भित्री सडकमा दुर्घटना बढ्यो

रमेशकुमार पौडेल

चितवन — राजमार्गमा हुने दुर्घटनाले चर्चा धेरै पाउने गर्छ । तर चितवनमा संख्याका हिसाबले हेर्ने हो भने गाडी दुर्घटना राजमार्गमा भन्दा भित्री सडकमा धेरै हुने गरेको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको विवरणअनुसार गएको माघ महिनामा जिल्लाभरि २६ वटा गाडी दुर्घटना भए जसमध्ये भित्री सडकमा १२ वटा दुर्घटना भएको छ ।

चितवन हुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक गएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार माघ महिनामा पृथ्वी राजमार्गमा कुनै पनि दुर्घटना भएन । माघमा नारायणगढ–मुग्लिन सडक क्षेत्रमा चारवटा दुर्घटना भएका छन् । त्यस्तै मेहन्द्र राजमार्गमा छ वटा र भरतपुर बजार क्षेत्रमा पाँचवटा दुर्घटना भएका छन् ।


यीबाहेकका अन्य सडकमा १२ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा सबैभन्दा धेरै ज्यान जाने घटना भने नारायणगढ–मुग्लिन सडकमा भएको छ । उक्त सडक खण्डमा माघ महिनामा भएको दुर्घटनामा चार जनाको ज्यान गएको छ । माघ महिनामा कुल १३ जनाको ज्यान गएको थियो जसमा चार जनाको निधन भित्री सडकका घटनामा भएको देखिन्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा तीन जना र भरतपुरको नगर क्षेत्रमा एक जनाको ज्यान गएको छ । ‘चितवनमा राजमार्ग क्षेत्र ९३ किलोमिटर छ । यसबाहेक अन्य सडक २१ सय ८३ किलोमिटर छ । त्यसैले दुर्घटना राजमार्ग क्षेत्रभन्दा बाहिरै धेरै हुने गर्छन्,’ ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, ‘तर चासो र चर्चा राजमार्ग क्षेत्रमा हुने दुर्घटनाको धेरै हुने गर्छ ।’


मृत्यु हुनेमा पैदलयात्रु बढी

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेमा गाडीमा रहेका भन्दा सडकमा पैदल हिँड्ने धेरै छन् । माघ महिनामा निधन भएका १३ मध्ये छ जना पैदलयात्रु नै छन् । त्यसपछि मोटरसाइकलमा बस्ने तीन जना छन् । ट्यांकर त्रिशूलीमा खस्दा माघ महिनामा दुई जनाको निधन भएको छ । बस र ट्रयाक्टरमा रहेका एकएक जनाको ज्यान गएको छ । त्यस्तै, घाइते हुनेमा मोटरसाइकलमा बस्ने अत्यधिक छन् । सडक दुर्घटनाका कारण माघ महिनामा २३ जना घाइते भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ जसमध्ये २० जना मोटरसाइकलमा बस्ने छन् । त्यसपछि पैदलयात्रु चार जना र बस तथा जिपकारमा बस्ने एकएक जना घाइते भएका छन् । ‘विवरण हेर्दा पैदलयात्रु र मोटरसाइकलको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ । ठूला दुर्घटना कमै हुन्छन् । भएमा एकैपटक धेरैको ज्यान जान्छ । तर पैदलयात्रु र मोटरसाइकल दुर्घटना भइरहेका हुन्छन् । ध्यान कमैको गएको हुन्छ,’ प्रहरी निरीक्षक पन्तले भने । ठूला दुर्घटना हुँदा चासो दिने मात्रै नभएर साना साना दुर्घटना रोक्न पनि गम्भीर हुनुपर्ने यसबाट देखिन्छ ।


चेतना बढाउँदै प्रहरी

दुर्घटना कम गर्नका लागि प्रहरीले समुदायसँग मिलेर दुई दर्जनका हाराहारीमा कार्यक्रम गरेको प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । ‘हामीले सहकारीदेखि सामाजिक संघसंस्थाहरूसँग मिलेर सचेतना कार्यक्रम २० वटा भन्दा धेरै गरेका छौं,’ पन्तले भने । कलेज र विद्यालयमा पनि ट्राफिक नियमसम्बन्धी कार्यक्रम गरेको उनले बताए । चालक र यातायात समितिलाई पनि नियम पालनका विषयमा सम्झाउने गरिएको छ । ‘माघ महिनाकै कुरा गर्ने हो भने हामीले ४ सय १० जना चालक र चार हजार २ सय ३० जना यात्रुसँग ट्राफिक नियम र दुर्घटनाका विषयमा कुरा गरेका छौं । दुर्घना रोक्ने विषयमा धेरैभन्दा धेरै कार्यक्रम भएका छन्,’ प्रहरी निरीक्षक पन्तले भने । तर दुर्घटना कम नभए पनि मानव मृत्युको संख्या सामान्य भए पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा साउनदेखि माघसम्म १३४ वटा दुर्घटनामा १०४ जनाको ज्यान गएको छ । यो वर्ष साउनदेखि माघसम्म १सय ४१ वटा दुर्घटना हुँदा ७४ जनाको निधन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?