छन् । दिनभरी नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन् । हात्तीले घरमा क्षति पुर्‍याएपछि मजदुरी गरेर गुजारा टार्ने पीडित परिवार बिचल्लीमा परेका छन् ।


जिल्लामा महिनौं अघिदेखि देखा परेको जंगली हात्तीले आतंक मचाउँदा लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकाको जंगल छेउछाउ घर भएका स्थानीयहरू त्रसित भएका छन् । यसरी निरन्तर आतंक मच्चाइरहेका हात्तीलाई नियन्त्रणमा लिन केही साता अघि रेडियो कलर जडान गरिएको थियो ।


ईश्वरपुर नगरपालिकास्थित गौरीशंकरमा रेडियो कलर जडान गरिएको एउटा हात्ती महोत्तरीको लक्ष्मीनियाँ जंगलमा मृत फेला परेको थियो । त्यसयता हात्ती आतंक नियन्त्रणमा थप प्रयास हुन सकेको छैन । हात्ती आतंकका कारण आफूहरू पनि हैरान बनेको डिभिजन वन प्रमुख माधवप्रसाद देवले बताए । उनले जंगली जनावरको बास स्थानमा खलल पुर्‍याएका कारण बेला बेलामा हात्तीले दुःख दिने गरेको बताए ।


‘हात्तीको बासस्थानमा हामी छाप्रो बनाएर बसेका छौं, त्यही बेरा घेरा लगाएर विभिन्न बाली पनि लगाएका छौं,’ उनले भने, ‘जंगलमा बस्ने हात्ती काहाँ जाने, त्यही भएर बेला बेलामा जंगली हात्ती बस्ती पसेर दुःख दिने गरेको छ ।’ वन प्रमुख देवले हात्ती धपाउन एउटा टोली नै परिचालन भएको जनाए । शुक्रबार राति प्रहरी र वन टोली मिलेर वागमती किनारमा हात्ती धपाएको जानकारी दिए ।

प्रकाशित : भाद्र १, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?