कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

थपिँदै पर्यटकीय गन्तव्य

शिव पुरी

भरतपुर — चितवनमा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यहरू थपिँदै गएका छन् । गन्तव्य थपिएसँगै यहाँ आउने आन्तरिक तथा बाहय पर्यटकको संख्या पनि बर्सेनि बढिरहेको छ ।

थपिँदै पर्यटकीय गन्तव्य

मेघौली गोलाघाट होमस्टे टुर, देवघाट मौलाकाली टुर, ज्ञानेश्वर सामुदायिक टुर, सिराई चुली हात्तीवाङ तथा काउले होमस्टे, ट्ेरकिङ, उपरा दाङगढी, बीसहजारी ताल टुर, नारायणी नदी किनार टुरलगायत नयाँ गन्तव्य अघि आएका हुन् । यसले पर्यटन विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ । पर्यटक आउँदा थारु संस्कृतिमा बढी रमाउंछन् । विभिन्न होटलमा थारू समुदायले ठेकरा, डम्फु, स्टिक, झम्टा नाच देखाएर पर्यटक आकर्षित गरिरहेका छन् । गाउँ क्षेत्रमा रहेका गन्तव्यमा विभिन्न समुदायका संस्कृति तथा पर्यटक आकर्षित गर्ने वेशभूषाले पर्यटक लोभ्याउने गरेको छ ।

विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज र विश्वमै दुर्लभ एकसिंगे गैंडाको बासस्थानले विश्वभरकै पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बनेको हो । जिल्लामा अहिले ३६ पर्यटकीय गन्तव्य पहिचान भइसकेका छन् । यसको संरक्षण र सम्वद्र्धनमा सरोकारवालाहरू पनि जुटेका छन् ।


सौराहा

अधिकांशको रोजाई सौराहा बन्ने गर्छ । सौराहा घुम्न आउने पर्यटक चितवन निकुञ्जलाई आफ्नो घुमफिरको क्षेत्र बनाउँछन् । त्यहाँ रहेका दुर्लभ वन्यजन्तु उनीहरूका लागि आकर्षणको केन्द्र बन्छन् । पूर्व–पश्चिम राजमार्गबाट झन्डै ६ किमि दक्षिणमा अवस्थित निकुञ्ज राप्ती नदी र वन सम्पदाले भरिपूर्ण छ । सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकले जंगल सफारी, हात्ती, डुंगा सयर, तालतलैया, चराचुरुंगी, जीवजन्तु अवलोकन, सामुदायिक वनमा पैदल यात्रा, जैविक सूचना केन्द्र, संग्रहालय, थारू नृत्य र हात्ती प्रजनन केन्द्रको अवलोकन गर्छन् । पर्यटकले निकुञ्जलाई आफ्नो घुमफिरको क्षेत्र बनाउँछन् । सौराहामा झन्डै सय हाराहारीमा होटल निर्माण गरिएको छ । तीमध्ये ३० वटा सुविधा सम्पन्न छन् ।


सीतामाई–पटिहानी पैदल यात्रा

पटिहानी सौराहा पछिको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटकमैत्री होटल, लज, रेस्टुरेन्टहरू खुलिसकेका छन् । यसको प्रवद्र्धनमा जोड दिनुपर्ने सरोकारवालाहरू बताउँछन् । बाटुली पोखरी सिमसार क्षेत्र अवलोकन तथा आगन्तुक चरा पनि यहाँको विशेषता छ । यहाँ हात्तीबाट जंगल यात्रा, वन्यजन्तु अवलोलक जलक्रिडा, गोही प्रजनन केन्द्र अवलोकन, थारू सांस्कृति संग्रहालय, हाँसको मासु, राप्तीको माछा र थारू जातिको खानाको परिकारले पर्यटकहरू आनन्द लिन्छन् ।


मनमोहक चित्राम झरना

विकट कालिका नगरपालिका ११ स्थित चेउराङमा रहेको चित्राम झरनामा पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ । बाह्रैमहिना पानी बग्ने उक्त झरनामा पहिलोपटक पाइला टेक्नेहरू लोभिन्छन् । वरिपरिको दृश्यले मोहित बनाउँछ । सुरुको अवस्थामा पर्यटनको क्षेत्रमा काम गर्ने संघसंस्थाले झरनासम्म पुग्ने सामान्य बाटो बनाए पनि अहिले झाडीले गर्दा समस्या भएको छ । बाटो अप्ठयारो छ । प्रचारप्रसारको कमीले झरना ओझेल परेको छ ।

व्यवस्थित बाटो नबन्दा यहाँ जाने आँट हत्तपत्त कसैले गर्न सक्दैन । स्थानीय पूर्वशिक्षक बालकृष्ण तामाङका अनुसार झरना लामो भए पनि कति छ भन्नेबारे यकिन हुन सकेको छैन । स्थानीयले करिब १ सय ५० मिटर अग्लो हुनुपर्ने अनुमान लगाउँदै आएका छन् । सरकारी निकायबाट झरनाको विकास र प्रचारप्रसारमा कुनै किसिमको सहयोग नगरिएको गुनासो स्थानीयले गर्दै आएका छन् ।

आन्तरिक पर्यटक भने जोखिम मोलेर झरनासम्म पुग्ने गरेका छन् । सिद्धिको तीनदोभान हुँदै ज्याम्लिङसम्म मोटरसाइकलमा जान सकिने र त्यसपछि ३ घण्टा पैदल हिँडेर झरनासम्म पुग्न सकिन्छ । यो ठाउंँमा सबैभन्दा धेरै चेपाङ त्यसपछि तामाङ, गुरुङ समुदायको बसोबास छ । झरनाको प्रचारप्रसार र व्यवस्थित बाटो निर्माण गर्न सकिए पर्यटकको केन्द्र बन्ने स्थानीय बताउँछन् । झरनामा क्यानोनिङ गर्नसमेत मिल्ने स्थानीयको भनाइ छ । झरना आसपास बहुमूल्य जडीबुटीसमेत पाइन्छ । स्थानीयका अनुसार झरना आसपास क्षेत्रमा घोरल पनि पाइन्छ ।


नारायणी जलयात्रा

नारायणी नदी किनारको सुन्दरता आफैंमा पूर्ण छ । नदीकिनारमा रहेको गौरेश्वर, भगवती, बौद्ध मन्दिरलगायतले पर्यटकलाई आकर्षित गरिरहेको छ । नारायणीमा साँझको दृश्य निकै रमाइलो हुन्छ । घर, बजार, व्यवसाय र अन्य कारणले तनावमा बसेकाहरू मुक्त हुन यहीं आउँछन् ।

तीनवटै नदीको संगममा जलयात्रा गराउन सके विदेशी र आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी दिनेशकुमार चुके बताउँछन् ।

‘जल यात्रासहितको धार्मिक पर्यटन विकास गर्न सके जिल्लामै नमुना गन्तव्य बन्न सक्छ,’ उनले भने, ‘त्रिशूली र नारायणीमा देवघाटदेखि त्रिवेणीसम्मको जलयात्रा गरी मनकामना, देवघाट र वाल्मीकि आश्रमबीचको धार्मिक पर्यटनको विकास गराउन सकिन्छ ।’ ‘निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न आउने विदेशी र आन्तरिक पर्यटकलाई यो क्षेत्रमा आकर्षण गराउन संघले पहल थालेको छ ।

विश्व सम्पदा सूचीमा रहेको निकुञ्जमा बाघ गैंडाजस्ता दुर्लभ वन्यजन्तु हेर्न, घुम्न पर्यटक आउँछन् । पर्यटकलाई जल यात्रासहितको धार्मिक पर्यटनको नयाँ गन्तव्य देखाउने हो भने यसले पर्यटकीय क्षेत्र विकासलाई ठूलो टेवा पुग्ने संघका अध्यक्ष सहनलाल प्रधानले बताए । ‘पर्यटकीय गन्तव्यका रूपमा यसलाई विकसित गर्दै लैजाने हाम्रो अभियान, उद्देश्य र परिकल्पना पनि हो,’ उनले भने, ‘नारायणी नदीको संरक्षण र विकास गर्न सक्यौं भने साँच्चिँकै यसलाई देशकै दोस्रो गन्तव्यमा परिणत गरी लैजान सकिनेछ ।’

प्रचारप्रसार तीव्र

यहाँस्थित मेघौली, पटिहानी र जगतपुरमा ठूलो लगानीका होटल सञ्चालनमा आए पनि ती क्षेत्रबारे पर्यटक कमै जानकार छन् । यसका लागि पर्यटन व्यवसायीहरू पनि प्रचारप्रसारमा जुटेका छन् । चितवन भन्नसाथ सबैलाई सौराहा भन्ने मात्र थाहा छ,’ पर्यटन व्यवसायी सुबोध प्रधान भन्छन्, ‘तर मेघौलीको पर्यटकीय क्षेत्रबारे कमैलाई थाहा छ ।’ उनले पर्यटक एकान्त वातावरणमा रम्न चाहने र सधैं एकान्त ठाउँको खोजीमा हुने भएकाले मेघौलीमा आफूले रिसोर्ट निर्माण गरेको बताए । पर्यटन व्यवसायीले पर्यटकीय क्षेत्रमा पुगेर प्रचार अभियान थालेका छन् । अहिले यहाँका होटल ब्यवसायी र पर्यटन व्यवसायी एकजुट भएर पर्यटकीय क्षेत्रको प्रचार र खोजीमा छन् ।

‘ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न लागिपरेका छौं,’ क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले भने, ‘जुन कुरामा सबै सकारात्मक छन् ।’ उनले केही समयअघि होटल व्यवसायीसहितको टोलीले पर्यटकीय क्षेत्रको अवलोकन गरेको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?