कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय भवन पुनर्निर्माणमा अनियमितता

कान्तिपुर संवाददाता

ललितपुर — दक्षिण दुर्गम पहाडी भेग गिम्दीस्थित विद्यालय भवन पुनर्निर्माण गर्ने क्रममा नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) नामक गैरसरकारी संस्थाले कमसल सामग्री प्रयोग गरेको भेटिएको छ ।

एनसीएफले वाग्मती गाउँपालिका–७ स्थित थुम्की प्रारम्भिक विद्यालयको ट्रस्ट भवन निर्माण गर्ने क्रममा गुणस्तरहीन जस्तापाता, वालुवा, गिट्टी, रड, ढुंगा र फलाम प्रयोग गरेको हो । थुम्की प्रारम्भिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्राविधिक र अभिभावकले स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो भेटिएको हो ।


एनसीएफले विद्यालयको दुई कोठे ट्रस्ट भवन बनाउन ९ लाख र सञ्चालन खर्च १ लाख गरेर जम्मा १० लाख रुपैयाँ जापानस्थित इभेनजिलिगल एसोसियसन (जेईए) नामक संस्थाबाट वैशाखमा सहयोग प्राप्त गरेको थियो । एनसीएफका सञ्चालक पवल बस्नेतले विद्यालयका केही साथी र प्राविधिकलाई खुसी पार्न नसकेपछि आरोप लगाएको दाबी गरे । ‘निरीक्षणमा आएका प्राविधिकले गुणस्तरहीन भएको भन्दैमा स्विकार्न सकिँदैन,’ उनले भने, ‘त्यसमाथि रकम हामीले नचलाएर प्रिन्सिपल र व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छौं ।’


पुनर्निर्माण र पुन:स्थापनाका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७२ परिच्छेद २ को दफा ६ को उपदफा (ङ) मा भूकम्प र सोपछिका परकम्पले क्षति गरेका संरचनाको पुनर्निर्माण गर्दा स्वीकृत मापदण्ड, डिजाइन, निर्माण विधि र गुणस्तरीय निर्माण सामग्रीको उपयोग गर्ने गराउने कानुनी प्रावधान छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्राविधिक र अभिभावकको बैठकले गुणस्तरहीन सामान प्रयोग गरेर संरचना बनाउने एनसीएफका सञ्चालकलाई कारबाही माग गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाईमा समेत

पत्राचार गरेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?