सरकारी अस्पतालमा एनआईसीयू अभाव

‘नयाँ एनआईसीयू बेड आइहाले पनि राख्ने ठाउँ छैन, मुख्य भवन भत्किएपछि अस्पताल साँघुरिएको छ ।
फातिमा बानु

काठमाडौँ — जन्मँदै स्वास्थ्य समस्या भएका, गर्भमा बसेको नौ महिना नपुग्दै जन्मिएका शिशुका लागि अत्याआवश्यक पर्ने एनआईसीयू (शिशु सघन उपचार कक्ष) अभाव देखिएको छ । राजधानीका सबै सरकारी अस्पतालमा एनआईसीयू सेवा छैन । कुनै अस्पतालमा न्यून बेड छन्, कतै बिग्रिएर थन्किएका छन् ।

सरकारी अस्पतालमा एनआईसीयू अभाव

देशकै केन्द्रीय बाल अस्पतालका रूपमा चिनिएको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको अवस्था नाजुक छ । अस्पतालको २५ वटा एनआईसीयू बेड बिग्रिएर थन्केका छन् । १६ वटा बेड मात्रै सञ्चालनमा छन् । अस्पतालका निर्देशक डा. गणेश राई भन्छन्, ‘भएका बेडमा काम गर्नका लागि जनशक्ति छैनन्, तलब दिन नसक्दा भएका कर्मचारीले पनि काम छोड्ने क्रम जारी छ ।’ बिरामीको चापअनुसार अस्पतालमा कम्तीमा एक सय एनआईसीयू बेड आवश्यक पर्ने उनी बताउँछन् । देशभरिका अस्पतालले कान्ति बाल अस्पतालमै बच्चा रेफर गर्छन् । आएजत्तिलाई सेवा दिन नसक्दा बिरामी पक्षले झगडा गर्ने, धम्की दिने गरेको डा. राईले सुनाए ।

बालरोग विशेषज्ञका अनसार नौ महिना नपुग्दै जन्मिएका, जन्मँदै जन्डिस भएका, मुटुरोग लागेका, रगत नमिलेका, कम तौल भएका, कडाखाले निमोनियाँ भएका, प्राकृतिक, श्वास लिन नसकेका, निसास्सिका शिशुलाई अनिवार्य एनआईसीयू र भेन्टिलेटर आवश्यक पर्छ ।

थापाथलीस्थित प्रसूति गृहमा दैनिक २२ वटासम्म शिशु जन्मन्छन् । मासिक करिब एक सय शिशु नौ महिना नपुग्दै जन्मिन्छन् । यस्ता शिशुलाई एनआईसीयूको भेन्टिलेटरमा राखेर बचाउनुपर्छ । गृहमा १५ वटा एनआईसीयू बेड छन्, तीनवटा भेन्टिलेटर छन् । अपर्याप्त बेड र भेन्टिलेटरका कारण गृहले कान्ति बाल अस्पतालमा शिशु रेफर गर्ने गरेको अस्पताल प्रमुख रानु थापाले बताइन् । ‘नयाँ एनआईसीयू बेड आइहाले पनि राख्ने ठाउँ छैन, मुख्य भवन भत्किएपछि अस्पताल साँघुरिएको छ, रिफरका भरमा काम चलिरहेको छ ।’ उनले भनिन् । गृहकी नर्सिङ प्रमुख मैया मानन्धर भन्छिन्, ‘ आमासँग राख्न नमिल्ने बच्चालाई पनि यस्तो बेड चाहिन्छ, बेड नै पुग्दैन ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालको कुल बेडको १० प्रतिशत एनआईसीयूको लागि छुट्याउनुपर्छ । अस्पतालका आर्थिक र भौतिक समस्याका कारण प्रयाप्त एनआईसीयू बेड बन्न सकेका छैनन् । संगठनले एक नर्सले एक शिशु हेर्ने मापदण्ड तोकेतापनि अस्पतालमा एकै नर्सले आठ जनासम्म शिशु हेर्नुपर्ने अवस्था छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशक कोपिला पालिखे श्रेष्ठका अनुसार समयअगावै जन्मिएका शिशुको वृद्धि विकास पूर्ण भइनसक्ने हुँदा बच्चालाई हुँदैन, एनआईसीयूमा अक्सिजन र ताप दिएर बचाउनुपर्छ । उनी भन्छिन्, ‘यस्ता बच्चालाई २४ घण्टा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ, नत्र बचाउनै सकिँदैन ।’ अस्पतालमा प्रयाप्त एनआईसीयू बेड छैनन् । शिशुहरू अन्य शिक्षण अस्पताल र निजीमा रेफर हुन्छन् । सरकारी अस्पतालले १२ सय रूपैयाँमा एनआईसीयू सेवा दिन्छ । निजीमा यस्तो सेवा १० हजार घटीमा पाइँदैन । सरकारीमा प्रयाप्त बेड नहुँदा बिरामी महँगो शुल्क तिरेर निजीमा रेफर हुन बाध्य छन् ।

देशको जेठो अस्पताल वीरमा एनआईसीयू बेड छैनन् । अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत भन्छन्, ‘हाम्रो बालबालिकाकै लागि भनेर सेवा छुट्याइको छैन, सरकारले ठोस कुनै योजना पनि बनाएको छैन ।’ उनले भने । प्रसूति गृहको नयाँ भवन निर्मार्णाधीन छ । नयाँ बन्ने भवन सात सय बेडको हुने अस्पतालले जनाएको छ । कुल बेडको १० प्रतिशत एनआईसीयूका लागि छुट्याइने प्रशासन प्रमुख थापाले बताइन् ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?