कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पशुपतिनाथका सनातन परम्परा मासिँदै

दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथको २० वर्ष पहिलाको तस्बिर हो यो । अर्काे तस्बिर अहिलेको हो । त्यतिबेला मन्दिरको छेउसम्मै घर थिए । अहिले ती घर भत्किएका छन् । घर भएको ठाउँ अहिले खुला छ । ठाउँ खुला भयो । यहाँबाट सरेर कोही कता गए, कोही कता । थातथलो छाड्नेले मुआब्जा पाए । अर्काे ठाउँमा घर बनाए ।

पशुपतिनाथका सनातन परम्परा मासिँदै

तर त्यसको दुष्प्रभावचाहिँ के भयो भने यहाँका संस्कृति मासिँदै गए । परम्परा हराउँदै गए । पशुपतिनाथका भण्डारी केदारमान भण्डारीको शब्दमा त्यतिमात्रै होइन ।


उनी भन्छन्, ‘बस्ती नै उठाएर नौ गुणा नौ (८१) ग्रहको संयोजन भएर बनेको पाशुपत क्षेत्रको यो सनात मान्यतामै असर गर्‍यो । मान्छेले हो संस्कृति निर्माण गर्ने । मान्छेले नै त्यसलाई सञ्चालन गर्ने । मान्छे नै हटाइदिएपछि के हुन्छ ? संस्कृति मासिन्छ । त्यस्तै भएको छ श्रीपशुपतिनाथमा । ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चौर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ ।


नेपालको पहिलो वंश गोपालवंशको राजधानी यही क्षेत्रलाई मानिएको छ । देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतनसमेत भनिन्छ । यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेपाल भाषामा देवपतनलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीका अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो । राजोपाध्याय, कर्मचार्य, जोशी, राजभण्डारी, कपाली, वैद्य, डंगोल, खड्गी र देउला जाति मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दै आएका छन् ।

यी जातिले यहाँ जन्मदेखि मरणसम्मका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् देवपतनमा । यो ग्रहको संयोजन अहिले बिग्रेको छ । पशुपति क्षेत्र विकास कोषले यहाँको बस्ती उठाइदिएपछि ९ टोल अब रहेन । ९ टोलमध्ये ५ टोली उठाइयो । अब चार टोलमात्रै बाँकी छन् । यस्ता टोलमा नवाली टोल, मतन्डी टोल, इतापाखा टोल, पाँचु टोल, भकुन टोल, करे टोल, लगानलाछी टोल, मतमडिल टोल र दथु टोल थिए । यी टोलैपिच्छै बेग्लाबेग्लै जातको बसोबास थियो ।

राजोपाध्याय, भण्डारी, वैद्य, शाक्य, श्रेष्ठ, डंगोल, मानन्धर, खड्गी, नापित, संघ, गाइने, कुसुले लगायतका जाति पशुपति क्षेत्रमा बसोबास गर्छन् । यहाँ नेवार जातिको चारै वर्णको बसोबास थियो । यी टोलमा अलग–अलग जातिको बसोबास थियो । राजोपाध्याय र वैद्यको थलो दथु टोल हो । शाक्य नवाली टोलमा बस्छन् । डंगोलको बसोबास लगनलाछी टोलमा र भगु टोल हो । भण्डारीको टोल दथु टोल, पाँचु टोल र मतन्डी टोल हो । गाइने र खड्गी करे टोलमा, कुुसुले लगानलाछी टोल र भकुन टोलमा छरिएर रहेका थिए ।


पोडेको बसोबास पहिला इतापाखा टोलमा थियो । पछि उनीहरूलाई यहाँबाट अन्यत्र सारिएको थियो । उनीहरूलाई वि.सं. १९४५ मा इतापाखाबाट गौचरनमा सारिएको थियो । यी सबै जातिको बेग्लाबेग्लै काम विभाजन गरिएको पाइन्छ । राजोपाध्यायको काम वैदिक कर्मकाण्ड गर्नु हो । कर्मचार्य तान्त्रिक कर्मकाण्ड गर्छन् । तान्त्रिक र वैदिक विधिबाट पूजा हुने मन्दिर हो पशुपतिनाथ । पहिला यहाँ तान्त्रिक विधिबाट मात्रै पूजा हुन्थ्यो । पछि शंकराचार्यले यहाँ वैदिक विधिबाट पनि पूजा सुरु गराएका हुन् ।


राजभण्डारीले ढुकुटीको संरक्षण गर्ने गर्छन् । जोशीले पूजाको साइत जुराउने काम गर्छन् । डंगोल, महर्जनले देवपतनमा हुने रथयात्रा, खटयात्राको रथ, खटको मर्मत, गर्नेलगायत काम गर्छन् । यहाँ हुने सबै जात्रामा यो जातिको सहभागिता रहन्छ । तान्त्रिक विधिअनुसार हुने पूजामा कसाईको सहभागिता हुन्छ । ‘यहाँ कुनै जातीय विभेद छैन,’ कपाली समाजका अध्यक्ष रत्न कपाली भन्छन्, ‘सबै जातिको संयोजन छ यहाँ । तर पशुपति विकास कोषले बस्ती उठाइदिएपछि कोही कता, कोही कता भएका छन् ।’


पशुपति क्षेत्रका बस्ती २०५८ सालमा अधिकरण गरिएको हो । त्यतिबेला पशुपति विकास कोषका सदस्य सचिव वसन्त चौधरी थिए । कांग्रेस नेता बलबहादुर केसी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । यहाँका ९ जातिका १ सय १९ घर भत्काइयो । वनकाली क्षेत्रको ९० र तिलगंगा क्षेत्रको ५८ घर भत्काइएका थिए । ‘संकटकाल लागेका बेलामा अधिकरण गरियो ।

हामीले आवाज उठाउन पनि पाएनौं,’ भण्डारी भन्छन्, ‘घर भत्किएपछि घरमात्रै विस्थापित भएनन् डबली विस्थापित भए । चोक विस्थापित भए । शक्तिपीठ पनि विस्थापित भए । मूर्ति चोरिए । यहाँ जताततै शक्तिपीठ छन् । तिनको संरक्षण भएन । बाजा बजाउने गए । बाजा हरायो । अन्त गएपछि यहाँ आइराख्न समस्या हुँदोरहेछ ।’ पशुपति क्षेत्रमा १२ महिनामा २२ जात्रा हुन्छन् । हरेक महिना कुनै न कुनै जात्रा पर्छ । ३ सय ६५ दिनमा १ सय ८ भन्दा बढी पर्व पूजा हुन्छन् । त्रिशुल जात्रा, गंगामाई जात्रा, उपागो वनेगु, गणेश जात्रा, दुदु च्याँच्याँ, माधवनारायण, गुह्येश्वरी जात्रा, देशोद्वार पुजा, बज्रेश्वरी जात्रा, वत्सलेश्वरी जात्रा, शिव–पार्वती नाच, वाग्मती जात्रा र कुण्ड जात्रा मुख्य जात्रा हुन् ।


यी विस्तारै लोप हुँदै गएका छन् । रागरागिनी बाजा बजाउनुपर्ने हुन्छ । पञ्चैबाजा बजाउन पनि दमाई ल्याएर बजाउनुपरेको भण्डारी बताउँछन् । धिमे बाजा, खिं बाजा, विभिन्न समयमा बजाउने बाजा हराएको छ । दक्षिणढोकामा ८४ व्यञ्जनसहितको महाभोग लगाउनुपर्छ । भोग लगाउँदा पनि विशिष्ट बाजा बजाइन्थ्यो । त्यो बाजा पनि हराएको छ । भगवान्लाई उठाउँदा, खाना खुवाउँदा र सुताउँदा राग बजाउने गरिन्छ । यहाँको उन्मुक्त भैरवको माथि कुमारी पूजा भएको हुन्छ ।

हनुमानढोकाको तलेजु भवानीका पुजारी आउँछन् यहाँ । ‘त्रिखण्ड रूपमा पूजा हुन्थ्यो । तर त्यहाँ पूजा भएको छैन,’ भण्डारी भन्छन्, ‘पूजा व्यवस्थित भएको छैन । विधि विधानअनुसार भएको छैन । पूजामा टुट आएको छ ।’ शिव–पार्वती नाच नभएको तीन वर्ष भयो । चारुमती विहारका शाक्य परिवारले चलाउँथे यो नाच । खर्च अभावमो यो नाच अहिले लोप भएको छ । पशुपति क्षेत्र विकास कोषसँग ५ लाख रुपैयाँ माग गरेका थिए । कोषले त्यो उपलब्ध गराएन । पशुपति क्षेत्रका प्रत्येक चोक, प्रत्येक डबलीमा तीन दिनसम्म नाचिन्थ्यो यो नाच ।


लिच्छविकालदेखि नै सुरु भएको मानिन्छ यो नाच । चाबहिलको चारुमती विहारका अशोकको छोरी चारुमतीको विवाह देवपतनका देवपाल राजासँग भएको मानिन्छ । वाग्मती जात्रा पनि लोप भएको छ । चोभारदेखि वाग्मतीको मुहान बागद्वारसम्म १ सय ८ तीर्थ छन् । यी सबै तीर्थमा नुहाएर पूजा गर्ने विधि विधान हुन्छ । ‘घर भत्किएपछि गुरु अन्त गए । गुरु अन्त गएपछि खट बोक्ने पनि गए । धर्म संस्कृति चलाएर बसेका प्राचीन बासिन्दा यहाँबाट बिदा भए । गुरु नभएपछि अधिकांश परम्परा लोप हुँदैछन्,’ राजभण्डारी भन्छन्, ‘स्थापित हुनुपर्ने सबै विस्थापित भए ।

कोषले गुरुयोजना अघि बढिरहेको बताएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी पशुपति क्षेत्रको नदी, जंगल, जमिनलगायत सबै स्रोत तथा सम्पदाको समुचित उपयोगसहितको गुरुयोजना निर्माण गर्ने कोषले जनाएको छ । धार्मिक पर्यटक, दर्शनार्थी, भक्तजनको बढ्दो चापलाई दीर्घकालसम्म व्यवस्थापन गर्ने अवधारणासहित गुरुयोजना बनाइने कोषले जनाएको छ । २०५८ सालमै १० वर्षे योजनासहित गुरुयोजना अघि बढाइएको थियो ।


त्यही गुरुयोजनाअन्तर्गत २ सय ६५ हेक्टर जमिन अधिकरण गरिएको थियो । पशुपति गुरुयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको छ । ‘गुरुयोजनामा के–के बन्ने भनेर खाका बनेको छ,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा भन्छन्, ‘अबको २/४ वर्षमा पशुपतिनाथ हेर्न लायक ठाउँ बन्छ ।’ स्थानीयवासी धार्मिक क्षेत्रमा व्यापारिकीकरणको नियतले काम अघि बढाएको गुनासो गर्छन् । ‘धार्मिक ठाउँमा व्यापारभन्दा सेवा बढी हुनुपर्ने हो,’ राजभण्डारी भन्छन् ।


पहिला यहाँ जति पनि संस्कार हुन्थे सबै नि:शुल्क थिए । यहाँका आदिवासी नेवारले सेवा दिंदै आएका थिए । दाहसंस्कार नि:शुल्क हुन्थ्यो । अहिले २ हजार २ सयदेखि ६ हजार रुपैयाँसम्म लिइन्छ । पहिला गुठियारले शव जलाउँथे । २०३२ सालमा गुठी संस्थान स्थापना गरेपछि यहाँका प्राचीन गुठी संस्थानको स्वामित्वमा गयो । गुठीका नाममा भएका जग्गासमेत संस्थानले मासिदियो । आफैं चल्दै आएका पर्वपूजा, जात्रा चलाउन अब अरूको भर पर्नुपर्ने भयो । २०४३ सालमा पशुपति क्षेत्र विकास कोष आयो ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?