नीलकण्ठ नगरपालिका ‘स्मार्ट सिटी’ बनाइने

हरिहरसिंह राठौर

धादिङ — राजधानीसँग जोडिएको पहिलो नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन व्यापक तयारी भइरहेको छ । 
सदरमुकाममा पर्ने नीलकण्ठ नगरपालिका– भित्रका सरकारी र गैरसरकारी कार्यालयबाट प्राप्त हुने सेवासुविधा थाहा पाउन अबदेखि अनिवार्य रूपमा सूचना प्रविधिको प्रयोग गर्नुपर्नेछ । नगरपालिकाले ‘मेरो नीलकण्ठ, मेरो मोबाइल’ एप्सको घोषणा गर्ने तयारी गर्दै छ ।

‘नगरबासीहरूका हातहातमा रहेका मोबाइलमा ‘स्थानीय आवश्यकता, सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरूले दिने सेवासुविधा, नगरमा सञ्चालित परियोजना र विकास निर्माण, विनियोजित बजेट सबै एप्सबाटै थाहा पाउन सकिनेछ,’ नगरप्रमुख भीमप्रसाद ढुंगानाले भने ।

नगरपालिकाका १५ हजार घरधुरीका ७० हजार जनसंख्यामा सूचना र प्रविधिको पहुँच पुर्‍याई सबै वडामा वाईफाईमार्फत द्रूत गतिको इन्टरनेट सेवा सन्जाल विस्तार गरिने पनि ढुंगानाले जानकारी गराए । त्यसका लागि सदरमुकाम वरपरका डाँडाहरू जुरेथुम, मुरली भन्ज्याङलगायतका स्थानमा टावर पनि निर्माण भइसकेको छ । आन्तरिक पर्यटकलाई मनोरञ्जनका लागि आकर्षण गर्न नगर क्षेत्रकै ४ स्थानमा मनोरम पार्क निर्माणका लागि पनि ८० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाका कृष्ण मन्दिर क्षेत्र, सेराकान्ला, सिरानवजार र पौवामा निर्माण गरिने पार्क निर्माणका लागि आर्थिक र प्राविधिक प्रस्ताव तयार भई आधारभूत भौतिक निर्माणको थालनी भइसकेको नगरपालिकाले जनाएको छ ।

‘पार्कहरूमा समेत द्रूतगतिको इन्टरनेट उपलब्ध गराएर नगरपालिकाले स्वदेशी तथा विदेशी पर्यटक र विद्यार्थीलाई आकर्षण गर्ने नगरपालिकाको लक्ष्य छ,’ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले भने । नगरक्षेत्रका बासिन्दालाई सूचना र प्रविधि प्रयोगका लागि नमुना बनाउन माइक्रोसफ्ट इनोमेसन सेन्टरसँग करिब डेढ करोडमा सम्झौता गरिएको छ । नगरभित्रका १४ वटै वडामा आपसी सन्जाल जोडेर दैनिक सेवा प्रवाह गरिने कोइरालाले बताए ।

नगरपालिकाभित्र सबै सरकारी र गैरसरकारी कार्यालय, नगरपालिकामा रहेका सबै शैक्षिक संस्था र विद्यालय, स्वास्थ्य संस्थालाई इन्टरनेट प्रविधिमा जोडेर नगरपालिकाको प्रत्यक्ष निगरानीमा सेवा प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘ई–नगरपालिका निर्माणका लागि आवश्यक पूर्वाधारको तयारी सुरु भएको छ,’ नगरपालिकाका प्रमुख प्रशाासकीय अधिकृत जगन्नाथ लामिछानेले भने, ‘अझै धेरै काम गर्न बाँकी रहे पनि आउँदो आर्थिक वर्षअगावै हामी ई–नगरपालिका निर्माण गरिसक्छौं ।’

‘३ नं. प्रदेशको मात्र नभई सम्भवत: देशकै पहिलो ई–नगरपालिका बन्ने तयारीमा छ नीलकण्ठ नगरपालिका,’ पत्रकार महासंघका जिल्ला सभापति नवराज छत्कुलीले भने, ‘जनप्रतिनिधि आएपछि विकासको गति अगाडि बढ्छ र विकासको गति रोकिँदैन भन्ने मान्यता यो नगरापालिकाले व्यवहारमा उतार्न खोजेको छ ।’ नगरपालिकाभित्रका अधिकांश कार्यालयहरूमा ई–हाजिरी गत कात्तिकबाटै सुरु भइसकेको र बाँकी कार्यालयमा पनि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको लामिछानेले बताए । निर्वाचनलगत्तै विदेशी दातृ निकायले पनि नगरपालिकासँग सहकार्य गरी विकास निर्माणमा सघाउ पुर्‍याउन खोजेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?