कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आत्मनिर्भर नहुँदा सौता सहन बाध्य

कान्तिपुर संवाददाता

हेटौंडा — बिहान–बेलुकीको हातमुख जोर्ने समस्याकै कारण कैलाश गाउँपालिका ९ की ३४ वर्षीया मञ्जु थापा सौता सहन बाध्य छिन् । 

आत्मनिर्भर नहुँदा सौता सहन बाध्य

उनका पति श्यामले महिना दिनअघि एक महिलालाई कान्छी पत्नीका रूपमा घर भित्र्याए । सौता र पतिको खप्की सहन नसकी उजुरीका लागि प्रहरी कार्यालय पुगेकी मन्जु पतिलाई १ देखि ३ वर्षसम्म थुन्न सक्ने कानुनी प्रावधान रहेको जानकारी पाएपछि उजुरी नगर्ने निधोमा पुगिन् । भन्छिन्, ‘पतिलाई जेल पठाएर कसरी बालबच्चा हुर्काउने ? बरु सौताको खटनपटन सहन्छु भन्ने सोचले उजुरी नगरी फर्किंएँ ।’


३ बच्चाकी आमा मञ्जुलाई सौता र पति दुवैसँग एक छिन बस्न त के हेर्न पनि मन छैन । मजदुरी गरी खान पुग्ने जमिन वा बच्चा र आफू पालिनसक्ने क्षमता हुँदो हो त बहुविवाह गर्ने पति र सौतालाई कानुनी कारबाही गराई छाड्ने रिस उनीसँग छ । आत्मनिर्भर नभएकै कारण आफू र बच्चा पालिनकै लागि पति र सौतासँग चुपचाप बस्न बाध्य छिन् ।


१/२ महिना पतिलाई जेल हालेर सौता छुटाउन उनी चाहन्छिन् । ३/३ वर्षसम्म पतिलाई जेल हाल्दा आफ्नै बिचल्ली हुने डरले प्रहरीमा उजुरी नदिएको मन्जुको भनाइ छ । ‘श्रीमान्को बानी–व्यहोरा हेर्दा प्रहरीमा उजुर दिएर ३ वर्ष थुनाउनुपर्ने खालको छ । तर के गर्नु ऊ थुनामा परेपछि ३ बच्चा र आफ्नो मुखमा माड लाग्दैन,’ उनले रुँदै भनिन् ।


राक्सिराङ गाउँपालिका ६ की अनीता मोक्तानले गरिबीका कारणले सौताको खप्की सहिरहेकी छन् । कक्षा ११ सम्म अध्ययन गरेकी उनले पतिलाई बहुविवाहमा थुनाएर २ बालबच्चाको पालनपोषण कसरी गराउने भन्ने चिन्ताले प्रहरी कार्यालय पुगे पनि मुद्दा दर्ता नगराई फिर्ता भइन् । ‘आफू र बालबच्चा पाल्ने आधार भए श्रीमान् र सौता दुवैलाई बहुविवाहमा जेल हालिदिन्थें,’ उनले भनिन् । मञ्जु र अनीता मात्र होइन मकवानपुरका अधिकांश महिलाले नियति यस्तै छ ।

पतिले सौता ल्याएको झोंकमा महिलाहरू प्रहरी कार्यालयमा उजुरी दिन आउँछन् । १ देखि ३ वर्षसम्म पति र सौता थुनिन सक्छन् भनेपछि मलिनो अनुहार लगाएर उजुरीबिनै फर्किन्छन् । प्रहरी कार्यालयको महिला सेल प्रमुख दीपा कार्की भन्छिन्, ‘यहाँ बहुविवाहका मुद्दा धेरै आउँछन् । तर पछि सौता र पतिसँगै मिलेर बस्छौं भनेर फर्कने गरेका छन् ।’


मुलुकी ऐनको एघारौं संशोधनले बहुविवाह गर्ने दुवैलाई १ देखि ३ वर्षसम्म थुनामा राख्न सक्ने वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म दण्ड गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । बहुविवाह नियन्त्रणका लागि कानुनी व्यवस्था रहे पनि आत्मनिर्भर नभएकाले बहुविवाहको पीडा सहेर महिलाहरू बस्न बाध्य रहेको अधिवक्ता ललिता श्रेष्ठ बताउँछिन् ।


‘कानुन मात्र कडा बनाएर के गर्नु महिलाहरू आत्मनिर्भर र शिक्षित नभएसम्म बहुविवाह प्रथा नियन्त्रण आउँदैन,’ उनले भनिन् । आगामी भदौदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा बहुविवाह गरे २ वर्षदेखि ५ वर्षसम्म थुनामा राख्ने सक्ने व्यवस्था छ ।


यस आवको ८ महिनामा जिल्ला अदालत मकवानपुरमा ९ वटा बहुविवाह मुद्दा दर्ता भएका छन् । पतिले बहुविवाह गरी पीडा खेप्नुपरेको दुखेसो पोख्न प्रहरी कार्यालय र माइती नेपालमा मासिक सरदर १० महिला आउने गरेको माइती नेपाल हेटौंडा शाखा प्रमुख माया लामाको दाबी छ । भन्छिन्, ‘तर पतिविरुद्ध लिखित उजुरी दिन भने मान्दैनन् ।’

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?