कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सौराहामा फुड फेस्टिभल

भरतपुर — चितवनको पर्यटकीय नगरी सौराहाको सिसुवार मैदानमा भ्यालेनटाइन डे (प्रणय दिवस) को अवसर पारेर आइतबारबाट फुड फेस्टिभल (खाना महोत्सव) सुरु भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) को आयोजनामा १२ औं सौराहा फुड फेस्टिभल सुरु भएको हो । फेस्टिभल फागुन ३ गतेसम्म चल्नेछ । विभिन्न समुदायले बनाएका खानाका परिकार फेस्टिभलको मुख्य आकर्षणका रूपमा रहेका छन् ।

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार ४८ वटा खानाका स्टल राखिएका छन् । फेस्टिभलमा सहभागी हुन आउने पाहुनाका लागि त्यस अवधिभर रेवानमा आबद्ध रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘यो चितवनकै गौरवको फेस्टिभल हो,’ अध्यक्ष गिरीले भने, ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत फेस्टिभलमा रमाउँछन्, यसलाई उत्सवकै रूपमा लिएका छौं ।’ फेस्टिभल सुरु हुनुअघि बिहान शोभायात्रा निकालिएको थियो । विभिन्न ८८ वटा महिला समूहले झाँकीसमेत प्रदर्शन गरेका थिए । चितवन घुम्न आएका विदेशी पर्यटकहरूको पनि फेस्टिभलमा बाक्लै उपस्थिति देखिन्थ्यो । उनीहरू कलश यात्रामा समेत सहभागी भएका थिए । फेस्टिभलको मुख्य उद्देश्य स्थानीय समुदायले तयार पारेको खानाहरूको प्रवद्र्धन गर्नुभएको गिरीले जनाए । फेस्टिभलमा प्रेमपत्र लेखन प्रतियोगिता पनि हुने जनाइएको छ ।

फेस्टिवलमा ५८ वटा स्टल राखिएका छन् । यसवर्ष हात्ती वनभोज कार्यक्रम थप गरिएको छ ।

पहिलो पटक हात्तीको वनभोज कार्यक्रम समावेश गरिएको सौराहा फुड फेस्टिभलका संयोजक कपिल रेग्मीले जानकारी दिए । यसअघि हात्ती महोत्सवमा आयोजना गरिँदै आएको वनभोज पहिलोपटक फेस्टिभलमा पनि राखिएको हो । वनभोजमा करिब ६० वटा हात्ती सहभागी हुनेछन् ।

हात्तीलाई उखु, फलफुल, सखर, धानलगायत मनपर्ने खाना राखेर सामुहिक रूपमा खुवाइनेछ ।

महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानी केही प्रतिशत विभिन्न सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ ।

प्रकाशित : माघ २९, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?