कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आस्था र संस्कृति जगेर्ना गर्न कुमारी

प्रशान्त माली

ललितपुर — पाटनकी नवनियुक्त राजकीय जीवित देवी लायकु कुमारी ५ वर्षीया निहिरा वज्राचार्यको शनिबार प्रतिस्थापन पूजा हुँदैछ । पाटन तलेजुका पुजारीहरूले ०७० मा कुमारीका रूपमा छनोट गरेकी युनिका वज्रचार्यको रजस्वलापछि निहिरालाई माघ २२ मा छनोट गरिएको थियो । ललितपुर महानगरपालिकामा कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध वज्राचार्य कुलकी पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्याको गर्ने परम्परा छ ।

आस्था र संस्कृति जगेर्ना गर्न कुमारी

पाटन तलेजुका पुजारी नीरन राजोपाध्यायका अनुसार छनोट भएकी कुमारीलाई तलेजुका मूल पुजारीको पटको टोलस्थित घरमा राखेर तान्त्रिक विधिपूर्वक गोप्य पूजा साधना गरिनेछ । ‘पूजामा दीक्षान्त लिएका पुजारी र उनकी श्रीमतीबाहेक अन्य सार्वसाधारण बस्न मिल्दैन,’ उनले भने, ‘पूजापछि त्यहाँबाट सांस्कृतिक बाजागाजासहित रत्नाकर महाविहारस्थित कुमारी घरको सिंहासनमा राखेर तलेजुको तरबार, मुकुट आदि पहिर्‍याइनेछ ।’ प्रतिस्थापनपछि कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन पाइँदैन । कुखुराको मासु, अन्डा, प्याज बार्नुपर्ने, कुमारी घरबाहिर पकाएको खानेकुरा खान र बाहिरका विद्यालयमा पढ्न जान नमिल्ने परम्परा छ । पूजा गर्न नवरत्न जडित मुकुट, नरमुण्ड, जन्तर र नाग माला, बेरुवा आंैठी, लक्षणयुक्त रातो र सक्कली तासको चौबन्दी चोलो र जामा, कलात्मक तायोलगायत आभूषणको तयारी भइसकेको तलेजु पूजा समितिले जनाएको छ ।


ललितपुरमा कुमारीको पालपोषण गर्न चिताइदारको व्यवस्था छैन । स्याहारसुसार, कुमारी घरमै पढाउन र उपचारको व्यवस्था अभिभावक आफैंले गर्नुपर्छ । यसका लागि नवनियुक्त कुमारी निहिराकी आमा मोहिनीले शिक्षण पेसा नै छाडेकी छन् । बुवा निरोज वज्राचार्य भन्छन्, ‘धर्मप्रति आस्था र संस्कृति जगेर्ना गर्न लागि परेका हांै ।’ भर्खरै अवकाश पाएका कुमारी युनिकाका बुवा रमेश भन्छन्, ‘दैनिक समयबजी (प्रसाद) सहितको नृत्य र आरती पूजा गर्न मात्र मासिक ८/१० हजार रुपैयाँ खर्च हुन्छ ।’ ‘खाना, खाजा र पढाउन गरेर मासिक ३० हजार रुपैयाँभन्दा बढी आवश्यक पर्छ,’ उनले भने, ‘केही गरी बिरामी परेमा डाक्टरबाट उपचार गराउन छुट्टै खर्च लाग्छ ।’ उनका अनुसार कुमारीको व्यवस्थापन गर्न ललितपुर महानगरपालिकाबाट मासिक ५ हजार, कौशीतोषाखानाबाट दुई हजार एक सय र गुठी संस्थानबाट तीन हजार रुपैयाँ उपलब्ध हुँदै आएको छ ।


कुमारीलाई तलुजा भवानीको प्रतीकका रूपमा राष्ट्रको रक्षाको देवी मानिन्छ । ‘कुमारीको पूजा र परम्परा मुलुकको उच्च संस्कृति र नारीमाथिकै उच्च सम्मान हो,’ पूर्वकुमारी चनिरा वज्राचार्य भन्छिन्, ‘पहिला कुमारी बन्न प्रतिस्पर्धा हुन्थ्यो । अहिले अभिभावक आफ्ना छोरीलाई कुमारी बनाउन रुचाउँदैनन् ।’ उनका अनुसार कुमारीलाई स्याहारसुसार गर्दैमा घरका अभिभावकले अन्य काम गर्न भ्याउँदैनन् । ‘लामो समय कुमारी जीवन बिताएकाहरूले अवकाश पाएपछि उच्च शिक्षा हासिल गर्ने बेलामा प्रतिस्पर्धामा गाह्रो हुने गरेको छ,’ उनले सुनाइन्, ‘कुमारीको भविष्य सुनिश्चित नहुनेमा परिवार चिन्तित छन् ।’ उनले सबैभन्दा बढी शिक्षामा सुधार गर्नुपर्ने बताइन् । ‘नवनियुक्त कुमारीका अभिभावकलाई पढाइको व्यवस्थापन गर्न हारगुहार गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘विश्वमै अनौठोमा मानिने यो परम्परा नेपाली समाजमा हिन्दु र बौद्ध सम्पद्रायका बीचमा विद्यमान धार्मिक सहिष्णुताको उच्चतम नमुना भए पनि संरक्षणमा राज्यको त्यति ध्यान पुगेको छैन ।’

कुमारी प्रथाको विरुद्धमा २०६६ मा पुनदेवी महर्जनले बालबालिका र महिलासम्बन्धी अधिकार हनन भएको विषय उठाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । महर्जनको विरुद्धमा कुमारी परम्परामा केही सुधार गर्नुपर्ने भए पनि परम्परा नै अन्त्य गर्न नहुने भन्दै प्राध्यापक चुन्दा वज्राचार्यले अर्को रिट दायर गरेकी थिइन् । सर्वोच्चले कुमारी संस्कृतिको अन्त्य गर्ने नभई समयानुकूल सुधार गर्दै लैजान वाञ्छनीय देखिएको भनी संस्कृति मन्त्रालयको नाममा आदेश जारी गरेको थियो । त्यतिबेला सर्वोच्चले कुमारीको विद्यमान अवस्थाको पुनरावलोकन गरी हकहित, आर्थिक र सामाजिक सुरक्षा अभिवृद्धि गर्न निर्देशन दिएको थियो । पूर्वकुमारी चनिरा भन्छिन्, ‘यसलाई कार्यान्वय गर्न तलेजु, रत्नाकर महाविहार, पूर्वकुमारी र सम्बन्धित सरकारी निकाय मिलेर संस्थागत रूपमा अगाडि बढ्नुपर्छ । नभए बकनिम्ह टोलको कुमारी र मिँखा बहालको सोनिम कुमारी जस्तै लोप हुन बेर छैन ।’


शिवकी शक्ति पार्वतीका अनेकौं नामहरूमध्ये कुमारी पनि एक हो । तैतरीय आरण्यकमा उनलाई कन्याकुमारी भनेर भनिएको छ । पुराण र स्मृतिग्रन्थहरूमा कन्याहरूले पनि आफ्नो उमेरअनुसार देवी पार्वतीका विभिन्न नाम र अवस्था प्राप्त गर्दछन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?