सार्वजनिक जग्गामा अवैध बालुवा उत्खनन

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–४ गौतमेश्वर क्षेत्रको सार्वजनिक जग्गाबाट अवैध रूपमा बालुवा उत्खनन गरिएको छ । नगरपालिकाले बालुवा खानी क्षेत्रबाट माटो निकाल्न स्वीकृति दिएको बहानामा गौतमेश्वर क्षेत्रको करिब ९४ रोपनी सार्वजनिक जग्गा नै मासिने गरी चारैतिरबाट बालुवा उत्खनन भएको स्थानीय बासिन्दा बताउँछन् । 

सार्वजनिक जग्गामा अवैध बालुवा उत्खनन

नगरपालिकाले माघ १० मा नगरकार्यपालिकाको बैठक राखी कार्यविधि नै नबनाई इँटाभट्टासँग राजस्व लिएको नाममा खानी क्षेत्रबाट माटो निकाल्ने स्वीकृति दिएको छ । नगरपालिकाको निर्णयलाई उल्लंघन गर्दै व्यवसायीले अवैद्य रूपमा स्काइभेटरको प्रयोग गरी बालुवा निकाल्न थालेको स्थानीय साधुराम दाहालले बताए ।


नगरपालिकाले कुनै सीमांकन, अनुगमन तथा अवलोकन नै नगरी हचुवाको भरमा माटो निकासाको स्वीकृति दिँदा बालुवा तस्करी मौलाएको छ । २०७१ फागुन १५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्लामा सञ्चालित बालुवा, माटो, ढुङ्गा, पाँगोमाटोलगायत २६ खानीको फाइल कब्जामा लिएको छ । हालसम्म अख्तियारले कुनै प्रतिक्रिया दिएको छैन । अख्तियारले फाइल नियन्त्रणमा लिएलगत्तै साबिक जिल्ला विकास समितिले भक्तपुरमा सञ्चालनमा रहेका सम्पूर्ण खानी बन्द गराएको थियो । अवैध रूपमा बालुवा उत्खनन भएको सार्वजनिक क्षेत्रलाई व्यवस्थापन गर्न नगरपालिकाले बजेट छुट्याएको जनाएको छ । नगरपालिकाको पहिलो नगरसभाले गौतमेश्वर क्षेत्रको सार्वजनिक जग्गालाई व्यवस्थित गरी खेलमैदान निर्माणका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको वडाध्यक्ष बुद्धिलाल मर्हजनले बताए ।


वैधानिक रूपमा खानी बन्द भए पनि अवैधानिक रूपमा खानी क्षेत्रबाट चोरीनिकासी भने रोकिएको छैन । नगरपालिकाले खानी व्यवस्थापन गर्नुको साटो इँटाभट्टाबाट कर लिएको नाममा खानी क्षेत्रबाट माटोको स्वीकृति दिएपछि बालुवा चोरीनिकासीले विकराल रूप लिएको स्थानीय बताउँछन् । ‘संघीयता लागू भइसकेको अवस्थामा जनप्रतिनिधिले खानी सञ्चालन तथा व्यवस्थापनका लागि कुनै नीतिगत निर्णय गर्न नसक्दा अत्याधिक भूमिदोहन बढेको छ,’ स्थानीय रमेश खनालले भने, ‘अख्तियारले खानीको फाइल कब्जामा लिएको भन्दै नगरपालिका, जिल्ला समन्वय समितिले तस्करलाई प्रोत्साहन गर्नु हुन्न ।’


स्थानीय तह जनप्रतिनिधिको हातमा आइसक्दा जनताले विश्वास गरी जिताएको जनप्रतिनिधिले खानी क्षेत्रको अनुगमन, अवलोकन तथा सीमांकन गरेर खानी व्यवस्थापन गर्नुपर्ने उनले बताए । चाँगुनारायण नगरपालिका दुवाकोट, झौखेल, चाँगु क्षेत्र अव्यवस्थित बालुवा खानीले कुरूप बनेको छ भने छालिङ, बागेश्वरी, सुडाल, ताथली इँटाभट्टाका कारण प्रदूषित छ । चाँगुनारायण नगरको अधिकांश ढिस्को भूमिदोहनका कारण फुस्रो हुँदै गएको स्थानीय सरस्वती न्यौपाने बताउँछिन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिकाले हालसम्म सार्वजनिक जग्गा संरक्षण, वातावरण/पर्यावरण संरक्षणको लागि कुनै पनि नीतिगत निर्णय गर्न सकेको छैन ।


अवैध रूपमा थुपारिएको बालुवा पुरियो

चाँगुनारायण नगरपालिका ४ गौतमेश्वरदेखि ज्योतिर्लिङ्गेश्वर मन्दिर क्षेत्रमा अवैध रूपमा थुपारिएका बालुवा पुरिएको छ । चाँगुनारायण नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष बुद्धिलाल महर्जनको नेतृत्वमा, महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षकलगायतको टोलीले शनिबार खानीबाट अवैधानिक रूपमा निकालिएको बालुवाको थुप्रो पुरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीका अनुसार गौतमेश्वरदेखि ज्योतिर्लिङ्गेश्वर क्षेत्रमा थुपारिएको सयौं ट्रिप बालुवा पुरेको छ ।


अवैधानिक रूपमा सञ्चालित खानीबाट निकालिएको बालुवा पुर्नु नै बालुवा उत्खननको विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । ‘खानीलाई सञ्चालन तथा व्यवस्थापन गर्ने विषयमा अन्योल छ,’ वडाध्यक्ष बुद्धिलाल महर्जनले भने, ‘जिल्ला समन्वय समिति, नगरपालिका, व्यवसायी, सरोकारवाला निकायको पहलमा खानीलाई व्यवस्थापन गर्न लाग्नु जरूरी छ ।’ अख्तियारले खानीको फाइल कब्जामा लिईरहेको अवस्थामा नवनिर्वाचित जनप्रतिनिधि अलमलमा परेको उनले स्वीकार गरे ।


नगरप्रमुख सोमप्रसाद मिश्रले भने खानी क्षेत्रबाट माटो मात्र निकाल्ने स्वीकृति दिएको बताउँछन् । ‘जिल्लाको अधिकांश खानीको फाइल अख्तियारले लगेको छ,’ उनले भने,‘नगरपालिकासँग खानीको विवरण छैन, कुन खानी हो/होइन नगरपालिकालाई जानकारी छैन ।’

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?