प्राचीन स्वरूप गुमाउँदै दोलखा

राजेन्द्र मानन्धर

दोलखा — प्राचीन नगरीकै स्वरूपमा दोलखा बजारलाई पुनर्निर्माण गरिने अवसरहरू क्रमश: गुम्दै गएका छन् । प्राचीन राज्यको पुरातात्त्विक संरचनायुक्त बजारमा नवनिर्मित सम्पदा र निजी आवासका स्वरूपले उक्त संकेत गरेको हो । पौराणिक संरचना, नेवारी संस्कृति र परम्पराबाट हुर्किएका मानव पुस्ता दोलखा बजारका पहिचान हुन् । प्राचीन पहिचान गुम्न नदिन स्थानीयहरू पुर्खाको पदचिह्न खोज्दै छन् तर आफूहरू त्यसमा असफल हुने अनुमान गर्छन् ।

प्राचीन स्वरूप गुमाउँदै दोलखा

भूकम्पले क्षति पुर्‍याएका दोलखा पुनर्निर्माणको सुरुवातीमा मन्दिर, डबली, बाटाघाटा र मानबस्तीलाई ‘द्वाल्खा राज्य’ को सभ्यता सम्झाउने गरी योजनाहरू तयार गरिएका थिए । द्वाल्खा गुठीलगायतका निकायले नक्सांकनका खाकाहरू सार्वजनिक गरेका पनि थिए । ध्वंशपछिको निर्माण अवसर नीतिबाट बनेका विस्तृत योजनाका खाकाहरू सार्वजनिक हुँदै थन्किनु दोलखाका लागि दु:खद घटना हो । उक्त संस्थाका अध्यक्ष माधवमणि राजभण्डारी र दोलखाका अगुवाहरूले गुठीका तर्फबाट तत्कालीन जिल्ला विकास समिति र भीमेश्वर नगरपालिकालाई प्रारम्भिक परियोजना प्रतिवेदन पनि बुझाएका थिए ।

एनसेट र भीमेश्वर नगरपालिकाले पनि पटकपटक कार्यक्रम गरेर दोलखा बजारको मौलिकतालाई जोगाउन प्रयास गरेका थिए । तर दोलखा पुनर्निर्माणलाई मौलिक ढाँचामा अघि बढाउनुपर्छ भनेर अभियान चलाउँदा चलाउँदै कुहिरोको कागजस्तै भएको सम्पदा र संस्कृति जगर्नेमा क्रियाशील भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष शान्तकृष्ण श्रेष्ठ बताउँछन् ।

कानुनी, व्यावहारिक र पारिवारिक अल्झनले दोलखा बजारको सभ्यता नै नष्ट हुने गरी आफूखुसी पुनर्निर्माण भइरहेको भीमेश्वर पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठको धारणा छ । पुरातत्त्व विभागकै निर्माण शैली पनि दोलखाको प्राचीन सभ्यतामा ठेस पुग्ने खालको भएको उनको छ । भूकम्पले दोलखाका तीन दर्जन महत्त्वपूर्ण प्राचीन सम्पादनहरूमध्ये दुई दर्जनमा क्षति पुर्‍याएको थियो ।

प्राचीन बस्तीका ९५ प्रतिशतभन्दा बढी निजी अवासमा क्षति पुर्‍याएको थियो । हाल करिब १० वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । त्यसमध्ये आठवटा सम्पदामा बजेट कम भएको जानकारी दिँदै पुरातत्त्व विभागले निर्माण सामग्रीहरू सस्तो प्रयोग गरिरहेको स्थानीयको गुनासो छ । ‘मन्दिरका भित्ताहरू तेलिया (दाचीअपा) इँट्टा प्रयोग गर्ने सुझावलाई पुरातत्त्वले बजेट अभाव भन्दै अटेर गर्‍यो,’ भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठका अनुसार नीतिगत व्यवधानले निजी आवास पनि एकरूपताका हुन सकेन । दोलखामा धेरै व्यक्तिका निजी घर बहुस्वामित्वमा छन् । एउटा सानो जग्गामा बनेका घर १६ परिवारसम्मका अंशमा पर्छ तर पुनर्निर्माण प्राधिकरणको नीतिले त्यस्तो घर पुन: बनाउन अनुदान दिँदैन ।

प्राचीन शैली र स्वरूपलाई जोगाउन चुक्दै गरेको दोलखालाई पौराणिक पहिचान दिने कार्यमा पुरातत्त्व विभागले पनि बेवास्ता गरिरहेको भीमेश्वर सामुदायिक विकास संस्थाका अध्यक्ष शान्तकृष्णको भनाइ छ । ‘पिङ्गल महादेव मन्दिरमा परम्परागत टुडालका ठाउँमा साधा काठको प्रयोग गर्नु, बालकुमारीमा ढुंगाको ठाउँमा इँट्टा प्रयोग गर्नुले पुनर्निर्माणमा हेलचक्रयाइँ भइरहेको स्थानीयको ठहर हो,’ उनी भन्छन्, ‘पुरातत्त्व विभागले निर्माण व्यवसायीमार्फत काम गर्नु र उपभोक्तालाई सहभागी नगराउनुको परिणाम पुनर्निर्माणमा पुरातात्त्विक मर्म मर्दै गएको हो ।’

नेपालको पहिलो पटक सिक्का निस्काशन गर्ने राजा जयेन्द्रदेव सिंहको टक्सार घरदेखि राजपुस्ता हुर्किएका घरहरू भूकम्पले नष्ट भएका छन् । व्यक्ति र कुल्यानका स्वामित्वका सम्पत्तिका रूपमा पुस्तामा हस्तान्तरण हुँदै आएका घरहरू भूकम्पले क्षति पुगेपछि भत्काइएका छन् । घरहरूमा प्रयोग भएका प्राचीन कलाकौशलले भरिएका झयाल, ढोकाहरू नष्ट गरिँदै छन् । सांस्कृति सम्पदा विनाशको शृंखला रोक्दै दोलखाको अस्तित्व जोगाउन भूकम्पपछि राजधानीदेखि दोलखा बजारमा पनि विभिन्न अभियान भए तर सुरु कहाँबाट गर्ने भन्ने अन्योल झन् बढिरहेको शान्तकृष्णको भनाइ छ । मन्दिर र मूर्तिहरूको वैभवशाली सहर भनेर चिनिने दोलखा बजारलाई विसं. १९९० सालको भूकम्पले एकदमै कम क्षति पुगेको बूढापाकाहरू बताउँछन् । खरका र झिँगटीका छानाको प्रयोगका कारण पटकपटकको आगलागीले भने सांस्कृतिक सम्पदालाई नछोएपछि व्यक्तिगत मौलिक आकारका आवासहरू नष्ट हुने क्रमलाई स्थानीयले रोक्न सकेनन् । पछि बनेका आवासहरूले पौराणिक पक्षलाई सम्बोधन गर्न नसकेको स्थानीयको भनाइ छ ।

‘बैभवशाली दुङ्गल टोललाई आगोले नष्ट पारेको प्रमाण अहिले पनि खन्दा खरानी मिसिएको माटो भेटिनुलाई लिन सकिन्छ,’ शान्तकृष्णको भनाइमा दोलखामा उत्खनन्को पनि आवश्यकता छ । दोलखाको इतिहास नलेखे नेपालको इतिहास अपुरो हुने इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइ क्रमिक रूपमा कागजमा मात्रै सीमित हुँदै छ । करिब तीन दशकअघिसम्म घरैपिच्छे मूर्तिहरू भएको दोलखा अहिले मन्दिरसमेत मूर्तिविहीन हुँदै छन् । दुङ्गलटोलका टीका जोशीको भनाइमा मन्दिरबाट मूर्ति गायव भएपछि कागजका फोटो राखेर पूजापाठ र भजनकीर्तन गरिन थालिएको छ ।

जात्रापर्व, भजनकीर्तन, बाजागाजा र भोजनमा मौलिकताका प्रतीक मानिँदै आएका दोलखाका स्थानीयबासीले पुख्र्यौली पहिचान जोगाउन प्रयत्न पनि गरिरहेका छन् । पुर्खादेखि हस्तान्तरण हुँदै आएका संगीत र गीत साहित्यलाई जोगाउन युवापुस्ताले प्रशिक्षण लिइरहेका छन् ।

स्विस सरकाले निर्माण गरिरहेको त्रिपुरासुन्दरी र राजकुलेश्वर अर्थात् तलेजु भवानीको मन्दिरमा भने मौलिकता र पौराणिकतामा ध्यान दिइरहेको शान्तकृष्ण दाबी गर्छन् । युनेस्कोसँग छलफलपछि निर्मित उक्त दुई सम्पदाले भने मौलिकतालाई सम्बोधन गर्ने उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?