बाजा संरक्षणमा जुट्दै नेवार समुदायका युवा

कान्तिपुर संवाददाता

हेटौंडा — नेवारी समुदायको परम्परागत धिमे बाजाको संरक्षणमा मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने पालुङका युवाहरू जुटेका छन् । 

बाजा संरक्षणमा जुट्दै नेवार समुदायका युवा

बाजाको संरक्षण गर्ने अभियानस्वरूप उनीहरूले धिमे बाजा बजाउन सिकिरहेका छन् । मकवानपुरको थाहा नगरपालिका–२ का युवा अहिले आफ्नो धर्म, संस्कृति जोगाउन बाजा संरक्षण अभियानमा जुटेका हुन् । गाउँकै हातेमालो युवा समितिको आयोजनामा पालुङमा ३ महिने धिमे बाजा तालिम सञ्चालन भइरहेको छ ।


धिमे बाजा सिक्न कम्तीमा पनि ६ महिना लाग्ने भएकाले ३/३ महिनाको दुई चरणमा बाजा बजाउन सिकाउन लागेको आयोजक संस्थाका प्रमोदकुमार श्रेष्ठले बताए । तालिममा पालुङका नेवार समुदायका २५ जना युवायुवती सहभागी छन् । तालिम दिन काठमाडौंको कीर्तिपुरबाट हरेक साताको १ दिन पालैपालोसँग हरिगोपाल श्रेष्ठ, लक्ष्मण महर्जन, विजय महर्जन, राजन महर्जन, धनेश महर्जन र नरेश महर्जन आउने गर्छन् ।


धर्म, संस्कृति, जातीय अस्तित्व र बाजाहरू जोगाउनका लागि तालिमको आयोजना गरिएको हातेमालो युवा समितिका सल्लाहकार तथा स्थानीय मधुकरविक्रम श्रेष्ठले बताए । ‘बाजा नजोगाएसम्म धर्म, संस्कृति र जातीय अस्तित्व जोगिँदैन,’ उनले भने । लोपोन्मुख धिमे बाजाको संरक्षण गर्न महिलाले पनि तालिम लिइरहेका छन् । तालिममा सहभागी महिला प्रमिला श्रेष्ठले आफ्नो संस्कृति जोगाउन समाजमा महिलाको महत्त्वपूर्ण भूमिका हुने भएकाले तालिममा सरिक भएको बताइन् । उक्त तालिममा ७ जना महिला सहभागी छन् ।


बाजा बजाउने सीपको हस्तान्तरण युवा पुस्तामा हुन नसकेको र युवाहरू पनि बाजा बजाउनेतर्फ भन्दा अन्य क्षेत्रमा आकर्षित भएकाले धिमेलगायत विभिन्न स्थानीय बाजा लोप हुने अवस्थामा पुगेका छन् । ‘बाजाले धर्म, संस्कृति र जातीय पहिचानलाई अनन्तकालसम्म जोगाइरहन्छ,’ पालुङका ७४ वर्षीय तबलाबादक प्रेमलाल श्रेष्ठले भने, ‘अहिलेका अधिकांश युवालाई धर्म, संस्कृति र बाजातर्फ चासो नै छैन ।’


थाहा नगरपालिकाको पुरानो बस्तीको रूपमा रहेको पालुङमा करिब ८५ घरधुरी नेवार समुदायको बसोबास रहेको छ । उक्त समुदायका धर्म, संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । अधिकांश गुठीका जग्गा रैकर गरेर मोहीका नाममा नामसारी गरेकाले पनि सांस्कृतिक परम्परालाई निरन्तरता दिन समस्या भएको छ । यस क्षेत्रका अधिकांश गुठीका जग्गा रैकरमा परिणत गरिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?