बालिका बलात्कारका घटनामा वृद्धि

प्रताप विष्ट

हेटौंडा — बालबालिकाको संरक्षण, सहभागिता र विकासको क्षेत्रमा काम गर्ने संस्थाहरू प्रशस्तै हुँदाहुँदै पनि मकवानपुर जिल्लामा बलात्कारका घटनामा वृद्धि भएका छन् । पछिल्लो ७ महिनाको अवधिमा 
बलात्कारका १५ घटनामध्ये ९ बालिका बलात्कृत भएका छन् । 

बालिका बलात्कारका घटनामा वृद्धि

बलात्कृत हुनेहरूमा ४ देखि १५ वर्षसम्मका छन् । उनीहरूमध्ये अधिकांश छिमेकी र आफन्तहरूको सिकार बनेका हुन् । सहरमा कुसंगत, अश्लील फिल्म र होटलहरूमा सञ्चालित यौन व्यवसायका कारण बलात्कारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

‘बजारका कुसंस्कार बोकेका व्यक्तिहरूको संगत, रातभर अश्लील फिल्म हेर्ने र यौन व्यवसाय सञ्चालन गर्ने होटलका कामदारहरूले बालिका बलात्कार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । हेटौंडा उपमहानगरपालिका–४ का १८ वर्षीय रिजन यादवले साथीसँग रातभर अश्लील फिल्म हेरेको भोलिपल्ट साढे तीन वर्षकी बालिकालाई बलात्कार गरेका थिए । उनलाई अदालतले ७ वर्ष कैदको फैसला गरिसकेको छ ।

यसैगरी मकवानपुरगढी ७ का ३० वर्षीय सूर्यबहादुर भोम्जन १४ वर्षीया बालिकालाई मोबाइल फोनको लोभ देखाएर बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा छन् । १५ वर्षीया सुस्तमनस्थितिकी बालिकालाई हेटौंडा उपमहानगरपालिका–१८ का ४० वर्षीय प्रदीप पोखरेलले प्रलोभनमा पारेर बलात्कार गरेका थिए । अदालतले पोखरेललाई ११ वर्ष जेल सजाय तोकिसकेको छ ।

हेटौंडा उपमहानगरपालिका १५ का १८ वर्षीय सानुलाल गोलेले ११ वर्षीया बालिकालाई पैसा दिने भन्दै बलात्कार गरेका छन् । गोलेले अघिल्लो रात साथीसँग अश्लील फिल्म हेरेका थिए । हेटौंडा उपमहानगरपालिका ९ का २९ वर्षीय श्रीराम कार्कीले ११ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनले मोटरसाइकलमा बालिकालाई राखेर जंगलमा लगेर बलात्कार गरेका थिए ।

ग्रामीण क्षेत्रमा गरिबी, अशिक्षा र अभिभावकको संरक्षणको अभावले बालिकाहरू बलात्कृत हुनुपरेको महिला सेलकी प्रमुख दीपा कार्कीले भनिन्। ‘सहरमा कुसंगत र अश्लील फिल्मका कारण बालिकाहरू बलात्कृत भएका छन् भने गाउँमा अभिभावकको हेरविचारमा कमी, चेतनाको अभाव तथा गरिबीका कारण अन्जान बालिकाहरू बलात्कारको सिकार हुने गरेका छन् ।’ मोबाइलको दुरुपयोगका कारणले पनि जिल्लामा बलात्कारका घटनाहरू वृद्धि भएको प्रहरीको ठम्याइ छ । गत वर्ष अवधिमा ७ बालिका बलात्कृत भएका थिए । उक्त अवधिमा जबरजस्ती करणीका २७ मुद्दा दर्ता भएका थिए । बालिका बलात्कारका घटना १७ वटा थिए । बालिका बलात्कारमा संलग्न रहेकामध्ये प्रहरीले अधिकांशलाई पक्राउ गर्न सफल भएको छ ।

अदालतले पनि पुर्पक्षका लागि थुनामा राखेको छ । कैयौंलाई हदैसम्मको दण्ड सजाय गरेको छ । ‘बालिकालाई बलात्कार गर्नेलाई समाजले दुत्कार्नुपर्छ र राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

बलात्कृत बालिकाको पुन:स्थापनामा संलग्न माइती नेपाल हेटौंडा शाखाकी प्रमुख माया लामाले भनिन्, ‘बलात्कृत बालिकालाई गाउँ–परिवारमा पुन:स्थापना गराउन सबै पक्षले सकारात्मक सहयोग पुर्‍याउनुपर्छ ।’ लामाका अनुसार अदालतले पीडितको पक्षमा फैसला गरेर पीडकलाई सजाय दिए पनि अधिकांश छिमेकी वा आफन्तले बालिकालाई हेयको दृष्टिकोणले हेर्ने गरेका छन् ।

प्रकाशित : माघ २९, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?